Posted by: Ok May 10, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
"ल हिड्नुस् ओम दाई पढ्ने कोठामा" भन्दै मञ्जु माथ्लो तलामा उक्लिन्। म पनि पछि पछि लागेँ। "अर्काको घरको तलामा चढ्नु हुँदैन" भनेर आमाले 'सानो छँदा खेल्ने सुरमा साँईला बढाउको घरको तलामा चढ्दा सिस्नु र पानीले पिटको सम्झँदा' अलि अलि त डर पनि लाग्यो। तलाको एकातिर को भागमा चाहिँ भकारी नै भकारी राखेका रहेछन्, अर्को तिर चाहिँ ३ बटा कोठा बनाएको रहेछ। मञ्जुले १/१ गर्दै सबै बताईन् "यो मेरो कोठा, यो बुबा-ममीको कोठा, यो चाहिँ पाउना आउँदा सुत्ने कोठा"। काठका फल्याकको छिद्रबाट एक कोठाको आबाज चाहिँ अर्को कोठामा सजिलै जाने, तर देख्न चाहिँ नदेखिने। तिनबटै कोठामा १/१ बटा खाट पनि रहेछन्, ओढ्ने ओछ्याउने सहित मिलाएर राखेको। 'ल आउनुस् मेरो कोठामा' भनेर उनको कोठामा लागिन्। किताब राख्ने एउटा सानो दराज, खाटैमा बसेर पढ्न मिल्ने एउटा सानो काठको टेबल पनि रहेछ। कुर्सि चाहिँ रहेनछ। उनि गएर भित्तामा अडेस् लागेर खाटमा बसिन्। मलाई चाहिँ असजिलो लागि रहेको थियो, ढोकाकै छेउमा उभि रहेँ। "बस्नुस् न के उभीरनु भा?" मञ्जु खाटको एकतिर छेउमा सरिन् र मलाई ठाउँ खालि गरिन् खाटको अर्को छेउमा। म पनि उनले ठीक पारिदिएको ठाउँमा गएर सरक्क बसेँ। आफुलाई मेरो जिउको फोहोर खाटमा लाग्ला भन्ने कति पीर थियो। "ल अब पढौँ" भनेर मञ्जु चाहिँ किताब हेर्न थालिन्। म त के पढ्नु, किताब नै थिएनन्। यसो दिउँसो सरले पढाउँदा कपीमा टिपेको कुरा हेर्न थालेँ। "दाई, तपाईँ किताब कहिलै पढ्नु हुन्न?" मञ्जुले मेरो ध्यान नै भङ्ग गर्दिन्। "पढ्छु नि, किन नपढ्नु?" मेरो सिधा उत्तर थियो। "खै त तपाईँका किताब?" मेरो झोलातिर हेर्दै मञ्जुले सोधिन्। "आज म नलिकनै आको।" "तपाईँ ढाँट, छुच्चो! कस्तो ढँटुवा तपाईँ त! तपाईँका किताब नै छैनन्, हैन भन्नु त?" मञ्जुले मेरो मुखमा हेर्दै रिसाएको पारामा भनिन्। आँखा पनि छिटो छिटो चलाईन्। "कल्ले भनो तिमीलाई" मेरो मुख रातो हुन थालिसकेको थियो। "ताराले"। म त रातो पीरो भैसकेँ। मनमनैँ सोचेँ 'यो तारा त कस्ति छुचि केटी। सप्पै कुरा पो भनिछे। केहि कुरा पनि मनमा राख्न नसक्ने। पख न भोलि स्कुलमा भेट मात्रै त होस्, तँलाई त म...."। निकैबेर हामी बोलेनौँ, पुरै सन्नाटा छायो कोठामा। "मञ्जु, मलाई किन आज यहाँ बोलाको? खोई सरले पनि केहि भन्नु भएन त?" मैले सन्नाटालाई चिर्दै कुरा मोडेँ। "क्या, ओम दाई, अब तपाईँ सँधै हाम्रै घरमा बस्ने।" मञ्जुले फेरी लाडेपाराले भनिन्। उनको अनुहार खुशिले धपक्क बल्यो। हाँस्दा गालाको बिचमा सानो खाल्डो परो। शिर नै उज्यालो भएर आयो। कति खुशि थिईन् मञ्जु त्यसबेला !, मञ्जुको त्यससबेलाको अनुहार आज १८ बर्ष पछि पनि ताजै छ। "सधैँ...." मैले अचम्म मानेर सोधेँ। "ल भन्नुस् न ओम दाई, प्लिज ल भन्नुस् न। ओम दाई ल भन्नुस् न।" उनको बिनम्रताको मात्रा झन् बढ्दै गयो "भरे बुबा ममीले सोध्दा पनि हुन्छ भन्नुस् है!"। साझाल्यान्ड, २७ बैशाख, २०६२
Read Full Discussion Thread for this article