Posted by: Ok June 12, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/Nepal/afailaishodera.php कुरो दरबारको, बोली सुलसुलेको "रत्नपार्कमा आन्दोलन गरेर निकास निस्किँदैन ।" पाठकवृन्द, समकालीन राजनीतिक प्रवृत्तिका दृष्टिले माथि उद्धृत कथन कुन कित्ताका जिवात्को हुनसक्ला ? दरबारद्वारा पोषित शिवसेनाका बर्दीविहीन कुनै सैनिकको ? दरबारको आशीर्वादप्राप्त मुस्कान सेनाका कुनै सदस्यको ? राप्रपा लावती गुटको कुनै दरबारभक्त लडाकाको ? उग्र हिन्दूवादी भरतकेशर सिंहको ? शाही सरकारका अति अनुदार ताबेदार श्री टी गिरी वा टङ्क ढकालको ? वा कुनै शाही जरसाहेपको ? वास्तवमा यो यीमध्ये कसैको पनि कथन होइन । यो कथन हो श्री केपी शर्मा ओलीको । उनै ओलीको, जो आफू नेकपा एमालेका द्वितीय पुरुष भनिन रुचाउँछन् । उनै ओलीको, जो एमाले पङ्क्तिमा सुलसुले भनेर चिनिन्छन् । स्वार्थका दृष्टिले यो कथन दरबारको हो, बोल्ने मुख हो केपी शर्मा ओलीको । यहाँ बोल्ने पात्र र उसको अवस्थितिबीच चर्को विरोधाभास छ । बोलीका दृष्टिले अस्ति नै शिवसेना वा मुस्कान सेनामा भर्ती भइसक्नुपर्ने यी ओली कसरी एमालेमै रहिरहेका होलान् ? म जनवादी हुँ भन्ने एमालेले उनलाई यसरी बकबक गर्ने छुट दिएको देख्दा ताज्जुब लाग्छ । बास छ एमालेमा, नित्य चाकरी छ दरबारको । यो असम्भव कुरा एमालेमा कसरी सम्भव भएको होला ? लोकतन्त्र फर्काउने आन्दोलनमा एमाले आपै?m रत्नपार्कमा हाजिर छ । यी ओली कहाँका को हुन्, जो एमालेको आन्दोलनको प्रासङ्गिकतामाथि नै प्रश्न उठाइरहेका छन् । र, सोको उपहास गरिरहेका छन् । शाही सत्ताले संवादका सबै द्वार बन्द गरेको छ । र, यो सत्ता बहुदलीय प्रणाली र पात्रको बीउधरी मास्ने हेतुले प्रतिशोधकारी क्रीडामा कटिबद्ध छ । कि दरबारका द्वारसामु लम्पसार परेर आत्मसमर्पण कि त एकताबद्ध र बृहत्तर जनआन्दोलन, लोकतन्त्रवादीहरूका लागि आस्थाको रक्षा र सम्वर्द्धन गर्ने यसबाहेक अर्को विकल्प छैन । श्री ओलीबाबुका लागि ? उनको थोत्रो कथन भन्छ, आन्दोलन त्यागौँ, चार पाउ टेकौँ र आत्मसमर्पणको झुत्रे झन्डा बोकौँ । यो ओलीबाबुको पुरानै पथ हो । निकट अतीतको इतिहासको स्मरण गरौँ । शाही असोजतन्त्र सुरु भयो । अनि लोकतन्त्रमाथि एकतन्त्रको तरबार बजि्रयो । दलहरू कन्दै र काखी कन्याउँदै भए पनि सुस्त गतिमा सडकमा ओर्लिए । तिनताक यी सुलसुले ओली के गर्दैथिए ? थाहा छ, यिनी महासामन्तको मुद्रामा आप\mनो पहिलो कैलाशकुट भवन बनाउन व्यस्त थिए । भवनको तेस्रो तलाको कौसीमा बसेर सुस्वादु काजु खाँदै यिनले ऊबेला पनि यसै भनेका थिए, "रत्नपार्कमा आन्दोलन गरेर निकास निस्किँदैन ।" नवनिर्मित कैलाशकुट भवनका स्वामीलाई स्वतन्त्रतापे्रमी नागरिकको प्रश्न छ, श्रीमान्, उसोभए घुँडा टेकेर निकास निस्किन्छ त ? ओली महोदयलाई उत्तर दिन फुर्सद छैन । कौसीबाट दरबारको गजुर हेर्दै उनी भुटेका काजु कुटुकुटु खाई नै रहेका छन् । क्रमश:
Read Full Discussion Thread for this article