Posted by: Dada_Giri August 3, 2005
Login in to Rate this Post:
0
?
लिखेको जन्ति बाख्रो
माघको जाडोले मेरा खुट्टा लुग लुग काँप्दै थिए। विहान उठेर १ सर्को बिँडी तानेर, अब यसो मुख सुख धुनु पर्यो भन्ने हेतुले म बाहिर निस्किँदा च्याँके पनि टुपुल्कियो।
"टारिघरे कान्छा दाइको बिहे आँटियो। हजुरहरुलाई नि निम्तो छ है।" च्याँकेले हाम्रो घरमा बिहेको निम्तो टक्र्यायो।
म भने आजसम्म कसैको जन्ति जाने सुअबसर पाएकै थिइन। घरमा निम्ता आयो भने कि बुवा, कि प्रतिनीधीको रुपमा दाइहरु नै गइहाल्ने, मलाई नै भनेर तोकेर निम्तो गर्ने कोहि पनि नआउनी नि फेरि।
तर यसपाली भने दाइहरु पनि घरमा नभाऽ, एस. एल. सि. दिएर बस्या हुनाले बुवाले प्रतिनीधीको रुपमा एक मात्र उम्मेदवार मलाई चयन गरिदिनु भो। "पहिलो चोटि जन्ति जान पाइने भो", भनेर र म त मख्ख नि अब।
*** *** ***
दिउसो टारिघरे दाइ भेट भे। अलैँचिबारिमा गाई चराउन जाँदाखेरि।
"हुन त घरमा पनि निम्ता गाऽ होला, तिमेरुलाई नि छुट्टै निम्तो छ है केटा हो मेरो बे मा।"
टारिघरे दाइले गाई चराउने र तास खेल्ने दौँतरीका नाताले आत्माराम र मलाई छुट्टै निम्तो पनि टकार्यो। हामी त खुशिले गदगद भइयो। आज त टारिघरे दाइका गाई पनि हाम्ले नै हेर्दिएम् भने नि हुन्छ। यताउती गए पनि हाम्ले नै फर्काइदिन्थेम्, अघिपछि भे "तैँ जा न, हामी तेरा गोठाला हुँ र ।" भन्ने मान्छे, आज भने अँ हँ त्यस्तो केहि भनिएन।
अब आत्माराम र मेरो बिचमा भने "तँ जा र म जा।" भने हुन्थ्यो है स्वभाविक रुपले नै।
*** *** ***
टारिघरे दाइ पनि दाह्रि/सारि काटेर, नयाँ कोट/सोट लगाऽर मजाऽले दुला पल्टेर निस्के। म र आत्माराम, च्याँके पनि दुलाको भाइ नै, भनम् न एक प्रकारले, जस्तो गरी निस्कियो। बाजा साजा नि लग्या हुन्।
कार्किनेटामा पुगेसी बाजाको कर्नाल दुर्लुगंको डाँडातिर फर्काएर "थुँ केरे थुँ थुँ" पारे। पारि पट्टि दुर्लुगं डाँडा पर्छ नजिकै हो, तर जाँदाखेरि भने तल ज्ञादि पुगेर मादि खोलासम्म झरेर, मादि खोला तरेर, फेरि कुष्माको उकालो चढेर जाँदा झण्डै ७, ८ घण्टा लाग्ने नि फेरि।
तर बाजा बज्या चाँही दुलहीको घरमै सुनिया थ्यो रे। पछि थाहा लाग्यो नि हाम्लाई लिखेले भनेसी।
"को लिखे नि?" भनेर नसोधम् है फेरि च्याँके रिसाउँछ के। हत्तपत्त त्यसको अगाडि लिखेको कुरा गर्न नि हुन्न।