Posted by: newuser June 13, 2005
Login in to Rate this Post:
0
?
सुबोध र सन्देशलाई सोह्रखुट्टेकै अतिथिगृहमा छाडेर माथिको आदेशअनुसार चौथो दिनमा मेरो सरुवा हनुमानढोकामा भयो । हनुमानढोकाको 'रङ्गीन' माहौलमा प्रवेश गर्नासाथ पुराना दिनहरूतिर फर्किहालेछु । कहिले राज्यविरुद्ध त कहिले राजइच्छाविरुद्ध, सङ्घर्ष लुते भइरह्यो भने अझ कति वर्ष चल्ला यो क्रम ! सोच्दासोच्दै मप्रति लक्षित प्रश्नले झसङ्ग बनाइदियो, "तपाईंलाई के अभियोगमा ल्याएको ?" मैले भनेँ, "मालिकको आदेशले ।" सहजतापूर्वक उनले भने, "ए ! राजनीति ।"
केशव सिंह र राजन राईले न्यानो स्वागत गर्नुभयो । एक जनाका निम्ति अनुपयुक्त कोठामा १४ जनासम्म कोचिएका रहेछन् । तिनको त अभियोग पनि प्रमाणित थिएन । तर, किन यस्तो अमानवीय व्यवहार ? शौचालयको अवस्था हेर्दा 'बाल्टिन ट्वाइलेट' कै याद आयो । सहजै महसुस गर्न सकिन्थ्यो, त्यहाँ अक्सिजनको मात्राको कमी छ हावामा । जेनतेन रात बित्यो । सोह्रखुट्टेको अनुभवमा केही थप्न मन लाग्यो । कोठाकोठा चहार्न थालेँ । सिङ्गो नेपाल नै रहेछ, भूगोलका हिसाबले । ७२ वर्षका बाजे १० वर्षकी बच्चीलाई बलात्कार गरेको अभियोगमा । लागूपदार्थ दुव्र्यसन, बेचबिखन, झै-झगडा, चोरी, ठगी, कर्तव्यज्यान कति प्रकारका अभियुक्तहरू ! जसलाई सोधे पनि 'म फसाइएँ' भन्ने प्रत्युत्तर । लाग्यो, हाकाहाकी अभियुक्त हो भनी सकार्ने त हामी तीन मात्र रहेछौँ त्यहाँ ।
उमेरमा मभन्दा केही कलिला थिए । कृत्रिम मुस्कानले पीडालाई ढाकछोप गर्ने दुष्प्रयास गरेको ठम्याइहालँे । "के हो अभियोग ?" उनले भने, "बम बोकेको ।" फेरि सोधेँ, "कति दिन भयो ?" उत्तर आयो, "९० दिन पट्टी कार्यालयमा । यहाँ आएको ५० दिन भयो ।" पट्टी कार्यालयको अर्थ प्रस्ट्याउँदै भने, "कालोपट्टीले पूर्ण रूपमा बाँधिएको हिरासत ।" पेसाले ट्याक्सीचालक । बाँच्ने झिनो चाहना । माओवादी समूहसँगको आफ्नो आबद्धतालाई स्वीकार्ने अन्य तीनले पनि बताए, "तिनी विशुद्ध श्रमिक हुन् ।" न्यायालयमा प्रतिवाद गर्ने मेरो सुझावलाई उनले फिस्स हाँसेर उडाए, "अदालतमा लाटो बन्नु भनेका छन् ।" बाहिर निस्के 'माथि' पठाइदिन्छन् रे ! मैले जेनेभाको कसम सम्झेँ, प्रजातन्त्रको थोत्रो रटान सम्झेँ । मनमनै गुनेँ, वाह मानवअधिकार ! वाह, कानुनको शासन !
एउटा मित्र बडो मिहिनेतसाथ खैनी माड्दै थिए । मैले सोधिहालेँ, "यार पराग छ ?" उनले सोधे, "पैसा छ ? एक प्याकेट परागको ५० रुपियाँ, एक सर्को चुरोट तानेको १० रुपियाँ । सिङ्गै चाहिएमा ५० रुपियाँ," आँखा झिम्क्याउँदै भने, "माल पनि पाइन्छ यार !" मोल बढी भएको मेरो गुनासोमा उनले भने, "नत्र किन मरिहत्ते गर्थें खोर रुँगेर बस्न ।" ५० रुपियाँको पराग पनि खाइयो ।