Posted by: Ok June 14, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
Very interesting and ralated to Sangraula: http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42981 जेलबाट पठाउन नसकिएको पत्र - खगेन्द्र संग्रौलाजी, क्षेत्रीय प्रहरी एकाइ कार्यालय, राजविराजको बन्दी कोठाबाट तपाईंलाई 'खुल्लापत्र' लेख्दैछु । माघ १९ को राजाको अप्रजातान्त्रिक, असंवैधानिक र प्रतिगामी कदमसँगै बन्दी बनाइएकामध्ये केहीलाई पूर्व बेहोरा कै थुनुवा पुर्जी पुनः दिइएको सुनेको छु । मलाई पनि 'नजरबन्द छानबिन तथा अनुसन्धान समिति' को सिफारिसमा 'नजरबन्दमा थुनामा रहँदा आचरण तथा क्रियाकलापमा कुनै परिवर्तन नआएको' भनी थप ९० दिनको थुनुवा पुर्जी थमाइएको छ । ९० दिन त के, अधिनायकवादी शासनको आयु जति नै बन्दी बनाइए पनि आफ्नो आस्थाको उचाई घट्न नदिने मानसिकतामा छु । बाहिरी सम्पर्क प्रतिबन्धित गरिएकाले पत्र लेख्न ढिला भयो । ०६१, १७ चैतको 'कान्तिपुर' र ०६२, ११ वैशाखको 'नेपाल' साप्ताहिकमा प्रकाशित तपाईंका लेख पढेपछि केही लेखौं भन्ने लागेको हो । दुवै लेखमा १९ माघमा म राजविराजमा गिरफ्तार भएपछिका घटना-विवरणमा भारतीय रेल्वे स्टेसनमा बिक्री हुने 'सनसनीखोज सत्यकथा' को नक्कल गर्दै केही उल्लेख गर्नु भएछ । मप्रति तथ्य विपरीतका तल्लोस्तरको विवरण सार्वजनिक गर्नुभएकाले प्रतिकूल परिस्थिति बीच ढिलै भए पनि केही लेख्न आवश्यक ठाने । संग्रौलाजी ! बन्दी कोठाभित्र आक्कल-झुक्कल आइपुग्ने पत्रपत्रिकामा तपाईंका लेख नबिराई हेर्छु । त्यसो त, सम्भवभएसम्म यहाँका रचना अध्ययन गर्ने पाठक पनि हुँ । व्यक्तिगत रूपमा खासै चिनापर्ची नभए पनि तिनै रचनामार्फत यहाँको व्यक्तित्व-बिम्ब मेरो दिमागमा छ । मनोविज्ञ नभए पनि तपाईंका लेखमा व्यक्त हुने ग्रन्थीलाई थोरबहुत अनुभूत गरेको छु । १९ माघमा म गिरफ्तार भइसकेपछि, गिरफ्तारी र बन्दी अवस्थाको विवरण तपाईंले जसरी सार्वजनिक गर्नुभएको छ, अहिले तिनैमा आधारित लेख्दैछु । १) म, तपाईंले लेख्नु भएजस्तो, आफ्नो पार्टीको पद र मन्त्री पदको 'फुईं' नलगाई कनै, एक वर्ष पहिले हत्या गरिएका निवर्तमान सांसद हेमनारायण यादवको स्मृतिमा एमाले सिराहा जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा सहभागी हुन १८ माघ राति राजविराज उत्रिएको थिएँ । १९ गते बिहान राजाको घोषणापछि यहीं सुरक्षा अधिकारीले नियन्त्रणमा लिए । स्थानीय सुरक्षा अधिकारीले पदासीन अवस्थामा गिरफ्तार भएकाले केन्द्र पठाउने कि भनी एकदिन बाटो हेरें । पछि 'जस्जस्लाई जहाँ-जहाँ गिरफ्तार गरिएको छ- त्यहीं राख्ने' भन्ने 'माथि'को आदेशपछि 'सार्वजनिक सुरक्षा कानुन अन्तर्गत' तीन महिने थुनुवा पुर्जी दिए । मलाई राजविराज जेल पठाइयो । म गिरफ्तार हुँदाको प्रसंगलाई पनि शायद रोचकता दिन होला । सुरक्षा कर्मीले हुर्मत लिने तहमा व्यवहार गरेको दृष्य लेख्नु भएछ । जेलमा मप्रति आम बन्दीले गरेको व्यवहारबारे एक प्रतिशत पनि नभएको उल्लेख गर्नु भएछ । जेलभित्र पस्नासाथ बन्दीले खपिनसक्नु अपमान गरेको, कुटपिट गरेकोजस्ता झूठा र फतुरा कुरा आफ्नो आकर्षक लेखनीमार्फत पाठकसमक्ष पुर्?याउनु भएछ । त्यतिले नपुगेर बन्दीको व्यवहार सहन नसकी म झन्डै 'आत्महत्या' गर्न तम्सिएको तर अन्तमा केही नलागेपछि ज्यान बचाउने उद्देश्यले 'जेलरको शरण' परी हिरासतभित्र सुरक्षित आश्रयमा बसेको उल्लेख गर्नुभएछ । यो सबै 'शतप्रतिशत साँचो' पनि भन्नु भएछ । र 'नेपाल' साप्ताहिकमा समेत तिनै प्रसङ्गलाई 'हालसालै प्राप्त थप सूचना' भन्दै धित मार्ने हिसाबले लेख्नुभएछ । ज्ञान होस्, म पनि बाहिरी दुनियाँमा भएका धेरै घटना थाहा नपाउने अरू बन्दी मित्रहरू जस्तै हुँ । कसोकसो प्राप्त भएका कान्तिपुर र नेपालबाहेक अरू कतिमा तपाईंजस्ता 'लोकतन्त्रका हिमायती' द्वारा लोकतन्त्रको पक्षपोषणमा हामीविरुद्ध कति 'सत्य कथा' प्रचारित गरिएका छन् । थाहा हुन सकेको छैन । तर तपाईंले मेरो गिरफ्तारी र बन्दी विषयमा जे जस्ता घटनालाई 'सत्यकथा' भनी उल्लेख गर्नुभएको छ- म केमात्र अनुरोध गर्न चाहन्छु भने, यो सिंगो प्रकरणमा कुनै सुरक्षाकर्मी वा जेलका कर्मचारीद्वारा राजविराज जेलमा रहेका कुनै आस्थाका वा अन्य बन्दीमाथि गरिएको व्यवहार उक्त 'सनसनीपूर्ण सत्यकथा' सँग एक अंश पनि मेलखाए म तपाईंका लेखकीय खुबीको सार्वजनिक सम्मान र समर्थन गर्थें । क्रमश:
Read Full Discussion Thread for this article