Posted by: Ok May 15, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
पण्डित पोखरेलका नाउामा मेरो मनमा चोटैचोटको लाम छ । यी नागरिकहरूको हत्याबाट बनेका चोट हुन् । हत्या निहत्था माओवादीको होस् वा निहत्था सैनिकको, निहत्था सुराकीको होस् वा निहत्था जासुसको, त्यो सधैँ नै एउटा मर्मान्त चोट भएर आउँछ । अनि त्यो झीरझैँ मनको कोमल पत्रमा झ्वाम्मै गाडिन्छ । चोटको यस शृङ्खलामा भर्खरै अर्को नयाँ चोट थपियो । यो पण्डित नारायणप्रसाद पोखरेलको हत्याले बनाएको चोट हो । अपराह्नको एउटा पीतपत्रमा समाचार पढेँ । पत्यार लागेन । अथवा भनुँ, यी पण्डितप्रतिको अनुरागले मलाई पत्याउन दिएन । तर, क्रूर यथार्थसामु मेरो आशा जलेर त्यसै खरानी भयो । हत्याको खबर सदर भयो र म हतप्रभ भएँ । सञ्चारमाध्यमहरूमा बगेको संवेदनाको बाढीले बहकिएर म हतप्रभ भएको होइन । यी पण्डितसँग मेरो नाता थियो । त्यस नातामा आपसी अनुरागको अंश थियो । जब पण्डित मारिए, मलाई आपनै जीवनको एक अंशको हत्या हुँदाको पीडाको अनुभूति भयो । सम्झन्छु, डेढ वर्षअघि मलाई एक दिन यी पण्डितको फोन आएथ्यो । त्यो अनपेक्षित थियो । फोनमा तिनले भने, "मलाई कुन्साङ काकाको दर्शन गर्न मन छ । काकाबाट यति कृपा होला ?" यिनको यस आग्रहमा चापलुसीको पुट होला कि आदरभाव ? वा यिनको सनातन शैली नै पो यस्तै होला कि ? मनमा तर्कनाहरू खेले । जेहोस्, पण्डित पोखरेल पनि मेरा पाठक रहेछन् । म खुसी भएँ । तर, मलाई भेट्न मन लागेन । पण्डितजीबारे सुनेका कुराहरू उनिएर मेरो मानसमा उनको व्यक्तित्वको विरोधाभाषी विम्ब बनेको थियो । एउटा समाजसेवी, अर्को आडम्बरी । उनका आलोचकहरू भन्थे, "समाजसुधारको आवरणभित्र उनी आडम्बरको खेल खेल्छन् । सम्मोहनकारी वाचन, गायन र अभिनयको माध्यमले भक्त-भक्तिनीहरूलाई पगालेर उनी रकम धुत्छन् र राशलीला गर्छन् । दानको नाउँमा उल्क्याएर उनले कतिलाई त नाङ्गै बनाएका पनि छन् ।" मैले टाढाबाट सुनेका कुरा यिनै थिए । तर, व्यक्तित्वको अर्को पाटोमा भने उनी मलाई चमत्कारी लाग्थे । पहिलो फोन संवादमा व्यस्त छु भन्ने निहुँ बनाएर म पन्छिएँ । भेट्नलाई साझा कुरा के नै पो होला र भन्ने मलाई लाग्यो । तर, उनी रहेछन् अथक साधक । महिनैपिच्छे उनको फोन आई नै रह्यो । फोनमा उनी उही कुरो भन्थे, म उही कुरो भनेर तर्किन्थेँ । सुन्दरीजलमा बीपी कारागारलाई बीपी सङ्ग्रहालय घोषित गर्ने भेला थियो । त्यहाँ यी पण्डितसँग मेरो भेट भयो । उनले भाषण गर्दै भने, "सङ्ग्रहालयको शिर उठाउन म आपनो वाचनकला अर्पण गर्ने मौका पाऊँ ।" उनको त्यो छोटो भाषणले ममा गहिरो छाप पार्?यो । बान्की परेको कान्तिमय प्रसन्न अनुहार, शब्द छनोटमा विलक्षण चातुर्य, शब्दको लहरभित्र मनोविनोदी झङ्कार र माधुर्ययुक्त स्वर । ती सबै तत्त्वको योगले उनको भाषणमा सम्मोहनको पाइन् भरिएको मैले पाएँ । उनको कलेवरमा मैले एउटा सानो रजनीश देखेँ । अनि त्यस क्षणले हामी दुईलाई नजिक ल्याइदियो । क्रमशः
Read Full Discussion Thread for this article