Posted by: salokya June 14, 2005
Magic of Artilce 127 of our Constitution
Login in to Rate this Post:     0       ?        
धारा १२७ को जादू हाम्रो संविधानमा धारा १२७ पनि गजब कै जादूको छडीजस्तो धारा रहेछ बा । अरु धाराबाट त पानीमात्रै आउँछ । तर यो धाराबाट त जे चाहियो त्यही झार्न मिल्ने रहेछ । पौराणिक कथामा कल्पवृक्ष भन्ने एउटा रुख थियो रे, चिताएको कुरा त्यो रुखले पूरा गर्थ्यो रे । अहिले धारा १२७ ले पनि जे चितायो, त्यही पूरा हुने रहेछ । भ्रष्टाचार नियन्त्रण शाही आयोग धारा १२७ अनुसार बहाल रहने र त्यसमा काम गर्नेहरु पनि धारा १२७ अनुसार बहाल रहने रे । अनि यसबीचमा जारी भएका आदेश पनि धारा १२७ अनुसार नै रे । जननिर्वाचित प्रधानमन्त्रीलाई अक्षम भनी बर्खास्त गर्न पनि धारा १२७, त्यही प्रधानमन्त्रीलाई फेरि त्यही पदमा नियुक्त गर्न पनि धारा १२७, अनि फेरि बर्खास्त गर्न पनि धारा १२७ । बीचमा कतिपय प्रधानमन्त्री नियुक्त गर्न र बर्खास्त गर्न पनि धारा १२७ । बीचमा प्रधानमन्त्री बन्नको लागि निवेदन दर्ता गर्न नारायणहिटीमा लाम लागेर बसेको अलौकिक दृश्य हेर्न पाउनमा पनि यही धारा १२७ कै देन थियो । धन्य छ धारा १२७ तिम्रो महिमा । दुःखको कुरा, धारा १२७ को प्रयोग गर्न पाउने अधिकार तपाइँ हामीमा छैन । नत्र सोच्नुस् त, कति रमाइलो हुन्थ्यो होला, जब ट्याक्सीमा सर्रर चढेर आफूलाई चाहिने गन्तव्यमा पुगिन्थ्यो र चालकले पैसा माग्दा भन्न पाइन्थ्यो- धारा १२७ अनुसार यस पटकको भाडा शुल्क तिर्न पर्दैन । भोक लाग्दा रेस्टुरेन्टभित्र पसेर टन्न खाइन्थ्यो र बिल आउँदा ङिच्च हाँसेर उही धारा १२७ तेर्स्याउन पाइन्थ्यो । नगरकोटको होटलमा मस्तीका साथ रात बिताएको केही हप्तापछि गर्लफ्रेन्डले पेट बोकेको कुरा सुनाउँदा पनि दोष उही धारा १२७ लाई दिन पाइन्थ्यो । हे भगवान्, तिमीले हाम्रा लागि चाहिँ किन धारा १२७ को व्यवस्था गरेनौ ? फेरि भगवानले रिसाएर धारा १२७ कै प्रयोग गरी मलाई माथितिर बोलाएर मारसित भकुर्न लगाउनुहोला नि । रिसानी माफ होस् है । - http://merosansar.blogsome.com
Read Full Discussion Thread for this article