Posted by: Futurenepal June 13, 2005
Why Should I resign ? Says Dr. Giri
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42859 डा. गिरीको मनोवाद फरक मत कृष्णज्वाला देवकोटा (बालुवाटारमा एउटा भव्य वंगलाको आरामदायी शयनकक्ष । सुकिलो सिरकले मुख छोपेर एक वृद्ध निदाउने असफल प्रयासमा छन् ।) साँच्चैं मन्त्रीपरिषद् पुनर्गठन होला ? धेरैले यही अनुमान गरेका रहेछन् । हिजो त्यो तालुखुइले सचिव चाकडी गर्दैथियो, 'हजुर प्रधानमन्त्री होइसिन्छ होला' भनेर । -मुख बिगार्दै- त्यसको त चस्मा देख्दै एलर्जी हुन्छ मलाई । त्यस्ताले भनेको के पुग्ला ? हुन त यो अनुमान हो, किन डराउनु ? (लामो सास तान्दै) तर हावा नचली पात हल्लन्न गिरी, बेलैमा सोच् । तैंले नचिनेको देश होइन यो । हुकुम प्रमांगीको शासन न हो । आउन पनि ढोका नचाहिने, जाँदा पनि भित्तैबाट पास हुने । धिक्कार हो । (आवेशमा) वास्तवमा यो अनुमान पनि जथाभावी गर्न नपाइने नियम बन्नुपर्छ । कुन विषयमा अनुमान गर्ने, कतिसम्म गर्ने, किन गर्ने र कहिलेसम्म गर्ने हो, सबै बेहोरा खुलाएर सीडीओलाई निवेदन दिने र स्वीकृति पाएपछिमात्र अनुमान गर्न पाउने अध्यादेश आवश्यक छ यहाँ । अनुशासन नै छैन, कसरी बन्छ देश ? जसले जे पायो त्यो अनुमान गरेको छ, अस्थिरता ल्याएको छ । तर के गर्नु, प्रजातन्त्र भन्छन् । अधिकारको कुरा गर्छन् । यो प्रजातन्त्र बडो खराब कुरा हो । म त्यसै प्रजातन्त्रविरोधी भएको होइन । (घडी हेर्दै) ओहो, सवा बाह्र भइसकेछ । कता भाग्यो निन्द्रा ? यो सीताराम प्रसाईंले पनि कस्तो पैसाले घर बनाएछ कुन्नि । सही-गलत के-के गर्छ भन्छन् । घरको जगमै इमान छैन, निन्द्रा कहाँबाट आउँछ ? बेइमान । (कोल्टे र्फकंदै) हुन त मलाई नै 'कालोसूची नम्बर १६८०' बनाइसके । त्रिचालीस सालको कोदो अहिले चौरस्तामा सुकाएका छन् पत्रकारले । त्यतिखेर रामप्रसाद र वसन्त गटाणीले के के जाति पाइप र पोलिथिन बनाउँछौं भनेर बैंकबाट तीस लाख निकाल्दे भने । आफैंले पनि अलिअलि खर्च गरियो र देश छोडियो । देशै बिर्सेपछि ऋण सम्झने कुरा आएन । अहिले डेढ करोड पुगेछ । ठूल्ठूला अक्षरमा छापेका छन् । (गम्दै) बनाइस्, पीभीसी पाइप र पोलिथिन । अब त्यही पोलिथिन बोकेर सिंहदरबार जा । राजनीति त्यस्तै डामाडोल छ । पत्रकार आन्दोलनमा । तिनलाई प्रेस स्वतन्त्रता चाहियो । वकिल सडकमा । तिनलाई कानुनी राज्य चाहियो । अरू त अरू, डलरे मानवअधिकारवादीसमेत घुर्की लाउँछन् । सत्र सालमा यस्तो केही थिएन । कस्तो स्वर्ग थियो देश त्यतिखेर । न वकिल थिए, न पत्रकार, न माओवादी । भए पनि बडो शालीन थिए बरा । प्रजालाई राज्य भए पुग्थ्यो, कानुनी राज्य चाहिँदैनथ्यो । शासकको अधिकारमै शासित प्रसन्न थिए । अहिले ? पत्रकार रे । वकिल रे । के के जाति अधिकार रे । सडिसकेछ देश । बर्बाद भइसकेछ । थुक्क । (सिरकबाट अनुहार निकाल्दै) पर्फमेन्स पनि त्यति जमेन मेरो यसपाला । यसो थर्काइदिउँ भन्यो, कोही थर्कन्न । वकिललाई कानुन सम्झाउन खोज्दा तँ नै असंवैधानिक होस् भने । माओवादीले गर्दा मुद्दा छैनन्, त्यसैले ती फुर्सदिला छन् । सडकमा रमिता देखाउँछन् । उता पत्रकारको बेग्लै फूर्तिफार्ती भइसकेछ यो देशमा । तिनलाई सेन्सरसिप मन परेन रे । एफएमले समाचार भन्न पाउनुपर्छ भन्ने तिनको माग छ । ए बाबा, रेडियो नेपालले समाचार भनेकै छ, त्यही सुन्नु नि । समाचारले के नाप्छ ? सूर्यले पृथ्वी घुम्छ ? गोरखापत्रमा समाचार छापिएकै छ, त्यही पढ्नु । नेपाल टेलिभिजनमा कार्यक्रम आएकै छन्, ती हेर्नु । डिसिप्लिनलेस पिपल । (कोल्टे र्फकंदै) अय्या ! यो ढाडको रोगले पनि साह्रै सतायो । फिजियोथेरापिस्ट पनि के गर्छन् के । हुन त आफैं डाक्टर, त्यसो भन्न नहुने हो । बूढो जीउ कहाँ लागोस् घिउ । तैपनि राम्रो उपचार भएको छैन । सब ठग छन् यो देशमा । सबका सब खत्तम् । (गम्भीर हुँदै) म पनि बेकार फसेँ यो झमेलामा । अस्ताउने घाम जोगाउन आएको म मूर्ख । यस्तो झल्लरी उपाध्यक्षभन्दा त प्रोटेस्टेन्ट युजुसे मत-प्रचारक पिटर गिरी नै सुखी थियो । येशु भन्नुहुन्छ- जीवनमा सबैभन्दा ठूलो सुख हो । ठीक भन्नुहुन्छ । (गम्भीर हुँदै) भन् त गिरी, यो उमेरमा तँ देशको उद्धार गर्न फर्किस् कि आफ्नो ? हुन त यो बूढाहरूको देश हो । म छु, गिरिजाप्रसाद छन्, कीर्तिनिधि छन्, नयनबहादुर छन्, कृष्णप्रसाद छन्, सूर्यबहादुर छन् । सब एकसे एक । लाइनमा । बडो भाग्यमानी देश हो यो, बीसौं शताब्दीले एक्काइसौं शताब्दी हाँकेको । जर्जर सत्तापक्ष, खन्डहर विपक्ष । (हाँस्दै) रुग्णहरूले चलाएको रुग्ण देश । यशुले यसको भलो गरून् । एकथरी मान्छे पार्टी खोलौं भन्छन् र उकास्न आउँछन् । मलाई भने यो पार्टी भन्ने शब्दसँगै एलर्जी छ । मेरो जवाफ हुन्छ- बहुदल मान्ने भए अरू नै पार्टी छन्, कुनैको झन्डा बोक । नमान्ने भए किन पार्टी चाहियो ? नाजवाफ भएर जान्छन् बरा । हेर्दाहेर्दै बडो टुहुरा भएछन् पञ्च यो देशमा । हेर्दै जुम्सा, लुला र नुर गिरेका । टीठलाग्दा, सत्तामा भएर पनि नभएजस्ता । तिनको स्कोपै छैन । कस्तो दिन आयो ? (मुख छोप्दै) नेपाल अर्कै भइसकेछ । हिजो कार्पेट कान्डले खेद्यो, अब के हुने हो ? छोड्दे, जेसुकै होस् । मेरो के दाउमा छ र ? आए आँप, गए झटारो । यहाँ बढी नै गडबड भएछ भने जाउँला फेरि श्रीलंका वा हैदराबाद । तुलसी गिरी हारे पनि पिटर गिरी हार्दैन । त्यसले केही हार्न बाँकी छैन । जसको सबैथोक जान्छ, त्यो त हौसिएको छ भने मलाई के मतलब ? त्यो त........ (शून्यता ) ...म...-घुर्न थाल्छन्)..... (नोट: पाठकवृन्द, यो मनोवाद-अभ्यास कक्षा एघार र बाह्रका विद्यार्थीका लागि लेखिएको हो । यसका पात्र डा. गिरी हाम्रा उपाध्यक्ष डा. तुलसी गिरीसँग मिल्दोजुल्दो देखिनु संयोगमात्र हो ।)
Read Full Discussion Thread for this article