Posted by: Gautam B. November 11, 2005
Login in to Rate this Post:
0
?
बिर्खे जिम्माल बूढा हुर्रिँदै आको देखेर सिरे र जमुनी छक्क परे। बूढा आँगनमा टेक्नै नपाई "तँ साईँध्वा, तँ--------! नाम नभा' चीज--------"भनेर लठ्ठी उजाउँदै सिरेलाई हान्न भनेर गए। सिरे जमुनीको आडमा लुक्न गयो, लठ्ठिले जमुनीको टाउको झण्डै फुटेको। धन्न तेतिबेलै बेंसीथाने जेठा कता'ट आइपुगेछ र बूढाको हातबाट लठ्ठी खोसेर फाल्देछ।
"के को कल हो यो? के भो हँ जिम्माल बा? " बेंसीथानेले सोधेछ।
"यो साईँध्वाले मलाई नाम नभा' चीज मिसा'र गाँजा ख्वायो। रातभरि चौतारीमा लड्नुपरो, उठ्न खोजो, मरिगए सक्ने होइन।"
"त्यस्तो नाम नभा' चीज पनि हुन्छ बूढा?" जमुनी भाउजु हाँसिन् खिल्ल। (ख्याल राम्री देखिन्नन् हाँस्दा! त्यसै सिरेले किन उडाउँथ्यो?!)
"त्यो दरबारमा भटट--- हुँदाको कालो पदार्थ क्या?" बूढा अझै रिसले काँप्दै थे।
"यी बूढाले चरेस-सरेस भनेका होलान्। " बल्ल बोले सिरे। "म किन जिम्माल बालाई तेसो गर्थें! तिंमी बूढा चिलाउने घारीतिर गयौ होला पिसाब फेर्न। त्याँको काँचो वायु लाग्यो तिम्लाई। झारफुक नगरी हुन्न। नमेका बूढामामा हेराउन, भूत पिरेत भगाउन र किचकन्नी समाउन सात गाऊँ कहला'का छन्, तहीँ नगई हुन्न।"
यतिञ्जेलसम्म बूढाको रिस मरिसकेको थियो। जमुनी भाउजुले चिटिक्क परेको कपमा चा ल्याएर बाँडिन् सबैलाई। त्यसपछि सिरेले एक चिलिम गाँजा फेरि बनायो।
"बुझ्यौ बूढा, राती हिँड्दा त्यो सानेको पसलतिर बरालिने लुते कुकुरलाई लिएर हिँड्नु। कुकुर साथाँ भे' भूत-सूत, किचकन्नीले छुन त के हेर्न पनि सक्दैनन्" सिरेले जिम्माललाई सल्लाह दियो।
"ठिक भनिस् कान्छा। अब तेसै गर्नुपर्ला।" गाँजाको धून चढेपछि बूढा जल्लाई पनि कान्छा भन्छन्।
"ल बुहारी, आज मलाई पनि भात बसाल।" भूढाले जिम्माल्नी पनि बिर्से।