Posted by: Nepe June 1, 2005
What a weekend with Poonte
Login in to Rate this Post:     0       ?        
साझाका एक वाचाल लेखक र केही मौन पाठकहरु समेतसंगको न्यूयोर्कको गएको सप्ताहान्त एक अविस्मरणिय सम्झना र शायद कुनै कठीनसदृश यात्राको सहजीकरण र विस्तृतिकरण समेत रह्यो मेरा लागि । काव्य, दर्शन, राजनीति र आत्मकथा- त्यो पनि ठट्टा र गम्भिरताका दुवैका दोभान पुन्टेजी र उनलाई लिटररी खर्लप्पै निलिदिने भाउजुको लेजेन्डरी आतिथ्य, स्वादिष्ट व्यञ्जन, रूचि अनुसारको पेय, सुरुचिसम्पन्न बन्धुबान्धवको जमघट, बेहद ठट्यौली र अनवरत हाँसोको फोहोरा बिच । त्यसको धङधङी अझै यसरी बाँकी छ, छुट्टिएको आभासै हुँदैन । वास्तवमा छुट्टिन यति कठीन थियो, एक रात अझै थपियो मेरो यात्रा योजनामा । भर्सेलामा जाओस् मलाई ल्याबमा पर्खिरहेका एक्स्पेरिमेन्टहरु, तर यो जमघट, यो माहौल, आत्मोदघाटनका यी आत्मिय क्षणहरुको मोह अहँ संवरण गर्न सक्तिन म । अनि रोकिएँ म एक रात अरु । तर पहिले पहिलो साँझको पहिलो कार्यक्रम, "मालती मङ्गले" । हाम्रा राष्ट्रवादी कविवर माधव घिमिरेको यो सामन्तवादी, भाग्यवादी दु:खान्त नाटक हेर्ने कुरा त एक बहाना थियो, नेपाली नाट्यकला र कलाकारहरुलाई सशरिर निकट दर्शन गर्ने । गरियो । नाटकलाई एक पूर्वकलाकारको आँखाले शायद मैले भिन्दै हेरें । मलाई छुने एउटै कुरो रह्यो । नायिका लक्ष्मी श्रेष्ठको अभिनय । अरुले खै के हेरे, के देखे, मैले त उनलाई नाटकभरि 'ट्रान्स' को स्थितिमा अभिनय गरिरहेको देखें । त्यो साँघुरो मञ्च, ती लिलिपुट आकारका सेटहरुले उनको अभिनयलाई अलिकति पनि स्वसचेततामा झारेन । अरुहरु सचेत थिए । नाटक पछि लक्ष्मीसंग भेट भयो । भनिन्, "चिनें, तर अलि मोटाएछौ" । मोटाईको कुरै छाडौं । मभन्दा अग्ला अग्ला दुई सुकुमार छोराका बिचमा उभिएकी लक्ष्मीलाई जमाना अघि जस्तैको पाएँ । उनिसंग मेरो निकटतम संसर्ग भनेको १७-१८ वर्ष काठमाडौमा "रोमियो जुलियट" को रिहर्सल र मञ्चन हुँदा हो । उनिले "जुलियट" को भूमिकामा र मैले चाहिं उनलाई "रोमियो" सित बिहे गराईदिने पादरीको भूमिकामा अभिनय गरेका थियौं, त्यस नाटकमा । contd
Read Full Discussion Thread for this article