Posted by: Houston June 27, 2005
A must read Poem - Srawan Mukarung
Login in to Rate this Post:     0       ?        
बौलाएको बिसे नगर्ची र हाम्रा शासक गुणराज लुइँटेल - मालिक ! म यो गोरखा राज्यमा अढाइसय वर्षपछि बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु... यस वर्षको राष्ट्रिय कविता महोत्सवमा अहिलेका भर्भराउँदा कवि श्रवण मुकारुङको 'बिसे नगर्चीको बयान' लाई पाठ गर्न थालेपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्रेक्षालय तालीले गुञ्जायमान भएको छ । गोरखा राज्यको एकीकरणका निम्ति राजा पृथ्वीनारायणलाई सहयोग गर्ने उनै बिसे नगर्ची नयाँ अवतार बनेर आएका छन् कवि श्रवणको कवितामा । र मुलुकको अहिलेको अवस्थामा आइपुगेपछि उनले आफू बौलाएको सगर्व घोषणा गरेका छन् । उनका आँखा तिर्मिराएका छन् र मालिकका गर्धनमाथि दसवटा शिर पलाएको देख्दैछन् । बौलाएको मानिसले सत्य बोल्छ । बिसे बौलाए यहाँ । त्यसबेला जनतालाई सुनेर काम गर्ने मालिकले अहिले आफ्नो कार्यशैली परिवर्तन गरेकोमा उनी बौलाएका छन् । जनता बौलाउनुपर्ने अवस्थामा पुर्?याउने सत्ताका मालिकहरूको कर्मले बिसेहरूलाई यस्तै नियतिमा पुर्?याउँछ । माघ १९ पछि मुलुक एउटा दुःखद प्रयोगतर्फ प्रवेश गरेको छ । राजा र जनताबीचको सम्बन्धमा एउटा भयानक खाडल र अपूरणीय रिक्तता पैदा गरेको छ । जनताका प्रतिनिधिले गर्न सकेनन् भनी आफैं अग्रसर राजाको यो प्रयोग पनि असफल भइसकेको छ । कवि श्रवणको बिसे नगर्चीले घोषणा गरिसक्यो- 'म यो गोरखा राज्यमा अढाइसय वर्षपछि बौलाएँ ।' राजनीतिक पार्टीका नेताहरू भ्रष्ट र अक्षम भए भनी मुलुकको राजनीतिमा २०३६ सालअघि नै अस्ताएका वयोवृद्ध नेताहरू डा. तुलसी गिरी र कीर्तिनिधि विष्टलाई फेरि सत्तामा ल्याएर समाधान दिन खोजिएको छ । तर यस किसिमको सत्ताको प्रयोग जतिजति लामो समयसम्म हुन्छ, समाधान पनि उतिउति नै टाढा हुँदै जान्छ । प्रजातन्त्रकालका नेताहरू ज्यादै भ्रष्ट किन देखिए भने त्यहाँ पारदर्शिता थियो । एउटा-एउटा मुद्दामा संसद्को सार्वजनिक लेखा समितिमा नेताहरू, उच्च प्रशासकहरू र निणर्ायक तहलाई ल्याएर र्?याखर्?याख पारिन्थ्यो । त्यहाँ प्रेसको उपस्थिति पनि हुन्थ्यो । धेरैलाई ती खबर पढ्दा मुलुक पूरै भ्रष्टाचारमा डुबिसकेको महसुस हुन्थ्यो । सांसदले लिएको सुविधा, औषधि खर्च, पेन्सनआदिको चर्को विरोध भएपछि त्यसलाई पुनरावलोकन गर्नुपर्ने अवस्थामा त्यतिबेला सरकार पुगेको थियो । अहिलेको अपारदर्शी र अंकुशहीन सरकारका उपाध्यक्षहरूले घर मर्मतका लागि भनेरमात्रै मुलुकको सीमित बजेटबाट लाखौं रुपैयाँ लिएका छन् । प्रथम उपाध्यक्ष डा. गिरीको भान्सा मर्मतका लागि ९ लाख १० हजार खर्च भएको छ । उनको विशेष भत्ता महिनाको ७५ हजार रुपैयाँ छ । उनको घरभाडामात्रै मुलुकले प्रतिमहिना ६० हजार रुपैयाँ तिर्नु परेको छ । अर्का उपाध्यक्ष विष्टलाई घर मर्मतकै लागि भनेर १० लाख रुपैयाँ दिनुपरेको छ । उनीहरूलाई मुलुकका समस्या समाधानका निम्तिभन्दा पनि तिनको घर मर्मत गर्ने अवसर पूर्तिका निम्ति सरकारमा मौका दिइएको भान हुन्छ । गाउँ-गाउँबाट लखेटिएर राजधानी आएका व्यक्तिहरू गास, बास र कपासका निम्ति धर्ना दिँदा सुरक्षा निकायबाट प्रताडित भएका छन् । यस्तो अवस्थामा संविधान विपरीत नियुक्त उपाध्यक्षहरूले राज्य कोषबाट जथभावी रकम बुझ्दा बिसे नगर्ची बौलाउँदैन ?
Read Full Discussion Thread for this article