Posted by: Ok July 6, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड १६ हजुरआमाको काम भरी सबैकाम आफैँले भ्याएर भाईबहिनी दुबैलाई स्कुल पठाएँ। नत्र अरु बेला त पालो गरेर जान्थे। दुबैजना कक्षा ३ मा पढ्थे त्यतिबेला। पढाई चाहिँ दुबैको राम्रो हुन पाएन। भाई चाहिँ अलिक रोगी, सानो जेहडाको भएर धेरै गाली गरेर पढ् भन्न पनि मन लागेन, बहिनी चाहिँ पटक्कै ध्यान नदिने। हुन त पढ्ने वातावरण पनि थिएन। घरमा आए पछि किताब पल्टाउन पाउने हैनन्, स्कुल पनि पालो गरेर जानु पर्ने। हजुरआमाको काममा बस्ता आमाले भैँसी दुहुन नहुने हुँदा अब कस्लाई बोलाई रहने सँधैँ भनेर मैले आफैंले कोसिस गरेँ। सुरुमा त कम्ता डर लागेको थिएन तर गोरा भैंसी दैब जस्तै सोझो थियो, जस्तै गरी दुहुए पनि मान्ने। मैले ४/५ दिनमै राम्रोसँग सिकेँ। १३ दिने काम सकेका दिन सबै मानिस जम्मा भएको मौका पारेर हजुरआमाको नाममा राखेको बुढ्यौली बारी पनि सबै अंशियार छोराहरुलाई बाँडेपछि त हाम्रो आम्दानीको स्रोत त झन् घट्यो। अब चाहीँ निकै नै गाह्रो पर्न लागेकोले त्यसदिन बेलुका अब के गर्ने भनेर घरमा आमाछोराले निकैबेर सल्लाह गरेउँ। फेरी घनश्याम सरकोमा बस्दा मैले घरबाट केहि पनि सामान नलानु पर्ने भएकोले त्यति धेरै गाह्रो पर्दैन कि भन्ने कुरा पनि भयो। अब केहि समय हेरौँ, के कसरी चल्दो रहेछ भन्ने निष्कर्षमा हामी पुगेउँ। १५ दिन पछि म फेरी मञ्जुको घरमा बस्न थालेँ। तारामार्फत मञ्जुले सबै थाहा पाईछन्। उनको घरमा पनि कुरा भएछ। सुरुमा त "मलाई किन नभनेको?" भनेर मञ्जु एकपटक त रिसाईन् पनि। मैले "तिमीलाई पिर लाग्ला" भनेर नभनेको भनेपछि उनले पनि केहि भनिनन्। आमा र घरको परिस्थितिमा परिवर्तन नभए पनि मेरो आफ्नो जीवन चाहिँ धेरै नै सहज बन्दै गयो। कक्षा ७ बाट ८ मा जाँदा र कक्षा ८ बाट ९ मा जाँदा दुबै पटक धेरै नै अन्तरले म स्कुल फष्ट भएँ। धेरै जनाको स्याबासी पाएँ। अब त म स्कुलभरी, रामपुर गाँउभरी नै निकै प्रख्यात भैसकेको थिएँ। नचिन्ने कोहि पनि थिएनन्। सबैले आफ्ना छोराछोरीलाई मेरो उदाहरण दिन्थे। एकादुई बाहेक मेरो बिरुद्दमा लाग्ने कोहि पनि थिएनन्। स्कुलमा पनि प्यारो, मञ्जुको घरमा पनि प्यारो, गाँउकै प्यारो। अब त हुँदा हुँदा साथिहरुका बुबाममीले पनि "ओमलाई आज बोलाएर लिएर आउनु है" भन्नु भा छ भनेर साथीहरुले स्कुलमा मलाई उनिहरुकै घर जान कर गर्थे। "ओम दाई, जान त जानु, बासै बस्ने गरी चाहीँ नजानु ल। तपाई यहाँ नहुँदा मलाई कस्तो पढ्नै मन लाग्दैन के!" मञ्जुको गुनासोलाई ध्यानमा राखे पनि सधैं चाहीँ उनले भनेजस्तो गर्दिनथेँ। साथीहरुले बोलाउँदा उनीहरुको घरमा जान्थेँ, अनि उतै बस्थेँ राती पनि कहिले काहिँ। मञ्जु पनि आफ्नो क्लासमा फष्ट भईन् दुबै बर्ष, जस्ले मेरो बसाईलाई झनै सहज बनायो। घनश्यामसरले त आफ्नै घरको सदस्य जसरी ब्यबहार गर्नुहुन्थ्यो। घरका मानिसलाई कपडा किन्दा होस् या केहि कुरा किन्दा मलाई पनि सम्झनु हुन्थ्यो। मञ्जुलाई जस्तो खाजा खान भनेर पैसा नै त दिनु हुन्नथ्यो, तर पनि मञ्जुलाई दिएको पैसा नै मलाई दिएको बराबर नै थियो। मञ्जुले कहिल्यै पनि केही किन्दा वा खाँदा मलाई छुट्याउँदैन थिन्। मैले पढ्नको लागि चाहिने किताब, कपी, कलाम, मसी केहिको पनि कहिल्यै अभाव महसुस गर्नु परेन। जन्म दिने वुबाको मायाबाट सानैमा बञ्चित हुनु परे पनि घनश्यामसरले एककिसिमले बुबाकै रोल खेल्नु भो। ती २ बर्षहरु मेरा जीवनका अति नै सुखी बर्षहरु थिए। मेरो लागि मात्र नभएर शिक्षक कोटाका उसिनेका चामल (बगडा), जुन अरु चामल भन्दा धेरै नै सस्तो पर्थ्यो, ओखल्ढुङगा सदरमुकाम गएर ल्याउँथे आफ्नो घरको लागि घनश्यामसरको नामबाट। अनि गाँउका हुनेखानेसँग गहुँ र गहत साटेर धेरै छाक पार्थेम। घरमा पनि जेनतेन काम चल्दै गयो। क्रमश:
Read Full Discussion Thread for this article