Posted by: Futurenepal June 13, 2005
Why Should I resign ? Says Dr. Giri
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42860 डा. गिरीको (अ) नैतिक शिक्षा बाइरोडको बाटोमा गुणराज लुइँटेल - 'इमानदारी जीवनको सबैभन्दा ठूलो सम्पत्ति र सफलता हो । बेइमानी, धुत्र्याइँ, भ्रष्टाचार र दुराचारले क्षणिक उपलब्धि र आनन्द मिल्न सक्छ । ढिलो-चाँडो पापको फल भोग्नैपर्छ- आफू उम्किहाले छोरानातिले पनि । त्यसैले असल बनौं- आफू र आफ्ना सन्ततिलाई जोखिममा नपारौं ।' यो कुनै महावाणी होइन । यो केवल राजाको अध्यक्षतामा गठित मन्त्रिपरिषद्का वरिष्ठ उपाध्यक्ष डा. तुलसी गिरीले बैंकको ऋण नबुझाएर 'कालोसूची' मा परेको समाचार सार्वजनिक भएको दुई दिनपछि सरकारी मुखपत्रमा छापिएको एउटा सानो विज्ञापनमात्र हो । सरकारले यस्तो सूचनात्मक विज्ञापन कसका निम्ति छपाएको हो त्यो प्रष्ट छैन । इमानदार शासनमा बस्नेले पनि हुनुपर्छ कि जनताले मात्र ? बैंकको ऋण तिर्ने, खुरुखुरु महिनैपिच्छे बिजुली- टेलिफोनको महसुल बुझाउने, राज्यले तोकिदिएको घरजग्गा, सवारी र अन्य कर तिर्ने काम के सर्वसाधारण जनताको मात्रै हो ? सडकको नियम, ट्राफिक लाइटको पालना, सरकारले तोकिदिएका ठाउँमा मात्र जुलुस गर्ने र जस्तोसुकै काम नलाग्ने सरकार भए पनि त्यसलाई टाउकोमा बोकेर हिँड्नुपर्ने दायित्व के जनताको काँधमा मात्र छ ? ०४६ सालको जन-आन्दोलनले सबैलाई संविधानभित्र राख्न खोजेको हो तर संविधानका प्रावधान कमजोर भएका कारण डा. गिरीहरू मुलुकको संविधानभन्दा माथि पुगेका छन् । किनभने यो जनता हारेको बेला हो । जनताले सधैँ हार्दैनन् । हारेका बेलामा भने डा. गिरीहरूजस्ता बैंकको ऋण नतिर्ने शासकहरूलाई व्यहोर्नु पर्छ । जब जनता जाग्छ, फेरि यिनीहरू देश छोडेर भाग्छन् । जनता भने जस्तोसुकै दुःखमा पनि देशमै बसिरहन्छ । डा. तुलसी गिरी नाम मात्र होइन । यो इतिहासको एउटा त्रासद प्रवृत्ति पनि हो । त्यसकारण यस्तो प्रवृत्तिले राज्यको कुनै कानुन पालना गर्नुपर्दैन । कालो सूचीमा पारे पनि उसलाई औपचारिक जानकारी दिनुपर्छ । यो प्रवृत्तिको चालामाला देख्दा लाग्छ- बैंकले उसलाई चाँदीको किस्तीमा राखेर मुद्राहरू ग्रहण गरिदिन आग्रह गरेको थियो । र उसले त्यो लिएर चलाइदिएको थियो । अहिले त्यो तिर्नुपर्ने हो भन्ने कुरा उसलाई लागेकै छैन । 'बैंकले केही लेखेरै दिएको छैन' उसले भनेको छ- 'उसले केही देओस् तब न भनूँ ।' त्यो निरीह बैंकले गिरीजस्ता शक्तिशालीलाई के भनोस् ? सार्वजनिकरूपमा मात्रै उनलाई यो लिएको छैन भन्न गाह्रो भएको हो । यसै पनि डा. गिरी आफ्नो स्वार्थ अनुकूल धारणाहरू परिवर्तन गर्न सिपालु छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले राजनीतिमा अगाडि बढाएका गिरीले आफ्नो स्वार्थका लागि कसरी धोका दिए भन्ने इतिहास बुझ्नेका निम्ति गिरीको यो चाल बुझ्न त्यति गाह्रो छैन । २० वर्षअघि उनले त्यो ऋण नेपालमै बसौंला, कुनै उद्यम गरेर फेरि फर्काउँला भनेर लिएकै थिएनन् । नेपालबाट विदेश जानुअघि उनले त्यो रकम लिएका थिए र फेरि राजनीति गर्न फर्काैंला भन्नेसमेत उनले बिर्सिसकेका थिए । उनी नेपालबाट धर्म, राष्ट्रियता, देशभक्ति सबै छोडेर श्रीलंकाको कोलम्बोमा पुगेका थिए । जहाँ उनी क्रिस्चियन धर्मअनुसार 'यहोवाका साक्षी' बनेका थिए । भिसाका कारणले त्यहाँ बस्न असम्भव भएपछि उनी मद्रासको लोनावाला र त्यसपछि बेंगलोरमा स्थायीरूपमा बस्न थालेका थिए । दुई दशकसम्म उनले आफ्नो धार्मिक समुदायलाई अराजनीतिक छवि प्रस्तुत गर्दै रहेकोमा एकाएक उनी उपाध्यक्ष बन्न हिँडेपछि त्यो समुदायसमेत धोकामा परेको थियो । फागुन ३ गते उनी उपाध्यक्ष बने । उनलाई बैंगलोरमा राम्ररी चिन्ने हिन्दुस्तान टाइम्सका संवाददाता श्रीनिवास प्रसादले फागुन ६ गते लेखेको समाचारमा भनिएको छ- 'गिरीको निर्णयले यस आन्दोलनका सहकर्मीलाई प्रष्टरूपमा दुःखी तुल्याएको छ ।' 'यहोवाको साथी' ले सधैँ विश्ववादको वकालत गर्छन्, तिनले राष्ट्रियता वा देशभक्तिलाई मान्दैनन् र राजनीति वा सत्तामा विश्वास गर्दैनन् । यस्तो समुदायमा सदस्य भइसकेको व्यक्ति एकाएक मुलुकको राजनीतिमा फर्केपछि त्यहाँ चिन्ता छाउनु स्वाभाविक हो । तर त्यो समुदायलाई समेत यी बैंकको ऋण नतिरी देशबाट भागेका थिए भन्ने के थाहा ? ती संवाददाताले आफ्नो समाचारमा राजदरबार हत्याकाण्डपछि गिरीले आफूलाई बताएका कुरासमेत उल्लेख गरेका छन् । उनले लेखेका छन्- 'गिरीले यो संवाददातासँग आफू कहिल्यै राजनीतिमा नर्फकने बताएका थिए । र उनले माओवादीलाई आतंककारी भन्नसमेत अस्वीकार गरेका थिए । तर अहिले भने माओवादीविरुद्ध कडा धारणा व्यक्त गर्न थालेका छन् ।' आजभन्दा २० वर्षअघिको नेपाललाई आधार मानेर हेर्दा त्यो बेला लिएको २० लाख रुपैयाँ ज्यादै धेरै हो । वास्तवमा उनलाई धर्मकर्म र ऐस-आरामको जिन्दगी गुजार्न त्यसैले मद्दत गरेको हो । बैंकको हिसाबले समेत त्यसको मूल्य १ करोड ७४ लाख पुग्नुले त्यसको उतिबेलाको मूल्य अहिले सहजै अनुमान गर्न सकिन्छ । आफ्नो जीविकाका लागि अहिले पनि मिर्गौला बेच्ने अवस्थामा रहेका जनताको शासक बनेर आएका गिरीलाई आफूले लिएको रकमको हेक्का हुने कुरा भएन । गरिबीको रेखामुनि रहेका ३१ प्रतिशत जनताले अहिले पनि वाषिर्क ६ हजार रुपैयाँभन्दा कम आम्दानीमा गुजारा गर्नुपर्छ । गरिब जनताको भाग्य र भविष्य निर्माण गर्छु भनेर आएका गिरीलाई बैंकको ऋण तिर्नुपर्छ भन्ने थाहा छैन र कालोसूचीमा परेपछि पनि सरकारमा बसिरहन लाज लाग्दैन भने जनताले पनि राज्यले तोकेको कर तिर्नैपर्छ कसरी भन्ने ? जनताले भोलि सार्वजनिकरूपमा यस्ता गैरजिम्मेवार व्यक्तिले चलाएको सरकारलाई कर तिर्न आवश्यक छैन भनेर सजिलै भन्नसक्ने अवस्था आउन केहीबेर लाग्नेछैन । डा. गिरीको यो चरित्र देखेपछि सरकारी मुखपत्रमा छापिएको उक्त विज्ञापनलाई सच्याएर यसरी छापे हुन्थ्यो भन्न मन लाग्छ - 'इमानदारी जीवनको सबैभन्दा निकृष्ट पक्ष र असफलता हो । बेइमानी, धुत्र्याइँ, भ्रष्टाचार र दुराचारले अनन्त उपलब्धि र आनन्द मिल्न सक्छ । कहिल्यै पापको फल भोग्नु पर्दैन- आफूपछि छोरानातिले पनि । त्यसैले असल नबनौं, इमानदार नबनौं- आफू र आफ्ना सन्ततिलाई जोखिममा नपारौं । श्री ५ को सरकार सूचना तथा सञ्चार मन्त्रालय सूचना विभाग' gunaraj@kantipur.com.np
Read Full Discussion Thread for this article