Posted by: shirish July 31, 2005
The Condition of the Bir Hospital
Login in to Rate this Post:     0       ?        
उपचारभन्दा ज्यानकै खतरा जनक नेपाल/नेपालगन्ज नेपालगन्जका शिक्षण अस्पतालहरूमा लापरबाहीका घटना हुँदैआएका छन् । वैशाख २८ गते दिउँसो ३ बजेतिर सामान्य अवस्थामै स्वास्थ्य परीक्षणका लागि बीपी चोकस्थित शिक्षण अस्पताल पुगे, इन्जिनियर रामविलास गुप्ता । तर, उनी र्फकन पाएनन् । उच्च रक्तचाप र मुटुको रोग त थियो तर ज्यानै जाने स्थितिमा थिएनन् । नियमित जाँचका लागि गएका गुप्ताले सधैँ डा कौशल किशोरसँग उपचार गराउँथे । त्यस दिन उनी भेटिएनन् । गुप्ता डा कौशललाई पर्खिन चाहन्थे तर इमरजेन्सी वार्डमा रहेकी डा रीतु चौधरीले तीन इन्जेक्सन मगाइन् र करैले लगाइदिइन् । त्यसको अढाई मिनेटभित्रै उनको मृत्यु भयो । "डोज मिलेन कि के भयो कुन्नि, इन्जेक्सन लगाएपछि फिँज काढ्नुभयो । गलत औषधि पर्?यो भन्दै बित्नुभयो," गुप्ताका कान्छा छोरा अभयकुमार, ३५, भन्छन्, "सिकारु डाक्टरले गर्दा बुबाको ज्यान गयो ।" उनका अनुसार गुप्ता २८ वर्षदेखि मुटु तथा उच्च रक्तचापका बिरामी थिए । तर, नियमित व्यायाम र आहारविहारले रोग नियन्त्रणमा थियो । "ठीकठाक मान्छेलाई अस्पतालले मार्?यो," बुहारी रीताले भनिन् । डाक्टरको लापरबाहीले गुप्ताको मृत्यु भएपछि आक्रोशित छिमेकीले दोषी चिकित्सकमाथि कारबाहीको माग गर्दै अस्पतालमा तोडफोडको प्रयास गरे । तर, हुलदङ्गा गर्न खोजेको भन्दै सार्वजनिक मुद्दा चलाउन प्रहरीमा उजुरी गरेको पीडितले बताए । त्यही रिसइबीमा अस्पतालले जेठ १७ गते पुगेका आफन्तलाई 'डेथ सर्टिफिकेट' दिनसमेत इन्कार गरेको छ । मृतकका परिवारले लापरबाहीले ज्यान गएको आरोप लगाउँदै १५ लाख रुपियाँ क्षतिपूर्ति र चिकित्सकमाथि हदैसम्मको कारबाहीका लागि प्रशासनमा उजुरी गरेका छन् । डा कौशलले 'सबैलाई बचाउने ठेक्का लिएका छौँ र ?' भन्नेजस्ता गैरजिम्मेवार व्यवहार गरेको सम्झँदै अभयकुमार थप्छन्, "डाक्टरको लापरबाही र गैरजिम्मेवारीले हद नाघेको छ ।" आठ वर्षदेखि सञ्चालित नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा यस्ता लापरबाहीका घटना बारम्बार हुने गरेका छन् । नेपालगन्ज मेडिकल कलेजका डा सन्तोषकुमार शर्मा गल्ती नदोहोर्?याउन अस्पताल व्यवस्थापनद्वारा कडाइ गरिएको बताउँछन् । तर, लापरबाही भने घटेको छैन । कलेजद्वारा जुम्लामा वैशाख ७ गते सञ्चालित स्वास्थ्य शिविरमा उपचार गर्न आएका यज्ञराज न्यौपाने, ५०, को पित्तथैलीमा पत्थरी छ भनेर निःशुल्क शल्यक्रिया गर्न नेपालगन्ज बोलायो । महँगो हेलिकप्टर भाडा तिरेर उनी वैशाख १३ गते नै कोहलपुरस्थित शिक्षण अस्पताल आए । महँगो शुल्क तिरेपछि जेठ २७ गते डा एसएम मिश्रले शल्यक्रिया गरे तर पत्थरी भेटिएन । किनभने उनको पित्तथैलीमा पत्थरी नै थिएन । आक्रोशित न्यौपानेले विद्यार्थीलाई सिकाउने प्रयोजनका लागि अपरेसन गरेको आरोप लगाएका छन् । आफ्नो शरीरको अङ्ग निकालियो कि भन्ने शङ्का छ उनलाई । त्यस्तै नियति भोग्दैछन्, हुम्लास्थित खार्पुनाथ- ३ का जितबहादुर शाही । दुईपटक शल्यक्रिया गर्दासमेत डाक्टरले मृगौलाको पत्थरी निकाल्न नसकेपछि ज्यानको क्षति र धनको खर्चले चिन्तामा छन् उनी । अस्पतालले यस्ता घटना लुकाउने गरेको छ ।
Read Full Discussion Thread for this article