Posted by: Gautam B. August 21, 2005
GIRJE MURDABAD!
Login in to Rate this Post:     0       ?        
'देश, सुशासन र प्रजातन्त्र' प्रधानमन्त्री कोइरालाको अति पि्रय थेगो थियो तर पाँचपटकसम्म प्रधानमन्त्री हुँदा पनि यी तीन कुरामा उहाँ कहिल्यै इमानदार रहनुभएन । बरु उहाँले सधैँ दरबारलाई संविधान मिच्न उक्साउनुभयो । अहिले अरूलाई 'रोयलिस्ट' भन्ने कोइराला आफैँले वामपन्थीहरूसँग संवादसम्म अस्वीकार गरेर, मल्लिक आयोगको प्रतिवेदन कार्यान्वयन नगरेर, राजदूतहरू र राष्ट्रियसभा सदस्यको मनोनयनमा राजाको दबाबलाई सहजै स्वीकारेर दरबारको महत्त्वाकाङ्क्षा क्रमशः बढाउँदै जानुभयो । जनता बलियो हुँदासम्म सेनालाई संसद् मातहत ल्याउन उहाँले कहिल्यै प्रयास गर्नुभएन, बरु त्यसलाई नारायणहिटीको पेवा मानेर दरबारको हात बलियो पार्नुभयो । संसद्को बीसौँ अधिवेशनमा राजा सम्बोधनका लागि प्रतिनिधिसभा गएका दिन त्यतिखेरका प्रधानमन्त्री एवम् रक्षामन्त्री कोइरालालाई सुरक्षाकर्मीले पाकेटमारलाई जस्तै खल्ती जाँच गरे तर कोइराला बोल्नुभएन । नारायणहिटी हत्याकाण्डपछि उहाँलाई सूचनासम्म दिइएन र एउटा कुनामा घण्टौँ राखेर अपमान गरियो तर उहाँले कुनै प्रतिक्रिया जनाउनुभएन । भविष्य देख्न दूरदृष्टि चाहिन्छ र त्यसको साधनामा वर्तमानलाई बदल्न निकै ठूलो दृढता र योग्यता । कोइरालासँग यी तीनै कुरा थिएनन्, छैनन् । प्रजातन्त्रका लागि आवश्यक लचकता, सहिष्णुता र उदारताबाट उहाँ कोसौँ टाढा हुनुहुन्थ्यो, हुनुहुन्छ । कोइरालासँग न सडक थियो, न सङ्कल्प । न इमान थियो, न प्रतिबद्धता । टनकपुर प्रकरणमा उहाँले राष्ट्रघात गर्नुभयो र मुलुकलाई ढाँट्नुभयो । सङ्गठनभित्र फरक मतलाई व्यवस्थित गर्नुको साटो एक्लै शासन गर्न संसद् विघटन गर्नुभयो । आफ्नै दुई सांसद लुकाएर आफ्नै पार्टीका शेरबहादुर देउवाको सरकार ढलाएपछि आफ्नै सांसद किनबेच गर्ने विशिष्ट संस्कृति सुरु भयो । कोइरालाले कहिले भन्नुहुन्छ, ०५६ को चुनावी सरकारमा कमजोर मालेलाई छाडेर मुख्य प्रतिस्पर्धी एमालेलाई सत्तामा सामेल गर्नुपर्ने उहाँको बाध्यता के थियो ? त्यस सरकारमा दरबारबाट मनोनीत सांसद रमेशनाथ पाण्डेलाई उहाँले किन मन्त्री बनाउनुभयो ? कोइरालाकै कम्युनिस्ट द्वेष र फासिस्ट शासनले माओवादी हिंसालाई उक्सायो र देशव्यापी बनायो । एमाले र अरू पार्टीले उहाँबाटै 'शासन' गर्न सिके र उहाँसँगै बदनाम भए । उहाँले पार्टीका भ्रातृसङ्गठनलाई कहिल्यै आत्मनिर्भर हुन दिनुभएन । काङ्ग्रेसको खातामा कहिल्यै एक रुपियाँ जम्मा भएन । आय र व्ययको विवरण कहिल्यै राखिएन । कोइरालाले ठीक त्यसरी नै पार्टी र देश चलाउनुभयो, जसरी पहिले चन्द्रशमशेर, जुद्धशमशेर र मोहनशमशेरहरूले चलाउँथे । अब वंशवृक्ष व्यवस्थित गरेर क्षमता र संस्कारहीन तर महत्त्वाकाङ्क्षी पुत्री सुजाता र परिवारका अरू सदस्यलाई उत्तराधिकार सुम्पेर उहाँ काङ्ग्रेसमा कोइराला शासन व्यवस्थित गर्न चाहनुहुन्छ । अहिले उहाँले काङ्ग्रेस एकीकरणलाई ठाडै निषेध गर्नुको एउटै कारण उत्तराधिकार सुरक्षित गर्नु हो ।
Read Full Discussion Thread for this article