Posted by: Ok April 28, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड ६ कटुञ्जे सानिमाको घर । बिहानको सम्साँझै बिउझिएँछु । झ्याल खोलेर बाहिर हेरेँ, सबै तिर चकमन्न छ । कता कता कुखुरा बासेको सुनिन्थ्यो । पूर्व हेरेँ, शुक्र भर्खर झुल्केका रहेछन् । फेरि ओछ्यानमै पल्टेर सोचिरहेँ "यो संसार नै यस्तै हो। सबैले आफ्नो मात्र भलो हेर्ने त हुन नि। सायद हाम्रो घरमा धेरै सामान भको भए, हप्तै पिच्छे २/३ माना घ्यु लिएर आउन पाएको भए, सानाबाले मलाई बस्न दिन्थे होलान्। सानाबाको परिबार पनि हुनेखाने नै हो। जाबो मलाई २ महिना राख्दा त उनको केहि पनि घट्दैनथ्यो नि ।" फेरी आमाले भनेको सम्झे "धनिलाई धन प्यारो, गरीबलाई मन प्यारो"। "हामीसंग पैसा भईदिएको भए, रामपुरमै एउटा कोठा खोजेर मज्जाले बस्न पाईन्थ्यो होला। यो दुनियाँसँग दशऔंली जोडेर गुहार माग्दै हिड्नु पर्ने थिएन होला। बाबा मात्र भैदिनु भाको भए, कमसेकम यो दुःखीया भारीको धेरैजसो भाग त बाबाले नै काँध थाप्नु हुन्थ्यो होला।" मनमनै सोचेँ । म जुरुक्क उठेँ। जति सको चाँढो बाटो लाग्नु छ। हात मुख धोएँ। सानिमा चाँहि उठिसक्नु भा रैछ । अरु चाहिँ उठेकै थिएनन्। आफ्ना कापि-किताब झोलामा हालेँ। सानिमालाई "अघिल्लो हप्ता घिउ ल्याएको भाँडो खालि गरिदिनु न" भने र त्यो पनि झोलामा हालें । कोदोको पीठो बाँधेर ल्याएको रूमाल (आमाले पुरानो पटुका च्यातेर बनाको) पनि झोलामा राखेँ । त्यो थोत्रे कम्मल पनि यसो धुलो टक्ककाएर हालेँ। स्कुल नजाने भएपछि "किन फटाउनु?" भनेर त्यो गञ्जी र कट्टु पनि झोलामा राखेँ, अनि तेहि पुरानो दौरा लगाएँ । तेति गर्दा सम्म पनि छ्याङ्ग उज्ज्यालो भैसकेको थिएन। सबै कुरा ठिक्क पारेर सानिमा लाई "म जान्छु अब, राम्ररी बस्नुस् है सानिमा" भने । सानिमा पनि रुनै लाग्नु भा थियो। म बाटो लागें । २/३ गरा तल झरिसके पछि सानिमाले "ए पख त एकछिन्" भनेर सानो स्वरले माथ्लो गराबाट बोलाउनु भो । सानिमाले ओढ्नेले छोपेर एउटा सानो पोको ल्याउनु भा रैछ । कानेखुशि गरेर भन्नु भो "ल यो लगेर खुसुक्क आमालाई दे । फेरी सानाबाले थाहा पाए भने मार्छन् मलाई" । मैले पनि छिटोछिटो झोलामा हालेर बाटो लागेँ, के हो भन्ने कुरा पनि नसोधि, नहेरी । हर्कपुर डाँडामा पुग्दा रामपुरको डिलबाट भर्खर झुल्किएका घामले मेरो ध्यानलाई उतै मोडे। स्कुलको छेवैको वरको रुख पनि देखियो। स्कुल जाउँ जाउँ लाग्यो। एकछिन् ढुङ्गामा अडेस लागेर टुलुटुलु हेरीरहें, स्कुलको छेउलाई । मेरै छेउबाट स्कुल जाने एक हुल केटाकेटीहरु ओरालो लागे। तर के गर्नु, आजमात्र गएर नहुने । बेलुका घुमेर भा पनि रातसाँझ घर पुग्ने भा त जान्थेँ। रातभरिको निन्द्रा र न्यानो घामले एकछिन झकाएँछु । हत न पत्त बिउँझेर आफ्नो बाटो लागेँ । देखिउन्जेल सम्म पनि स्कुललाई फर्किफर्कि हेर्न छोडेको थिईन । १० बजे तिर घर पुगें । आफ्नो झोलालाई राखेर बर्खे कटेरामा गई गाईबस्तुलाई घाँस हालेँ । एउटा बाख्रो फुकेर बारीमा कोदो खाँदै रहेछ, समातेर बाँधे । बहिनी चाहिँ स्कुल गईछ, आज उस्को पालो रे । भाईचाहिँ पल्लो घरमा खेल्न गा रे छ। भाईलाई ढिलै भएपनि "जा स्कुल, अब म हेर्छु बाख्रा" भनेर स्कुल पठाएँ । आमा घाँसबाट आईपुग्नु नै भा रैन छ। क्रमशः
Read Full Discussion Thread for this article