Posted by: nut June 15, 2005
Login in to Rate this Post:
0
?
३) अठार महिना पनि काम गर्न नपाउँदै अकारण आफूलाई अपदस्थ गर्ने र आफ्ना सयौं साथीलाई जेल हालेर प्रजातन्त्र अपहरण गर्ने राजाको कदमलाई पनि 'शंकाको सुविधा' दिएर एक वर्षसम्म पर्खेर अन्ततः दबाबमूलक कारबाहीमा उत्रेका सुवर्ण शमशेरले ०२५ जेठमा पुनः 'नेपालमा प्रजातन्त्रको उत्तरोतर विकासको अपेक्षा राख्दै श्री ५ मा भक्तिपूर्वक सहयोग टक्र्याउँछु' भनेर वक्तव्य दिनुभयो । तत्पश्चात् राष्ट्रहितलाई ध्यानमा राखी राजाले संवैधानिक सुधार अघि बढाउलान् र सबैलाई समेटेर हिँड्लान् भन्ने आशामा सुवर्णजीले ८ वर्षसम्म पार्टीका सबै कार्यक्रम बन्द गरेर आशाखेती कुर्दै काठमाडौं र कलकत्ता गरिरहनुभयो । परिणाम ०३२ सालको झन् अनुदार संविधान लादियो । सुवर्णजीको 'भक्तिपूर्वकको सहयोग' कारुणिक दुःखमा परिणत भएर उहाँको इहलीला तड्पनमै सकियो । उहाँको पार्थिव शरीर काठमाडौं ल्याउने अनुमति पनि दिइएन ।
४) राष्ट्रिय मेलमिलापका लागि सबैभन्दा ठूलो प्रयत्न २०३३ सालमा वीपी कोइरालाले गर्नुभयो । उहाँले मेलमिलापको पक्षमा बेजोड तर्कमात्र दिनुभएन, नेपाली राजनीतिमा 'मेलमिलाप दर्शन' कै प्रतिपादनसमेत गर्नुभयो । ०३३ सालमा क्रान्तिको बाटो स्वयम् परित्याग गरेर स्वदेश र्फकंदा उहाँले भन्नुभयो- 'हाम्रो देश आज संकटमा छ । यता केही वर्षदेखि यो संकट चर्किंदै गएको सबैले महसुस गरेकै हो । यस राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अपि्रय विवाद, अनुभव र मतभिन्नता बिर्सेर एकताको सूत्रमा बाँधिनुपर्छ ।' राष्ट्रियताको रक्षा र प्रजातन्त्रको विकासका लागि 'राजाको गर्धनसँग आफ्नो गर्धन जोडिएको' उल्लेखसम्म गर्न उहाँ पुग्नुभयो । तर परिणाम के भयो ? उहाँलाई देशभित्र घुम्न र आफ्नै गृहनगर जानसम्म रोकियो । मेलमिलापमा आँच आउला भनेर कति सजग हुनुहुन्थ्यो भने ०३६ सालको विद्यार्थी आन्दोलनको प्रस्ताव लिएर जाँदा वीपी मसँग झोक्किनुभएको थियो । जनमत संग्रहको धाँधली रोक्न पूर्णसर्त राख्नुपर्छ भन्ने गणेशमानजीलाई समेत उहाँले रोक्नुभयो र बहुदलको प्रायोजित र अप्रत्याशित हारलाई समेत शिरोधार्य गर्नुभयो । त्यति गर्दागर्दै पनि सम्मानजनक रूपले आमचुनावमा भाग लिने अवसरको प्रतीक्षामा रहेका वीपीलाई वास्तै नगरी राष्ट्रिय पञ्चायत चुनाव घोषणा गरियो । जीवनको अन्तिम क्षण पर्खिरहेका वीपीलाई सम्मान दिनुपर्ला भनेर पूर्वप्रधानमन्त्रीको देहावसान हुँदा दिइने राजकीय सम्मानको नियमसमेत केवल उहाँलाई नै ध्यानमा राखेर खारेज गरियो । विद्वान् र उदारवादी कहलाइएका राजा वीरेन्द्रबाट करबल दिइएको शोक सन्देशसमेत 'जुनसुकै नेपाली मर्दा पनि' भनेर सामान्यीकरण गर्ने संकीर्ण सोचको पराकाष्ठाको अभिव्यक्तिका रूपमा आयो ।
हामीसँग यस्ता अनुभवको एउटा विशाल थुप्रो खडा भए पनि हामीले पाठ सिक्नसकेका छैनौं । आज हाम्रा कतिपय साथीमात्र होइन, स्वयम् राजाका मान्छेसमेत 'वीपीले प्रतिपादन गरेको मेलमिलाप सिद्धान्त' भनेर रट लगाउँछन् । के वीपीमाथि यहाँ न्याय भएको छ ? के वीपी र सुवर्णले पिउनुपरेको अपमानको घुट्को र तडपनको अलिकति पनि अनुभूति आजका हाम्रा सदावहारे मिलमिलापवादीहरूलाई छ ?