Posted by: Ok August 21, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
चाबहिल टेलिकमको अड्डा समीपमा मालपोत अड्डा छ । लोकले चिनेजानेको मालामालमुखी उही मालपोल अड्डा । कार्यालयको भित्तोमा एउटा सूचना टाँसियो, "यहाँ पि्र-पेड मोबाइलको सिफारिस गरिँदैन ।" नकारमुखी त्यस सूचनाको रहस्य पछि बुझियो । त्यो त उल्टोतिरबाट अर्थ लगाउनुपर्ने उही शाही शासनको भाषा पो रहेछ बा ! अर्थ रहेछ, "यहाँ रकम ज्युनार नगरीकन पि्र-पेड मोबाइलको सिफारिस गरिँदैन ।" ठगी सिरियलको कालो पर्दा यसरी उठ्यो । र, नागरिकको रकम भक्षण गर्ने कार्य सुरु भयो । राम्रो दक्षिणा लिएर सिफारिसमा सहीछाप दान गर्नेहरूमा मालका मयलपोसे हाकिम र प्रहरी अड्डाका फुलीधारी सरहरू धेरै देखिए । निजहरूका चतुर इसारामा नाका-नाकामा दलालहरू उभिए । पहिलो दलालले ५० रुपियाँ खल्तीकरण गर्?यो, दोस्रोले एक सय रुपियाँ बजायो । अनि, कृपाकारी सहीदाता हाकिमले मौका हेरी चौका हानेर पाँच सय वा एक हजार रुपियाँ वा त्यसभन्दा माथि झ्वाम पारे । उता सुनसरीमा राजा त्यसरी जनसेवाको मन्त्रदान गर्दै थिए, यता शाही शासनमा यसरी ठगी सिरियलको मञ्चन हुँदैथियो । लाग्छ, शाही प्रजातन्त्रको असली चिनारी यही हो । मुखमा रामराम, बगलीमा झ्वाम ! मोबाइल लिने नागरिकहरूले तीनपुस्ते खोलेर फारम पहिले भरेकै थिए । उसो त लाग्ने दस्तुर पनि बुझाएका थिए । अनि, अहिले किन चाहियो उपरवाले महामहिमको यो सहीछाप ? मेरो विचारमा यसको अर्थ गहिरो छ । अर्थ बुझ्न शाही शासनको भित्री मनसुवा बुझ्नुपर्छ । लाग्छ, शासक भनेको बिरालो हो, नागरिक उसका पन्जामा परेको मुसो । बिरालाले मुसालाई जसरी खेलाए पनि, जसरी अत्याए पनि, जसरी सताए पनि भएकै छ । सिफारिसको यो जनपिराहा नाटक शासनतन्त्रद्वारा नागरिकलाई डसेर र चुसेर स्वत्वहीन पुत्ला र पुतली बनाउने दाउ हो । यो तानाशाहीको सनातन स्वभाव हो । सिफारिसका नाउँमा जब नागरिकहरू दरबारका नाकैमुन्तिर मध्यदिनको उज्यालोमा ठगिँदै थिए, त्यसबेला राजाको 'जनसेवी' सत्ताका बफादार औजारहरू कहाँ थिए हुनन् ? ती कहाँ थिए, जाग्रत नागरिकलाई लख काट्न सजिलो छ । सके भ्रष्ट शिरोमणि श्री तुलसी गिरी राज्यको एक रास रकम थुतेर सीताराम प्रसाईंको भोजनगृह सिँगार्दै थिए । क्यासिनोका श्रेष्ठ खेलाडी श्री कीर्तिबाबु गृह-सम्भारका नाउँमा राज्यको रकम कुम्ल्याएर सके खेल मैदानमा डटेका थिए । अनि, अन्यान्य औजारहरू ? भो, अन्य शाही 'जनसेवकहरू' का कुरा नगरुँ । बिष्टालाई चलायो, दुर्गन्धको दुःख । सिफारिसमा सही गरिदिने राजभक्तहरूलाई ज-जसले नजराना टक््रयाए, तिनले त जे भए पनि मोबाइल पाउलान् नै । तर, चानचुन २५-३० हजार नागरिकले त नजराना टक््रयाउन पनि पाएनन् । कति बाटो नदेखेर चुके हुनन् । कति टक््रयाउने थैलाको दुःखले पछि परे हुनन् । कतिले भ्रष्ट हाकिमका चरणमा अनाहकमा दाम चढाउन इन्कार गर्दै मोबाइल नै परित्याग गरे हुनन् । क्रमशः
Read Full Discussion Thread for this article