Posted by: Ok April 26, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
छुवाछूत प्रथा, गहुँतस्थान र धर्म बेलाको बोली खगेन्द्र संग्रौला - नेपाली इतिहासको यो अतीतमुखी कालमा सरकारी राजनीतिले कठोर जातवादी रङ्ग धारण गरेको छ । यसले नेपालीलाई थोक शैलीमा दुई कित्तामा बाँडेको छ । उचा जातका छूत र नीचा जातका अछूतमा । जो मकरतन्त्रलाई समर्थन गर्छ, ऊ उचा जातको छूत हो । जो गर्दैन, ऊ नीचा जातको अछूत हो । जो छूत हो, ऊ अतीतमुखी निर्दलमार्गी हो । जो अछूत हो, ऊ भविष्यमुखी बहुदलमार्गी हो । यो छूत पात्र एकलवादी निरङ्कुशपथको उपासक हो । र यो अछूत पात्र हो बहुलवादी उदारपथको अभियन्ता । लाग्छ, इतिहासको अँध्यारो गुफा खनेर निकालिएको यो छुवाछूत प्रथा उही मिति गुजि्रएको मनुस्मृतिको छुवाछूतवादी संहिताबाट निर्देशित छ । छूत-अछूतको यो राजनीति वास्तवमा आदिम मनु-नीतिकै प्रेत-औतार हो । यस प्रेतले यतिखेर लोकलाई सातो खाने गरी तर्साइरहेछ । सभ्य भइनसकेको नेपाली समाजमा दलित नामका अछूतहरू बयान गरिनसक्नु भेदभावको सिकार हुँदै आएका छन् । धारा-पानीमा छोइछिटोको भेदभाव, शिक्षालयमा छोइछिटोको भेदभाव, होटलमा छोइछिटोको भेदभाव, घर-घरानामा छोइछिटोको भेदभाव, मन्दिरमा छोइछिटोको भेदभाव, बिहाबारीमा छोइछिटोको भेदभाव- यस्ता चुत्था भेदभाव त कति हुन् कति ! तर अहिले यी सनातन अछूतमा अरू अगणित अछूत थपिएका छन् । विचार र राजनीतिका अछूतहरू । पुराना अछूतझैँ यी नयाँ अछूतहरू पनि नानावली छोइछिटोको भेदभावबाट पीडित छन् । यिनलाई आफूलाई मनपर्ने आस्था बुनिएको झण्डा बोकेर सडकमा जान छूट छैन । सडक बिटुलिन्छ । यिनलाई विमानमा उड्न छूट छैन । आकाश बिटुलिन्छ । यिनलाई थानकोट काटेर बाहिर जान छूट छैन । भूमि बिटुलिन्छ । यिनलाई सरकारी सञ्चारमाध्यममा खुट्टा टेक्न छूट छैन । माध्यम बिटुलिन्छ । यिनलाई बहुदलीय राजनीति र मूल्य-प्रणालीको वकालत गर्न छूट छैन । निर्दलीय राजनीति र मूल्य-प्रणाली बिटुलिन्छ । यिनलाई मुखर रूपले मकरतन्त्रमाथि टिप्पणी गर्न छूट छैन । कथित राष्ट्र-राष्ट्रियता आदि बिटुलिन्छ । जताततै छुवाछूतमार्गी निरङ्कुशतन्त्रले उभ्याएका निषेधका यस्ता पर्खाल छन् । जताततै एकलवादी सङ्कीर्णताले बनाएका काँडेतारका बारहरू छन् । कि त विचार र संस्कारमा सरकारी गहुँत छर्केर अछूतबाट छूत होऊ कि अँध्यारो कारावासमा बास बस्न जाऊ । सरकारी छूत हात-हातमा दृश्यमान वा अदृश्य लौहअस्त्र बोकेर अछूतलाई ध्वाँसको भाकामा यसो भनिरहेका छन् । विचार र राजनीतिका अछूतलाई छोइछिटो हालेर छूतमा फेर्ने आदिम दृश्य अनौठो देखिन्छ । श्री टी. गिरी र टी. ढकालले निर्दलीय गहुँतका घ्याम्पा बोकेका छन् । भूपू एमाले आर. के. मैनालीका हातमा गहुँत छर्किने बाबियाको कुचो छ । र बृद्ध कीर्तिबाबु डालीमा कुसका टुक्रा बोकेर पछिपछि सकिनसकी कन्दै हिँडिरहेका छन् । नरलोकमा छोटो स्वार्थका लागि शक्तिको भक्ति गर्नेको केही कमी छैन । कुन्साङ काका इतिहासको डिलमा बसेर गहुँते नाटक हेर्दैथिए । सर्वोच्च अदालतका प्रधान न्यायाधीश हरिप्रसाद शर्माको बिटुलो आङमा गहुँतको वृष्टि भयो । जब उनी चोखिएर अछूतबाट छूत भए, उनको बोलीको भाकै फेरियो । शर्माका पदचिन्ह पछ्याउँदै मानवअधिकार आयोगका अध्यक्ष नयनबहादुर खत्रीले आङ् थापे । आङ्मा गहुँत पर्छिइयो र खोटा खत्री चोखिए । अनि गहुँतस्नानबाट शुद्ध भएका खत्रीका मुखारविन्दबाट निर्दलकालीन स्वामीभक्त खत्री पटापट बोल्न थाले ! उसो त मनु बाजेको गहुँतले चोखिँदै मल्खुतिर ढल्किने चतुरे राजनीतिमा पनि नभएका होइनन् । अनुहार हेर्दा र बोली सुन्दा ढुण्डिराज शास्त्री तीव्र गतिमा चोखिँदै गएको छनक पाइन्छ । जनपक्षीय सुलसुले भन्छ, चोखिने लाममा काङ्ग्रेसी शैलजा आचार्य र एमाले के. पी. शर्मा ओलीका नाम शीर्ष स्थानमा छन् । विस्मयको मुद्रामा कुन्साङ काका गम खान्छन्, के आचार्य र ओली निर्दलीय गहुँत सेवन गरी चोखिने धुनमा लागेकै हुन् त ? थाहा छैन । तै आचार्यलाई गहुँत छर्किमागेर अछूतबाट छूतमा फेरिन उनकोे जन्ड अहंले अनुमति नदेला कि ! तर ओलीबाबुमा भने त्यस्तो अहं-सहं केही छैन । उनमा जे छ, सत्ताको चुचुरोनेर पुग्ने तीव्र तृष्णा छ । र उनमा त्यो तृष्णा तृप्त गर्ने उग्र लालसा छ । यो काकाले रचेको मनचिन्ते कथा होइन । हिजोसम्म ओली महोदयको वरिपरि झुम्मिने भजनमण्डलीजस्तो झुण्ड आफैँ आज यसो भन्दै हिँडेको छ । अनुभव भन्छ, बिहानीको मौसमले दिनको लक्षणको सङ्केत गर्छ । अतः हाम्रा काकाश्रीलाई यो कुरा नपत्याउन असम्भव छ । क्रमशः
Read Full Discussion Thread for this article