Posted by: newuser June 13, 2005
Question of interference : Lok Raj Baral
Login in to Rate this Post:     0       ?        
एक महिना सरकारी पाहुना बन्दा अन्ततः माघ १९ गते बिहानैदेखि बन्दुक बोक्नेहरूसँग मेरो लुकामारी प्रारम्भ भयो । प्रजातन्त्रको मलामी जाने र शोकगीत सुनेर मौन रहने कित्ताभन्दा बाहिर थिएँ म, त्यसैले त १९ गते मसँग कठोर रूपमा प्रस्तुत भएको थियो । धेरै भगायो, खोज्दै हिँड्ने आदेशपालकहरूलाई मैले पनि धेरै थकाएँ । आखिर वैशाख १२ गते मसँगको लुकामारीको रमाइलो खेललाई सिर्जनात्मक राजतन्त्रको क्रान्तिकारी बर्दीधारीहरूले रातको करिब तीन बजेतिर भए पनि बिट मारे । सिकारी राज्यले डकैती शैलीमा आश्रयदाता सन्देश अधिकारीको लैनचौरस्थित घरबाट उनी र मसहित सँगै मस्त निद्रामा रहेका विद्यार्थी नेता सुबोध आचार्यलाई कब्जामा लियो । अनि सोह्रखुट्टेको प्रहरी कार्यालयबाट सुरु भयो, यस भीरु सत्ताको सरकारी पाहुनाको रूपमा एक मास लामो यात्रा । सोह्रखुट्टेको अतिथिगृहमा महिला थुनुवा कोठाले मलाई बास दियो । जमिनको सतहमुनिको एउटा अँध्यारो कोठा ! घामका किरणहरूले कहिलेकाहीँ जिस्क्याएझैँ गर्थे । मेरो प्रविष्टसँगै उडुस र जुम्राहरूको सहृदयता चुलिएको महसुस गरिहालेँ । भैँसी पौडी खेल्ने आहालजस्तै पानी जमेको थियो । छिमेकको थुनुवा कोठाबाट मैले नगरेको प्रश्नको जवाफ फर्काउँदै एक मित्रले भनिहाले, "अघिल्लो रात त्यो सुन्दर खोपीमा १६ जना परीहरूले रात बिताएका थिए ।" दिनमा एकपटक मात्र शौचालय जान पाइने विचित्रको नियम, अनि कोठाको कुनामा रहेको 'बाल्टिन ट्वाइलेट' भरिएर छताछुल्ल भएको रहेछ । राज्यले लगाएको आरोप थियो, मध्यरातमा राजइच्छाको बर्खिलाप गतिविधि गरिरहेको र सजाय थियो, त्यो कालो कोठामा एकल बास, 'बाल्टिन ट्वाइलेट', सेन्सर्ड प्रेसका प्रकाशनमाथि फेरि सेन्सर, स्वजनहरूसँगको भलाकुसारीमाथि प्रतिबन्ध यस्तै-यस्तै । केही स्मरणयोग्य अनुभव छ, सोह्रखुट्टे चौकी बसाइको । एउटा परिचित अनुहार देखेँ । उसले ठम्याउने चुनौती दियो । थोरै प्रयासपश्चात् आफ्नो स्मरणशक्तिप्रति आत्मप्रशंसित हँुदै मैले भनेँ, "तपाईं फोटो पत्रकार हुनुहुन्छ ।" मुस्कुराउँदै उनले सहमति जनाए । तर, फेरि भने, "म फोटो पत्रकार भने होइन, म त फोटो कर्मचारी हो ।" झसङ्ग भएँ । सोचेँ, "कति छन् होला यस्ता कर्मचारीहरू, कुन-कुन भेषमा होलान् !" छेवैको कोठामा केही दुव्र्यसनीहरू थिए । अभियोग थियो, प्रतिबन्धित पदार्थको सेवन । राज्यबाट अपेक्ष्ाित दायित्व थियो, कुलत परित्याग गर्न दबाब दिने । तर, कस्तो विडम्बना ! ती मित्रहरूले त्यहीँभित्र तिनकै भाषामा 'ट्याब' र 'माल' सहज ढङ्गले प्राप्त गरिरहेका थिए, तैँ चुप, मै चुप । अभियोग थियो झै-झगडा । उनको सोह्रखुट्टे बासको एघारौँ दिन । तर, कुनै पुर्जी पाएका थिएनन् । केही समय खोतलेपछि उनले भने ३० मागेका छन्, मैले १० भन्दा मानेकै छैन । कसले, किन मैले सोध्न चाहिनँ ।
Read Full Discussion Thread for this article