Posted by: son of Nepal July 24, 2005
BISE NAGARCHI (ONCE MORE)
Login in to Rate this Post:     0       ?        
भानुभक्त, गोरखा र बिसे नगर्ची असार २९ गतेको कुरा । म गोरखा हिँडेँ । सन्दर्भ थियो भानु जयन्ती । निम्ता गरिपठाउने आयोजक गोरखाली साहित्य सङ्गम । मनमा सदाझैँ उन्मुक्तिको उमङ्गमय भावना जागेर आयो । सम्झेँ, म काठमाडौँको साँघुरो कैदबाट थानकोटबाहिरको विशाल फाँटमा निस्कँदैछु । तर, सँगसँगै मनमा अत्यासको निसास टनाटन भरिएको थियो । बाटामा ठाउँठाउँमा कालले थापेका धरापहरू यथावत् होलान् । पैह्रो जाने पहाडमुन्तिर एउटा धराप । दोहोरो गोलाबारीबीचको जोखिमपूर्ण चेपमा अर्को धराप । सडकमुनि छद्मभेषमा अर्को बिजुली धराप । सामाजिक मानचित्रभरि नै धरापको व्याप्ति छ । हामी पलपल पाइला-पाइलामा क्रूर कालले पछ्याइरहने समयमा बाँच्न श्रापित छौँ । कालका स्रष्टाहरूको भोक मेटिने कहिले हो केही थाहा छैन । सहयात्रीको हाम्रो टोली सप्तरङ्गी इन्द्रेणीजस्तो थियो, विविध र रोचक बान्कीको । साथमा मेरा पुराना आन्दोलनकारी मास्टर मित्र मोहननारायण श्रेष्ठ थिए । वाहनमा सबभन्दा अगाडि जोई दीक्षा पोखरेल, सबभन्दा पछाडि पोइ सलील देवकोटा । बीचमा अखण्डै रसिक प्रकाश सायमी, आगामी सुन्दरी मेलाकी संयोजक सिर्जना जोशी र म । सत्कारको मुद्रामा हामीलाई गोरखातिर डोर्?याउने साहित्य सङ्गमका सचिव सुरेश देवकोटा पनि पछाडि नै थिए । वाहन हाम्रा सांसदहरूलाई खूबै मनपर्ने जातको थियो, भरपर्दो र आरामदायी । त्यो इन्जिनियर सलीलजीको सहृदयताको फल थियो । सर्पको चालमा डोलायमान हुँदै वाहन गड्दो छ, म मनमा अनेक कुरा खेलाउँदो छु । गोरखा मूलतः कसको पुख्र्यौली थलो हो ? एकल पात्र पृथ्वीनारायण शाहको कि अगणित धरतीपुत्र बिसे नगर्चीहरूको ? इतिहासभरि विशालकाय यी राजा छाइरहे, लघुकाय नगर्चीको नाम इतिहासको पादटिप्पणी मात्र भइरह्यो । थाहा छ, पादटिप्पणी जोकोहीले पढ्दैन । र नै यतिका दिनसम्म नगर्चीको नाम पढिएन । तर, चेतनाका पङ्ख फिँजाउँदै समय गाढा तन्द्राबाट ब्यूँझिन खोजिरहेको म देख्छु । र, त अहिले बिसे नगर्चीको चर्चा छ । श्रवण मुकारुङको कवितामा नगर्ची गर्जिरहेछन्, 'मालिक ! दुई सय वर्षपछि म बौलाएँ ।' यही गर्जन मैले वैरागी काइँलाको कविता 'मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित' मा सुनेको थिएँ । वैरागीको कवितामा मातेको मान्छेको भाकामा दमित र निषिद्ध सत्य बोलिएथ्यो, यी आलिशान महलहरू, फगत शासन गर्ने खलकका, यस्तैयस्तै । लाग्छ, श्रवणका नगर्ची काइँलाको मातेको मान्छेकै अर्को संस्करण हुन् । मातेको मान्छे काइँला आफैँ हुन् र नगर्ची श्रवण आफैँ हुन् । कविताको कलेवरमा यो अपहेलित र वञ्चितहरूको विद्रोहको सिर्जनशील आवाज हो । यो आवाज भयानक छ । वाहन गुडिरहेछ । मनमा उनै बिसे नगर्ची नाचिरहेछन् । वाहन हठात् रोकियो । देखेँ, अगाडि बाटामा फौजी चेक छ । आङमा त्यसैत्यसै काँडा उमि्रए । चेकले बन्दुकको छायाँमुनि मानिसलाई पशुत्वमा गिराउँछ । बसबाट ओराल्छ । डोरीको बीचमा लुखुर-लुखुर हिँडाउँछ । टुकुचाको डिलमा खसी किन्नेले खसीका चाउरी परेका जाइफल छामेझैँ गरी यसो झोला छाम्छ । अभिनय अचम्म छ । न ध्यानले चेक गरिन्छ, न कहिल्यै केही फेला पर्छ । तर, यातनाकारी चेकेको नाटक भने अटुट छ । यो सार्वत्रिक सैनिकीकरणको सुनियोजित अभ्यास हो । यो नागरिक स्वतन्त्रताविरोधी एउटा दीर्घ रोग हो । लाग्छ, जनआन्दोलनको अदम्य आँधीबाहेक केहीले पनि यो रोगको उपचार गर्न सक्दैन । चेकपछि चेक छिचोल्दै हाम्रो लघु टोली गोरखा पुग्यो । विनयशील गोरखाले मुस्कानमय अभिवादनले पाहुनागणको स्वागत गर्?यो । मृदु मुस्कान झुन्डिएका भावुक ओठ रुद्र पोखरेल, शिव अपि्रय, जयराम श्रेष्ठहरूका थिए । टन्न भात खाइयो र खुत्रुक्क तल जिविस हलमा गइयो । हल सुरुमा अर्ध-नग्न थियो, पछि त्यो खचाखच भरियो । सिलोकमा र वचनमा भानुभक्तको सम्झना गरियो । कुरा प्रायसः उनै पुराना थिए । नेपालीमाझ भावनात्मक एकीकरण गरिदिने भानुभक्त । जनजनका मनमा रामराज्यको आदर्श फिँजाइदिने भानुभक्त, आदि । त्यो सुन्दा मलाई कुनै जर्जर टेपको कर्कश स्वर सुनेझैँ लाग्यो । असमान र अन्यायपूर्ण सम्बन्धमा जेलिएको समाजका विविध पक्षलाई भाषाले एकीकरण गर्छ ? नारी अस्मिता र स्वतन्त्रताको बागी चेतनाले भानुभक्तीय नारी-विम्बलाई सकार्छ ? सामन्ती रामराज्य एक्काइसौँ शताब्दीको शासनको आदर्श हुनसक्छ ? भाषणमा मैले भनेँ, भानुभक्त बाजेले एउटा असल काम गरे । तिनले संस्कृतबाज कर्मकाण्डी पुरेतहरूका एकाधिकारी पन्जाबाट थुतेर काव्यलाई नेपाली भाषामा जनसाधारणको समीपमा पुर्?याए । बस् । गोरखामा केही कुरा मलाई बिर्सिनसक्नु लागे । त्यहाँ लुते राजनीति मस्तसँग घुरिरहेको छ । तथापि विद्यार्थी र कविहरूले जसोतसो चेतनाको घिडघिडो थामेका छन् । कविता वाचन गर्नेहरूको लाममा किशोरीहरूको ताँती दृष्टिगोचर भयो । नारी जागरणको एउटा आसलाग्दो दसी हो त्यो । गोरखामा नागरिक समाज र नागरिक प्रशासनको नाता निकै राम्रो देखेँ । प्रजिअ तारानाथ गौतम, स्थानीय विकास अधिकारी केदार बोगटी र प्रहरी नायक उपरीक्षक ईश्वरीबाबु कार्की तीनै जना साहित्यनुरागी । मञ्चमा तीनै जना हुनुहुन्थ्यो । त्यो पनि फगत लोकाचार पूरा गर्न हैन, नागरिक भेषमा विनयशील कवि भएर । शाही शासनमा मैले अन्त त्यस्तो विरलै देखेको छु । शान्त र सौम्य साहित्यिक कार्यक्रमहरूमा व्यवधान पैदा गर्ने ठालु हाकिमहरू भने मैले कति देखेको छु, कति ! पाँच घण्टा लामो कार्यक्रम डाँडाको घामसँगै तुरियो । तर, सहभागीहरूमा थकानरहित उमङ्ग भने जीवितै रह्यो । आतिथेय मित्रहरूको प्रबल आग्रह थियो- मित्र, आखिर नआउनु आइहालियो, तैतै डाँडामाथिको प्राचीन शाही दरबार हेर्न किन नजाऊँ ? मलाई भने बिसे नगर्चीको गाउँ हेर्न जाने रहर थियो । तर, त्यहाँ नगर्चीको नाम कसैले पनि लिएन । मन खिसि्रक्क भयो । नगर्ची उनको जन्मथलो गोरखामा अझै इतिहासको पादटिप्पणीमै विस्मृत छन् । मुकारुङको कविता गोरखामा पुगेकै छैन । जब त्यो पुग्छ, गोरखाले शनैशनै आँखा खोल्नेछ । र, महाराज पृथ्वीनारायण शाहको दरबार हेर्न झुत्तिनेहरूको लस्कर नागरिक बिसे नगर्चीको बस्तीतिर माडिने छ । जब त्यो दिन आउँछ, गोरखामा नागरिक इतिहासको नयाँ बिहानीको सूर्योदय हुनेछ ।
Read Full Discussion Thread for this article