Posted by: newuser November 4, 2005
Login in to Rate this Post:
0
?
चाबी हराएको रात - भाग दुई
''हेलो दाई म भोली नेपाल जाँदै छु नि!'' महिनौंपछि एक्कासी अनिमेषको फोन आयो।
''ओहो अनिमेष,किन हराएको यतिका दिनसम्म?''
''साह्रै विजी भएँ नि त। फेरी घर जाने तयारी पनि गर्दैथिएँ।''
''अँ घर जान पनि महिनौंदेखि तयारी गर्नुपर्ने तिमीलाई। बरु दाईसंग रिस उठेको थियो भनन।'' मैले निहुँ खोज्ने प्रयाश गरें। ''साँचै मंसिर पारेरै घर जान आटेको?''
''हो त बिर्सनुभयो ? मैले पहिलेनै भनेको थिएँनि यो मंसिरमा गएर डाङडुङ झ्याईं पार्नी हो भनेर''
''ए त्यसो पो ? हो त नि! चाबी हराएको रातपछि गरेको निर्णय होइन त त्यो?''
''हाहाहा दाई पनि'' मेरो घुमाउरो कुराले शायद भुतुक्क हुँदै अनिमेष एकछिन खित्का छोडेर हाँस्यो।
''सबै ठिक्क भैसक्यो क्याहो घरमा?''
''लगभग। खाली कोसंग भन्ने कुरा मात्रै बाँकि छ। त्यो पनि नेपाल जाने वित्तिकै टुंगो लाग्छ। घरमा प्रस्ताव आएका दुईचार जना हुने खालका छन् रे, मैले गएर जो मन पर्छ उसैलाई रोज्ने रे।''
''अनि कोही पनि मन परेन भने के गर्छौ। तिमलाई उसले मन पराइन भनेनी ?''
''हुया दाई पनि। एउटा न एउटा त मन परिहाल्छ नि। दुनियाको मिल्छ भने मेरो किन नमिल्ला र हौ?''
''ल ल बधाई छ लगनगाँठो वाँध्न लागेकोमा।''
''साँच्ची मेरो विहेमा दाई नआउने?''
उसको विहेमा जाने इच्छा नहुँदोहो मलाई? सानै देखि मिल्ने साथी, उमेर पनि एकैएकै अनि त्यसमाथी आफ्नो मामाको एक्लो छोरो। अझ आफ्नो पनि बेलाबेलाँ बाजा बजाउने रहरले मन भरिएर आउँछ। तर के गर्नु? टेबल अगाडि असरल्ल छरिएका किताप कापी र फाइलहरु,एक तिहाइ पनि लेखेर नसिद्दिएको सोधपत्र, ओभरड्राफ्ट लिएर माइनस भएको ब्याङ्क स्टेटमेन्ट, जता हे-यो त्यतै हरिविजोग देखेपछि सारा जोश र उमंगहरु पसिना बनेर चिटचिट बगिदिन्छन।
''खै के भनौं तिमीलाई। आफ्नो त यहाँ विजोग छ हेर बाह्र सत्ताइस टन्टाले। हरिकेन केट्रिनाले बगाइदेको भा बरु आनन्दै हुन्थ्यो यार।'' अनिमेषलाई आफ्नो विवशता खुलश्त पारिदिएँ मैले।
''ल त दाई मैले त एकपल्ट गर्नैपर्ने काम हो आँटेपछि जे होगा मकैको घोगा। अब हजुरलाई सँधै एक्लै बस्न रमाइलो लाग्छ भने ठिकै छ।केटी पक्का भएपछि, विहे छिनेपछि नेपालबाट फोन गर्छु है।'' अनिमेषले एकै शासमा कुरा सिध्याएर झ्याप्प फोन राखिदियो। मैले ट्वाल्ल परेर भित्तामा टाँसिराखेको जेनिफर लोपेजको तश्विर हेरिरहें।
क्रमश: