Posted by: Ok June 29, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
यतिखेर लोकतान्त्रिक आन्दोलनको शुष्क धमनीमा जीवन्त विचारको ताप र उत्ताल आवेगको राप भर्न पहिले दलभित्रको फोहोर-मैला सोहोर्ने तर्क उठेको छ । यो तर्कको तात्पर्य दलभित्रका भ्रष्ट जिम्दारहरूलाई छिमल-छिमल गरी बिदाइ गरौँ भन्ने हो । तर कतिपय बुद्धिजीवीहरू कुरो रड्काउँदै छन् । ती भन्छन्, सावधान ! अहिले दल र नेतातिर तीर नताकौँ । ताकियो भने मकरतन्त्रलाई लाभ हुन्छ र लोकतन्त्रलाई मर्का पर्छ । काकाको विचारमा यो पाङ्दुरे तर्क हो । व्यवहारबाट देखियो । यो तर्क दलभित्रका भ्रष्ट जिम्दारहरूका लागि गज्जपको रक्षाकवच भएको छ । दलको सत्तामा टाँसिइरहने दाउले ती भन्दैछन्, हेर ! बुद्धिमान र दूरदर्शी बुद्धिजीवी त ती पो हुन् । दलहरूभित्र असल मनसाय भएका, इमानदार र समर्पित पात्रहरू नभएका होइनन् । तर यिनको ताल हेर्दा काकालाई टिठ पनि लाग्छ, झोँक पनि चल्छ । यी लुतेहरूका मस्तिष्क अक्टोपसरूपी भ्रष्ट जिम्दारहरूका सहस्र सुँडहरूद्वारा अँठ्याइएका छन् । त्यसैले यिनीहरू छातीमा मुड्की ठोकेर भ्रष्ट जिम्दारहरूसँग जुध्न आँट गर्दैनन् । सुनिन्छ, एमालेको केन्द्र छिटै बैठक बस्दैछ । बैठकले नेतृत्वमा भ्रष्ट जिम्दारहरूको वर्चस्वलाई निरन्तरता दिने कुरा पक्कापक्की भएको छ । दलका लुतेहरू मुखै नबिसाईकन दलभित्र जनवादी सुधार गर्ने गफ गर्छन् । काकाको विचारमा यो दलरूपी संरचनालाई ओभरहल गर्ने कुरा हो । यो गोविन्दराज जोशी र ईश्वर पोखरेलजस्ता ज्यास्ती खिया लागेका पत्रु पुर्जाहरूलाई फेर्ने र अलि कम खिया लागेका पुर्जाहरूलाई घोटेर र तेल घसेर कामकाजी बनाउने कुरा हो । यी पत्रु पुर्जाहरू जबसम्म फेरिँदैनन्, दलीय संरचनाको रथ डेगै चल्दैन । दलको रथै नचली केको गति ? केको अग्रगति ? नागरिकहरू सोध्छन्, संसद् पुनःस्थापना भनेको सिंहदरबारभित्र यिनै गोविन्द र ईश्वरहरूको दाम, माम र अयस-आरामको पुनःस्थापना हो ? राजनीतिका यी खोटा टकहरूको पुनःस्थापनाका लागि टाउको थापेर कोही किन सडकमा जाओस् ? सुनिन्छ, एमालेभित्र अहिले भ्रष्ट-भ्रष्ट एक होऔँको नाटक प्रारम्भ भएको छ । असोजतन्त्रका एमाले मन्त्रीहरूले दलमा प-पाँच हात लामा लिखत बुझाएका छन् । लिखत अजीव छन् । ती लिखतमा लेखिएको छ, म निष्पाप, बेदाग, कञ्चन र फटिक छु । पापी, दागी, मैलो र धमिलो महासचिव माधवकुमार नेपाल हुन् । जे बिग्य्रो, त्यो सबै उनैको कर्तुत हो । म अबोध बालक सर्वथा निर्दोष छु । लाग्छ, एक हुल भोका कमिला अधमरो फट्याङ्ग्रोमाथि झम्टा मारिरहेका छन् । यो अधमरो ज्यान असोजतन्त्रका अनन्य अनुयायी माधवजीको हो । तर झम्टाइको यो नाटक क्षणभङ्गुर हो । यो नाटक 'काले-काले मिलेर खाउ?m भाले' मा पुगेर टुङ्गनिेछ । क्रमश:
Read Full Discussion Thread for this article