Posted by: Nepe November 1, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
शिरीषका अनवरत रचना र तिनका उत्कृष्टता समेत देख्दा गजल रचनामा शिरीष अहिले उनको उर्वरतम काल (prime time) मा पुगेको/पुग्न लागेको अनुभव हुन्छ मलाई । शिल्पका हिसाबले उनले लामो छलाङ मारेर उनका दुई कमजोरीहरुमाथि विजय हासिल गरेका छन् । ती दुई कमजोरीहरु थिए, १) केहि उबड-खाबड (awkward) भाषा, २) लामा बहर । भाषाको स्निग्ध (smooth) बहाव र शब्दका किफायतमा शिरीष अब सजग देखिन्छन् । *** *** *** *** गजलमाथिको प्रविणता नाप्ने एउटा कसी (मेरो विचारमा है) के हो भने गजलकार 'काफिया' को प्रेमान्धता (obsession) बाट कति मुक्त छ । सिकारुहरु 'काफिया' प्रति यति प्रेमान्ध हुन्छन् कि, उनीहरु 'शेर' लाई 'काफिया' को समस्यापूर्ति (word game) को रुपमा लेख्छन् । आवश्यकता हेरी न्यूनतर अनुप्रास (low degree rhyme) राखेरै भए पनि 'काफिया' भन्दा भावलाई नै समृद्ध बनाउनु गजल प्रविणताको लक्षण हो । *** *** *** *** शेरमा चमत्कारी प्रभाव उत्पन्न गराउने एउटा रहस्य के हो भने शेरको पहिलो 'मिसरा' (पंक्ति) र दोश्रो मिसरा बिच श्रम विभाजन (division of labor) । जस्तै, पहिलो मिसरा प्रश्न होस्, दोश्रो मिसरा उत्तर । पहिलो मिसरा दाबी होस्, दोश्रो होस् प्रमाण । पहिलोमा [ढाँट] बयान होस्, दोश्रोमा पोल खोलियोस् । पहिलोमा लोकविश्वास होस्, दोश्रोले छिद्र देखाओस् । पहिलोले सुम्सुम्याओस् , दोश्रोले झापट देओस् । आदि ईत्यादि । *** *** *** *** गौतमजी, शिरीषले ठीक जानकारी दिए । गजलमा 'रदिफ' अनिवार्य नभएर ऐच्छिक कुरा हो । मेरो नाम Nepe मा किटिक्क गर्नु भयो भने एउटा रदिफविहिन (गैरमुरद्दफ) गजल देख्नुहुनेछ । जहासम्म तपाईको गजलको कुरा छ, भाषिक बहाव, शाब्दिक किफायत, मिसराको श्रम विभाजन र भावको समृद्धिकरण सबै उच्च स्तरका छन् । शाब्दिक किफायतीमा त 'हाईकु' को अभ्यासबाट उच्च कुशलता हासिल जो गर्नु भएको छ । अनि, छर्कनु र घस्नु मध्ये घस्नुले भाव सघन बनाउला जस्तो लाग्छ । घस्नुमा आतुरता (desperation) झल्किन्छ, जो बढि स्वाभाविक छ, जस्को बारे कुरा हुँदैछ । *** *** *** *** भउते, तपाईप्रतिको वैचारिक-दार्शनिक आत्मियताको आधिक्यले पनि हुनसक्छ, 'पिउनु' बिम्ब प्रयोग भएका हजारौं सस्ता शायरीहरु देखेर पनि हुन सक्छ, तपाई गजल बेजोड लाग्यो । खास गरेर मतला र अन्तिम दुई शेर त दामी छन् । पिउनु बिम्ब को एउटा अनुपम र समृद्ध काव्य हो हरिवंश राय बच्चन को 'मधुशाला' । नपढि नहुने कृति हो त्यो । __
Read Full Discussion Thread for this article