Posted by: newuser June 15, 2005
Login in to Rate this Post:
0
?
मृत्यु र नियति
newuser
अचानक निर्दोषहरुको शास
पुलको धरापमा गएर अड्कियो
दर्जनौं जीवनका सपनाहरु
बारुदको धुवाँ भित्र बिलाए
अंगहरु चोइटिए, उछिट्टिए
केहि जलेर खरानी बने
केहि डढेर कक्रक्क परे
सुख्खा नदिको बालुवामा
जब आधा गडेको लाशलाई देखेर
आश्चर्य चकित कालले सोध्छ
के यो मृत्यु नियति हो ?
या मार्नेहरुको जालझेल
श्रीपेचको दाउपेचको खेल ?
जीवन भोगाइको दौडाहामा
केहि दिनहरु लम्ब्याउने आशामा
जीजीविषाले लखेटेर
छोंटो गन्तव्य तोकेर
अलिकति सरजाम भर्न
अलिकति जोरजाम गर्न
थोत्रो बसको छत र डण्डीमा
जीवन अल्झाएर हिंड्नेहरु
जव आमा! भन्न नपाइ निष्प्राण हुन्छन
तब आश्चर्य चकित कालले सोध्छ
के यो मृत्यु नियति हो ?
या मार्नेहरुको जुवाको दाउ
श्रीपेचको दाउपेचको भाउ?
नागरिक गुमाएको देश
गाउँले गुमाएको समाज
लोग्ने गुमाएकी स्वास्नी
छोरो गुमाएकी आमा
आमा गुमाएको दुधे बालक
मुर्छित मान्छेहरुको भवसागर
अनि अल्मलिएका गिद्ध र चिलहरु
अट्टहाँस गरिरहेका स्याल र व्वाँसाहरु
जब कोही काललाई सराप्दैछन
कोही उसैलाई धन्य भन्दैछन
तब काल अलि हच्किएर आफैलाई सोध्छ
के यो मृत्यु नियति हो ?
या मार्नेहरु बीचको जुहारी
श्रीपेच र दाउपेचको दोहोरी ?
विष्फोटले अवशेष बनेको बस
छरपष्ट मान्छेका अंगहरु र रगतका टाटा
जीउँदा आखाका वलिन्द्रधाराहरु
मान्छेलाई लुछिरहेका गिद्धहरु
सबै देखेर चकित खाएको काल
श्रीपेचको दाउपेचको टक्करबाट
झन झन भयभीत भएको छ
मानवताको सम्हार देखेर
उसले आफैलाई सोधिरहेछ
के यो मृत्यु नियति हो ?
अहँ, मृत्यु अधिनायकवाद हो
मृत्यु सम्विधानसभा हो
अनि मृत्यु गणतन्त्र हो
काललाई दोष नदेउ मान्छेहरु
यो मृत्यु श्रीपेचको दाउपेच हो।
१४ जुन २००५