Posted by: Sursab August 7, 2005
Durga Bishankhe, Kaushila Pokharel, Kala Tiwari & Shusri Duwal
Login in to Rate this Post:     0       ?        
आफू त नपढेर दुःख पाइयो, छोरीलाई त पढाउँछु भन्ने अठोटका साथ दाजुसँगै बसेर पढ्नका लागिका काठमाडौं पठाएकी मेरी छोरी रेवकला तिवारी बागबजारस्थित पद्मकन्या क्याम्पसमा अध्ययनरत अवस्थामा नै ०६० कात्तिक १३ गते आफ्नो श्रीमान् भवनाथ धमलासँगै शान्ति गोरेटो, चावहिल, काठमाडौंबाट बेपत्ता पारिएको हो । महाराजगन्ज व्यारेकमा काम गर्ने बताउने एकजना मान्छेले घरमा फोन गरी भेट्ने समय र ठाउँ मिलाएर 'तपाईँकी बहिनी कला रोएको देखी दया लागेर खबर दिन आएको, नआत्तिनुहोस्, बरू कोठाको सामान सार्नुहोस् रे, तर यो कुरा कसैलाई नभन्नुहोला, आवश्यक परे म आफैं सम्पर्क गर्छु' भनी छोरालाई भनेको सुनेपछि अनौपचारिक नै भए पनि केही खबर मिलेजस्तो लाग्यो । तैपनि जीवनरक्षाको माग गर्दै बेपत्ता पारिएलगत्तै विभिन्न मानवअधिकार संघ-संस्था तथा सञ्चारमाध्यममा अपिल चढायौं । मिनट, घण्टा, दिन हुँदै महिना अनि वर्ष बिते, तर छोरीको खबर आएन । राष्ट्रिय मानवअधिकार आयोगमा बुझ्दा 'पुलिसले समाएको छैन भन्यो, सेना प्रतिक्रिया आजसम्म आएको छैन' भन्नेबाहेक बढी थाहा भएन । आइसीआरसीले भेटेको पो छ कि भनी मेरा श्रीमान्ले अनेकौंपटक सम्पर्क गर्नुभयो, तर त्यहाँको हालत पनि उस्तै रहेछ, 'दुई-चारजना भेटेका छौं, तर तपाईंकी छोरी भेटिएको छैन, नआत्तिनुहोस्' भन्नेबाहेक अर्को भएन । शाहीसेनाको मानवअधिकार शाखाको जवाफ नै पाइएन । एम्नेस्टीले बरू छोरी बेपत्ता पारिएको समाचार संसारभरि पुर्?याएछ । विदेशबाट समेत नआत्तिनुहोस् भन्ने पत्र पाएँ । स्वदेशकै विभिन्न मानवअधिकार संघ-संस्थाले पनि हाम्राे पहल जारी छ भने । हामी कहिले अनशन बस्ने त कहिले ज्ञापनपत्र बुझाउने काममा लागिरह्यौं । एकदिन त छोरी भेटिएली नि भन्ने आशमा तर आज छोरी सैनिक हिरासतमै सामूहिक रूपमा मारिएको हृदयविदारक खबर आएका छौं । मेरी छोरीले राज्यविरूद्ध काम गरेकाले सजाय दिइएको हो भने कस्तो विधिको दिइयो, होइन जीवित छ भने कहाँ कुन आवस्थामा छ ? यसको खबर पाउनु मेरो नैसर्गिक अधिकार हो । मेरी छोरीको अवस्थाको यो अन्योलतालाई स्पष्ट पार्नका लागि सहयोग गरिदिनुहुन म सम्पूर्ण नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संघ-संस्था, सञ्चारमाध्यम, राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार शाखा, शाही नेपाली सेना, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोग- नेपाल शाखा लगायत श्री ५ को सरकार र फेरि पनि श्री ५ महाराजमा समेत यो अपिल गर्छु । मेरी छोरी मारिएको खबरको सत्य-तथ्य पत्ता लगाइयोस् । - वसन्धुरा तिवारी सिर्रोकोट- ७, डुम्रेभञ्ज्याङ, स्याङ्जा
Read Full Discussion Thread for this article