Posted by: Ok May 1, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
समयाभाबले सबै साथिहरुको जीज्ञासाको प्रतिउत्तर दिन नसकेकोमा "सरी" भन्दै,अर्को भागः मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड ७ यसपालीको दशैंमा पानी परेन। गएको साल त हिले दशैं भर कस्तो कन्तबिजोक भा थियो। खोला पनि घट्दै गए। मलाई भने दशैंको रमाईलो भन्दा पनि छिट्टै झरी नपरे स्कुल जान पाईने आस थियो। फेरी दशैँपछि पनि पानी परेर खोला बढ्ने हुन कि भन्ने डर पनि थियो, कता कता। खै सरहरुले तेत्रो दिन गएल हुँदा के भन्ने हुन फेरी, भन्ने चिन्ता पनि एकातिर छँदै थियो। दशैं पनि ठीकठीकै भो। हजुरआमाको हातको टिका थाप्न धेरै नातेदारहरु हाम्रै घरमा आए। हजुरआमा हाम्रै घरमा बस्नु हुने भर दशैंमा पाउनालाई दिने पैसा र खानाको खर्च चाहिँ ५ जना बुबाका सन्तानहरु मिलेर सबैले बराबरी बेहोर्थे। ४ जना बढाउहरु मात्र जीबित हुनुहुन्थो। हुन त मेरो बुबा खाल ६ जना रे। जेठा बढाउ पहिले नै बित्नु भा रे, बिहे नै नगरी। कुनै पनि सन्तान नभकाले उहाँको काजक्रिया गरेर बाँकि सम्पति सबै भाईलाई बराबरी बाँडेको रे। दशैँ आयो र गयो पनि सधैँको जसरी। दशैँको पुर्णिमाको भोलिपल्ट म स्कुल हिँडे। "खै माथिबाट हेर्दा त सानै देखिन्छन्, तर्न सकिने हो को हैन यी खोलाहरु फेरी" बिहान ६.३० बजे तिरै बाटो लागेँ। आमाले "खोलो तर्दा अलिक होस् गर, नसक्ने जस्तो लागो भने बल नगर। ला यो प्लास्टिक पनि लैजा, किताब-कपी यो भित्र हाल र राम्ररी बाँध, नत्र त खोलो तर्दा भिज्न सक्छ" भनेर एउटा बर्खामा घाँस काट्न बन जाँदा ओढ्ने प्लास्टिक दिनु भो। ओरालो बाटो, हरर तल मोलुङ खोलामा पुगेँ। खोलो त ठूलै रहेछ, मलाई त खुट्टा टेकेर तर्ने हो भने त डुबाउला जस्तो। तर मुल्को चाहिँ दरो जस्तो लागेन। मेरा सबै सामानहरु गुटुमुटु पारेर आमाले दिएको प्लास्टिकमा हालेँ। गञ्जी र कट्टु पनि खोलेर प्लास्टिक भित्र नै राखेँ। "त्यो एकान्त ठाँउमा कस्ले पो देख्ला र? फेरी अहिले चिसो कट्टु लाउनु भन्दा त नाङ्गै पौडीनु बेश" भनेर कट्टु सम्म पनि लगाईन। सबै सामानलाई पानी नपस्ने गरि बाधेर टाउकोमा कसी पौडेर खोलो पार गरेँ। अर्को पट्टिको किनारामा त निकै तल पो पुर्यायो, छालले हुत्याएर। झण्डै छाँगो नखसाको! करीब १५ दिन जति पौडेर वारी र पारी गर्नु अनि कपडा लगाएर स्कुल र घर गर्नु मेरो दैनिकी नै बन्यो। घनश्याम सर, हेडसर र १/२ जना अति मिल्ने साथिहरुले बाहेक कसैले पनि "किन स्कुल नआको?" भनेर सोधेन । सोध्नेजति सबैलाई मैले घरमा काम पर्यो, अनि आउन पाईन भनेर ढाँटे। आखिर रामपुरमा कसैले पनि केहि सहयोग गर्छन् भन्ने लागेन, त्यसैले आफ्नो दुखःका सबैकुरा के सबैलाई सुनाउदै हिड्नु भन्ने लागो। बेकारमा खिसी गर्छन् र हेप्छन् मात्र। आमाले कहिले काहीँ भन्नु हुन्थ्यो "सबै मानिस उस्तै हुन्नन्। सकेसम्म आफ्नो कथा आफूसंगै राख्नु बेस, सबैलाई सुनाउँदै हिड्नु हुन्न। बैरीले आफ्नो कमजोरीको गलत फाईदा लिन सक्छन्, हाम्रो दरिद्रतामा खिसी गर्न सक्छन्। बाहिरबाट सहानुभुतिको नाटक गर्नेहरु र मुखमा बनावटी मायाका शब्दहरु ओकल्नेहरु त कयौँ छन् यहाँ तर बास्तबिकतालाई आत्मसाथ गर्नेहरु र साँच्चै सह्रदयी सहयोगीहरु त हातका औंलामा गन्न सक्ने मात्र हुन्छन्"। सायद यो साझामा पनि मेरो बिगतलाई बास्तबिक परिचयको माद्यामबाट लेख्नु पर्ने हो भने मेरो यो कथा पनि यहाँ पस्कने दुश्साहस गर्ने थिईन होला। मलाई लाग्छ यो साझामा पनि मलाई ब्यक्तिगत रुपले चिन्ने १०।१५ जना त अबश्यै छन्। अहिले सम्म गुपचुप नै राखेको मेरो ईतिहाँस सर्बाङ्ग रुपले नाङ्गो बनाउदा उनिहरुका नजरमा मेरो चित्रण नै फेरिन सक्छ। सके त्यसपछि म प्रतिको दृष्टिकोण नै परिबर्तन हुन के बेर? मंसिरमा बार्षिक परीक्षा पनि आयो। परीक्षा पनि राम्रै भो । सबै मिलाउन त सकिएन तर पनि धेरै पनि बिग्रिएन, आफ्नु बिचारमा। बेलुका ११ बजे सम्म टुकि पालेर पढ्थेँ, परीक्षाको तयारी गर्थेँ । गत बर्ष आमाले ल्याएको मट्टितेल तर्याकतुरुक बाँकि नै थियो । "यस पालीबाट त म नै कटारी (उदयपुर जिल्ला अन्तरगत भित्री मधेसको बजार, जहाँबाट सामान सिन्धुली, ओखल्ढुङ्गा, सोलुखुम्बु र खोटांग जिल्लामा भरियाले ढुबानी गर्छन्) जान्छु नुनतेल लिन, कति आमालाई मात्र दुःख दिनु" भन्ने सोचेँ । कमसेकम ३ पसेरी (१५ किलो) नुन र १ चौथाई मट्टितेल (१ टिनको ४ भागको १ भाग) ल्याएँ भने पनि त केहि समयसम्म त गर्जो टार्न सकिन्छ। कटारी जान मात्र रित्तै हिड्दा २ दिन लाग्छ, भारी बोकेर हिड्दा त ४ दिनमा पनि मुस्किल। १ पटकलाई १ हप्ता लाग्ने । यसपालीको बार्षिक परीक्षा पछि र माघमा पढाई शुरु हुनु अघि २ पटक जति कटारी जाने बिचार गरेँ। "पौष १४ गतेको रीजल्ट अघि १ पटक र रिजल्ट पछि १ पटक जानु पर्ला" भन्ने सोचाई बनाएँ । फेरी कोहि साथि पनि त मिल्नु परो नि भने जस्तो संगै जाने । "राति खोलाहरूको बगरमा बालुबा माथी सुत्नु पर्छ। खाना पनि संगै खाने, बिरामी परेर बिच्चा परे यसो दर्बिलो साथी भए जानु" भन्नु भो आमाले पनि । मेरो आफ्नै मामाको छोरा भाने दाईसँगै जाने कुरा मिलो, १ पटकलाई। पल्लाघरे धने दाईसंग १०० रुपियाँ सापट मागि दिनु भो आमाले नुनतेल किन्न, पछि हिँउदमा आलु ओखल्ढुङ्गा हाटमा लगेर बेचे पछि साउँ ब्याज फिर्ता दिने गरी। कटारीमा शुक्रबारे हाट भेट्ने गरी २४ गते मंगलबार बिहान नै हामी बाटो लागिउँ र सञ्च सुबिस्ताले नै घर पनि फर्किउँ, सोमबार बिहान। हुन त त्यसपछि एस.एल.सी. पास गर्दासम्म बर्षको ३ पटक जति कटारी गएर नुनतेल ल्याउथेँ। ढाकर बोक्दा नाम्लोले टाउकामा बसेको डाम 2001 मा थाई एयरवेजको बिमान चढ्न लाग्दा सम्म छामेको याद छ। तर अहिले त खै जति छामे पनि भेट्दै भेट्दिन! क्रमशः
Read Full Discussion Thread for this article