Posted by: Ok July 11, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/Nepal/afailaishodera.php अजम्मरी सपनाको एउटा कथा-खगेन्द्र संग्रौला लाग्छ, नेपाल कुण्डैकुण्डको भूमि हो । जलकुण्ड होइन, नर्ककुण्ड । चेतनाका द्वारहरू खोल्दै समय जतिजति बित्दो छ, यो कुरूप यथार्थ मेरा आँखामा उतिउति प्रखर रूपले उजागर भइरहेछ । सभ्यता नै लज्जित हुनेगरी सामन्ती शासनतन्त्रका पुरेतरूपी पुर्जाद्वारा 'अछूत' को बात लगाएर पशुभन्दा तल्लो दर्जामा गिराइएको दलित समाज एउटा नर्ककुण्ड हो । नारीपीडक मनु-संहिताद्वारा पुरुषकी चरणकी दासी मानिएकोे नारी समाज अर्को नर्ककुण्ड । बेच्नलाई केही नपाएर कथित उच्च समाजका सुकुलगुन्डाहरूलाई शरीर बेची प्राण धान्ने बादी समाज अर्को नर्ककुण्ड । अनागरिक र पहिचानविहीन मधेसी समाज अर्को नर्ककुण्ड । सत्ताद्वारा आप\mनो सांस्कृतिक पहिचानमाथि विषाक्त खुकुरी बजारिएको जनजाति समाज अर्को नर्ककुण्ड । स्वार्थी शासकहरूद्वारा परचक्रीका सन्तानलाई झैँ अपहेलना गरिएको बृहत् कणर्ाली समाज अर्को नर्ककुण्ड । कथित मुक्तिको नाममा घर न घाट बनाइएको कमैया समाज अर्को नर्ककुण्ड । अनाथ मगन्ते र खाते समाज अर्को नर्ककुण्ड । एकल महिला उर्फ विधवा समाज अर्को नर्ककुण्ड । एवम्रीतले नेपाल दुःखैदुःखको जालोमा जेलिएको नर्ककुण्डमाला हो । यी मानवनिर्मित नर्ककुण्डहरू हुन् । थाहा छ, को हुन् यो नर्ककुण्डका स्रष्टा र रक्षकहरू ? खुला पुस्तकझैँ जगतसामु उत्तर सर्वाङ्ग नाङ्गै छ । सामन्ती राणाशासन, शाही शासन र पुरोहित शासन नै यी नर्ककुण्डका स्रष्टात्रय हुन् । स्रष्टा पनि यिनै, रक्षक पनि यिनै । राजनीतिक शास्त्रास्त्रको झडपकारी डबलीमा हाल एकथरी अनौठा जीवात्हरू देख्छु । यी आफूलाई आप\mनै मुखले प्राज्ञ, पण्डित, कवि, राष्ट्रवादी आदि भन्न रुचाउँछन् । अहिले यी जीवात् शासकीय सामन्ती भोजनालयमा हाजिर भएका छन् । यिनको मति अजीव छ । बहुदलीयता यिनलाई फिटिक्कै मन पर्दैन । यी त्यसलाई 'बौलाहा बहुदल' को संज्ञा दिएर उग्र तिरष्कार गर्छन् । विधिको शासनप्रति यिनको प्रचण्ड विरोध छ । त्यसलाई 'बेथितिको शासन' भनेर यी मुख बिगार्छन् । अभिव्यक्तिको मुक्त संसार यिनका आँखामा आतङ्क भएर उपस्थित हुन्छ । यिनलाई अतिशय मनपर्ने कुरा तीनवटा छन् । अनिर्वाचित हुकुमी शासन । बन्द, मूक र जडवत् समाज । औँसीकालीन मसानघाटतुल्य मुर्दाशान्ति । त्यसका लागि यिनीहरू अहोरात्र यत्नशील छन् । तर, उल्लुले रातभरि तपस गरेर सूर्य उदाउन छाडेको कथा नरलोकलाई आजसम्म थाहा छैन । यी हदअभागीहरूको दुःख यसैमा छ । माथि सत्तामा आप\mनो मनचिन्ते शासन छ । अटल भक्तिबाट प्राप्त बक्सिसको स्वाद अनुपम छ । तैपनि निरङ्कुशपथका बौद्धिक डोलेहरू खिन्न र उद्विग्न छन् । कारण बुझिन्छ । अहिले सहस्र नर्ककुण्डका उपेक्षित नागरिकहरूका बन्द बक् फुटेका छन् । यो बक् फुटाइ निकट अतीतको खुला बहुदलीय परिवेशको कमाल हो । यो विशाल आकारको गतिमान र मुखर सञ्चारको चमत्कार हो । यो बागी आवाजहरूको जीवनदायी प्रकाशले जन्माएको प्रत्युत्तररूपी गुन्जन हो । गुन्जन भव्य छ । तर, निर्दलमार्गका बौद्धिक पुरेतहरूका चित्तमा भने यस गुन्जनले जन्माएको पीडा अकथनीय छ । क्रमश:
Read Full Discussion Thread for this article