Posted by: Nepe August 9, 2005
Baburam's Latest Article
Login in to Rate this Post:     0       ?        
यो नागरिक आन्दोलनको दोस्रो महत्वपूर्ण पक्ष भनेको यसले स्थापित राजनैतिक पार्टीका अन्तरनिहित कमीकमजोरीहरुको समेत खुल्ला शल्यकृया गरेर तिनको गुणात्मक रुपान्तरण निम्ति दिएको खुला जनदवाव हो । निश्चित् रुपमा यो नागरिक कृयाशीलतालाई हेर्ने छुट्टाछुट्टै दृष्टिकोण हुनसक्छन् । एउटा, यो स्वस्फूर्त नागरिक आन्दोलनले नै आमूल राजनैतिक परिवर्तन ल्याउनसक्छ वा यो नै राजनैतिक पार्टीको विकल्प वन्न सक्दछ भन्ने अराजकतावादी दृष्टिकोण र अर्को, औपचारिक राजनीतिक पार्टीले मात्रै निरपेक्ष रुपले सधै आमूल परिवर्तनको नेतृत्व गर्न सक्दछन् र तिनको चरित्र र भूमिकाको बारेमा गोप्य वा खुला आलोचना र टिप्पणी गर्ने छुट कसैलाई हुनसक्दैन भन्ने नोकरशाही रुढीवादी दृष्टिकोण । यी दुवै फरक कोणहरुबाट आउने गलत र हानिहारक दृष्टिकोण हुन् । वैज्ञानिक र सही दृष्टिकोण भनेको वर्ग-विभाजित समाज र मानव चेतनामा रहने असमान र विषम विकास प्रकृयाको कारणले सबभन्दा अग्रगामी चेतना भएकाहरुले आफूलाई राजनैतिक पार्टीको रुपमा संगठित गरेर आन्दोलन र समाजलाई नेतृत्व प्रदान गर्नु पर्दछ र त्यस्ता राजनैतिक पार्टीको चरित्र र संचालन प्रकृया जनमुखी, लोकतान्त्रिक र क्रान्तिकारी बनाइराख्न तिनीहरुमाथि जनसमुदायको निगरानी, हस्तक्षेप र नियन्त्रण सुनिश्चित गरिनु पर्दछ भन्ने हो । त्यस हिसावले वर्तमान नागरिक आन्दोलनले आफूलाई राजनैतिक पार्टीको विकल्पको रुपमा प्रस्तुत गर्ने धृष्टता नगरी तिनीहरुको सहयोगी, पूरक र सिर्जनात्मक आलोचकको रुपमा प्रस्तुत गर्ने जुन प्रयत्न गरेको छ त्यो विल्कुल सही र प्रशंशनीय छ । त्यस निम्ति यो आन्दोलनको अगुवाइ गर्नेहरु साधुवादका पात्र छन् । खासगरी यो आन्दोलनको क्रममा आरुनै पार्टी आव्हान गरेको कार्यक्रममा सहभागी हुन आनाकानी गर्ने पार्टीकै धेरै कार्यकर्ताहरु र केही नेताहरु समेतको जुन उत्साहजनक सहभागिता देखिएको छ त्यसले सम्वन्धित पार्टी नेताहरुलाई बेलैमा सच्चिन सचेत र र्सतक बनाउनेछ भन्ने अपेक्षा गर्न सकिन्छ । हाम्रो समाजको अस्थिर र अस्पष्ट वर्गीय बनोट, सामन्तवादी संस्कार र संस्कृति आदिको कारणले पार्टीको राजनैतिक कार्यदिशा र भित्री पार्टीलोकतन्त्रको अभ्यासमा अक्सर जुन समस्याहरु देखिने गरेका छन् त्यसले अधिकांश पार्टीभित्र असन्तुष्टि, विग्रह र विद्रोहलाई जन्म दिइरहेका छन् । त्यसैले यो नागरिक आन्दोलनले राज्य र समाजको लोकतान्त्रीकरण मात्र होइन त्यसको नेतृत्व गर्ने राजनैतिक पार्टीको लोकतान्त्रिकरणको निम्ति पनि ठूलो भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ । त्यसो हुन सक्यो भने नागरिकहरुको सक्रिय भूमिकालाई राज्य र पार्टी संचालनमा निरन्तर रुपमा सुनिश्चित गर्ने नयाँ विधिको विकास गर्ने र समग्र वैज्ञानिक विचारलाई नै नयाँ उँचाइमा विकास गर्ने मार्ग अरु प्रशस्त हुनेछ । एक्काईसौं शताव्दीमा जनवादको विकास नयाँ र उच्च ढंगले गर्ने अभियानमा संलग्न क्रान्तिकारीहरुलाई पनि यसले महत्वपूर्ण सहयोग पु-याउने स्वतः स्पष्ट छ । २०६२ साउन २५ Source: Turbulence
Read Full Discussion Thread for this article