Posted by: Ok May 3, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
दादा, सरु, कालो भाले, निर्माण, नेपे, न्युयुजर, रुईना, मानव, दीप, पुण्टे, पण्डित, स्वाति थापा, चिप्लेढुंगा,फरगेट-मि-नट, वल्डम्याप, हर्केदाई, ह्यान्सिगाई सबै साथिहरुलाई मेरो १/१ मुरी धन्यबाद । यहाँहरुका हौसलाहरु नै मेरो लागि अमुल्य सम्पति हुन् र मेरो कथाको निरन्तरताका स्रोतहरु पनि। समयको चापलाई पनि ख्याल राख्दै सकेसम्म छिट्छिटो बाँड्ने कोशिष गर्नेछु।-ओके मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड ८ पुसको अन्तिम हप्ता एक पटक फेरी हर्रबोटे साईँलासंग कटारी गएँ, नुनतेल लिन। राईको छोरो, मान्छे त बलियो हो गाँठे, १४ पसेरी नुन र १ टिन तेल बोकेर ठईँ ठईँ हिड्न सक्छ, टेकुवा नै नलाई एक बिसौनी जति त। "सबै साथीभाई लाहुरे छन् मेरो मात्र, के भन्छ नि बाजे, यो होचो भो भनेर पल्टनमा फालिदिए। म अभागि रैछ, यी भारी बोक्नु जुर्या रैछ, के लाउरे हुन पाओस्" बनेर आफ्नै मुख नाप्छ, भारीलाई टेकन लाएर टोपीले पसिना पुछ्दै। "बाजेको त जनै भिरी सक्या रे, भान्सा चाँही बेग्लै गरम्, बाहुनको छोरा, मलाई पाप लाग्छ होउ" भनेर सँगै खान नै दिएन, मैले "कसैले देख्दैन, संगै खादा के हुन्छ त?" भनेर सँगै खाने कुरा गर्दा। "यो बाहुनको त यत्रो सानो त छ खुट्टी, के भारी बोकोस् बिचारा" भनेर कहिले काहिँ त माया गर्छ, बाटोमा पनि मेरा पिँडुला हेर्दै। भिरको बाटो चारहात खुट्टा टेकेर बोक्नु पर्छ भारी। घर पुग्ने दिन बिहान एक ठाउँमा ठेस लागेर मेरो दाईने खुट्टाको बुढि औँलाको नङ नै उक्कियो, भलभल रगत गयो। भारी बिसाउने ठाँउ पनि थिएन। जसो तसो नजीकैको बिसौनिमा भारी बिसायौँ। शुरुमा त भारीको रन्कामा तेति दुखेको थाहा पाईन, भारी बिसाए पछि पो दुख्न थालो मर्ने गरी। साईँला ले नजिकै गएर तितेपाति निचोरेर घाउमा लाई दियो। मेरो पटुकाको छेउ च्यातेर बाँधि दियो। धेरै रगत बगेछ क्यारे, हल्का ज्वरो पनि आयो मलाई। तर पनि के गर्नु, भारी बोकेर नहिँडि धरै छैन । "खै लेउ, त्यो तिम्रो तेल चाहिँ म एकछिन बोक्दिन्छ" भनेर सगायो पनि २।३ बिसौना जति त। जे होस्, म घरसम्म पुगुन्जेल राम्रै हेरचाह गर्यो। मेरो घरमा एकछिन भारी बिसार आमालाई "ल कान्छि बाहुनी, छोरालाई सकुसल ल्याईदेको छ है मैले त" भनेर १ बटुको मोई खायो, आमाले दिएको। म त खुट्टा दुखेर हलचल गर्न पनि नसक्ने भको थिएँ। टाउको अरर्रिएर दायाँ बायाँ हेर्न पनि सक्तिनथेँ, सिधै अगाडि मात्र हेर्न सक्थेँ। साईँलाले त साहुको लागि सामान ल्याई दिएको रहेछ, नरबहादुर साहुको घरतिर उकालो लाग्यो, भारी बोकेर। उस्को बाउले भैँसी किन्दा नरबहादुरसँग रीन लिएको थियो रे ४०० रुपियाँ। बुढा रीन नै नतिरी परलोक गएछन् । तेसैको ब्याजस्वरुप बर्षको १ पटक कटारीबाट नुनतेल ल्याइदिने गरेको रे। यसोतेसो गर्दा गर्दै यसपालीको जाडो बिदा पनि सकियो। ताराले पनि शिबदुती प्रा.बि.बाट ५ कक्षा दोस्रा भर सकिछ। अब ऊ पनि रामपुर जाने पढ्न भन्छे। उस्का बाउआमा चाहिँ "अब कस्ले पढाउने यस्लाई? ५ कक्षा सम्म पढिहाली, क ख चिनिहाली, अस्ति त कलकत्ता लाहुर गको छोराले पढाको चिठ्ठी कस्तो पटट्ट पढी, अब त केहि बर्ष पछि बिहे गरेर पठाउनु पर्छ" भन्छन्। मसँग रुन खोज्छे बिचरी। "दाजु, बाउआमालाई सम्झाई देउ न, म पनि तिमीसँगै रामपुर पढ्न जाने के" भनेर मसँग गनगन गर्छे। हाउभाउ पनि कति आउछन् तेस्लाई। रोए झै गरि हाल्छे एकैछिन् मा। "हिउँदभरी घरबाटै जान्छु, बर्खामा रामपुरमा काईँली फूपुकोमा बस्छु" भनेर योजना पनि मलाई सुनाई। मैले पनि बरडाँडे बडाउ बडेमालाई खुब फकाएँ, "तारा राम्रो पढ्छे, रामपुर पठाउनु पढ्न" भनेर। "बाटामा कस्ता कस्ता मान्छे हिड्छन्, छोरीलाई काहा यति टाढा स्कुल पठाउने" भनेर साताले खाए मलाई पनि शुरुमा त। तर पनि "मसँगै जान्छे, म सँगै आउँछे" भनेपछि "ल जे गर्छस् गर ओमे तैँ" भनेर बल्ल बल्ल माने। ताराको भुईँमा खुट्टा थिएनन् खुशिले। क्रमशः
Read Full Discussion Thread for this article