Posted by: Gautam B. November 16, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
सिरे बूढालाई कुरेर बसिरहेको थियो चौताराँ। एक बजेसम्म बूढा बिम्झेका हैनन्,गोताए पनि देखिएको हैन। मंसिरको बेला भएपनि पारीलो चौतारोमा घाम चरक्क चर्केको थियो। गर्मीले बूढाको नशा उतार्न थालेछ कि के हो बूढा चल्मलाउन थाले। "यी बूढा बिम्झेसी मलाई मार्छन्" भन्ने सोचेर सिरे कुलेलम ठोक्यो। सिरे भागेको देखेर लुते जोडले भुक्न थाल्यो, बूढा बिम्झेको खुशी पनि हुँदो हो लुते विचरालाई। "हन म कसरी यो चौताराँ? बिहान यैँ बिम्झेर गाऊँतिर पस्याथेँ जस्तो लाग्छ। सपना पो हो कि के हो? " बूढा बिम्झेर एक्लै बर्बराए। खोलामा मान्छेको बगाल थियो। क्यार्न तेति धेरै मुन्छे जम्मा भा'होलान् त्याँ? "ल मार्यो। आज त ठूलो एकादशी (हरिबोधिनी एकादशी) पो हो। फूल तार्न ला' होलान् खोलाँ।" बूढा झल्याँस्स भे। "जिम्माल्नीले मार्छे आज मलाई। खोज्न थाली होला, अरु दिन त तिमी बूढालाई धर्म पापको मतलब छैन जे पनि गर्छौ भनेर गाली गर्थी, आज झन क्या अर्नी हो?" बूढा हतारिए घरतिर। घरको ढोकामा ताल्चा देखेर बूढा छक्क परे। "हन हाम्रा घरका मुन्छे कता लागेचन्?" तल्लोघरे सुब्बिनीका तिर फर्केर बूढा कराए। "दिदी त हिजो दिऊँसो पखरा (पोखरा) जानुभो।" "क्यार्न हिनेकी हो त्यो पखरातिर?" बूढा रन्के। "भदो लिन आ'को थ्यो। दिदीकी भाउजुले हिजो लाखबत्ती बाल्ने, आज फूल तार्ने रे। ढोकाको साँचो यि लिनुस्।" सुब्बिनीले साँचो दिइन्। "हिजो बेल्का केटाकेटीलाई हेर्न पठा' थेँ धेरै चोटि। जिम्माल बा घरमा हुनुहुन्न भने।" खुइय सुस्केरा काटेर ढोका खोले। 'उसो भए म घरबाट निस्केको हिजो ब्या'नै रच।' बूढालाई याद भयो। 'यो शिवजीको बूटी (गाँजा) ले पनि गर्नु गर्छ।' बूढी आज घरमा नभा'कोमा बूढा एकमन त खुशीनै थिए। थाहा पाउन्न त्यल्ले अब, जातीनै भो। **********************************************************
Read Full Discussion Thread for this article