Posted by: Ok April 19, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
शम्भु सिद्धान्तमा जनताको जित खगेन्द्र संग्राैला - एकोहोरो विचारहरूको आँधी बहँदा कस्तरी ढलिनछु यही नै तिम्रा लागि खतरा सावित भएको छ । - चन्द्रवीर तुम्बापो बहुल विचारविरुद्ध विचारमा एकोहोरोपना र शासनमा एकतन्त्र, कुन्साङ काकाको विचारमा, अत्याचारका जुम्ल्याहा सन्तान हुन् । जसले यी मूल्याहा जुम्ल्याहासँग आँखा जुधाउँछ, जीवनको आक्रामक आँधीमा पनि ऊ ढल्दैन । उसले आँट गर्छ, ऊ उभ्भिन्छ, ऊ जुध्छ, ऊ खतरा बन्छ र परन्तु उसले जीवनको बाजी जितेरै छाड्छ । यो जनताको जित हो । काव्यको भाषामा चन्द्रवीर तुम्बापो यही सत्य भन्न खोजिरहेका छन् । र, शम्भु सिद्धान्तले पनि यसै भन्छ । शम्भु सिद्धान्तको कथा रोचक छ । अघिल्लो दिन मकरतन्त्रले गिरिजाप्रसाद कोइरालालाई गृह नजरबन्दबाट फुकुवा गरिदिएको थियो । के यो 'सकारात्मक संकेत' हो ? कुर्सीको भिख माग्न निहुरिएर हात थाप्नेहरू, फगत मालिकको कृपामा आप\mनो भाग्य अजमाउन खोज्नेहरू र कसैका चरणमा शिर नराखी अस्तित्वबोध गर्न नसक्नेहरूमा आशाको एउटा मिथ्या तरंग उठेको थियो । काका बौद्धिकहरूको एउटा सानो जमघटमा थिए । आशाको त्यो लुते तरंग त्यहाँ पनि दृष्टिगोचर भयो । छलफलमा एउटा विषय उठ्यो । मकरतन्त्रको छायाँमुनि आस्थाका बन्दीहरू उपचार नपाई मुलुकैभरि औडाहासाथ ऐय्या-आत्था गरिरहेका छन् । निर्मम निर्दलवादले रचना गरेको यो करुण कथा जगत्ले सुन्ने गरी सुनाउने कसरी हो ? र रोगपीडित बन्दीहरूको उपचार गराउन कुन आवाजले प्रभावकारी दबावको सिर्जना गर्ने हो ? असल मनसाय भएका एकजना बौद्धिकका चित्तमा 'सकारात्मक सन्देश' को भ्रान्तिकारी जूनकीरी पिल्पिल्-पिल्पिल् गरिरहेको रहेछ । माथिको कृपाको कल्पना गर्दै आशालु स्वरमा उनले भने, 'बूढा कोइराला छुटे । तै तै अब अरूहरूको उपचार पनि भइहाल्ला कि ?' जमघटमा शम्भु थापा पनि उपस्थित थिए । वीर भनिन लायकका उनै शम्भु थापा जसले व्यक्तिगत हैसियतमा पनि र सहकर्मी साथीभाइहरूसँग मतो गेरेर संस्थागत हैसियतमा पनि मकरतन्त्रसँग आँखा जुधाउने आँट गरेका थिए । वातावरणमा औँसीको अन्धकार र मसानघाटको सन्नाटा व्याप्त थियो । संकटकालीन निषेधविरुद्ध मुख खोल्नुको नतिजा पक्राउ पर्नु, चुटिनु, बेपत्ता पारिनु वा मारिनु जे पनि हुनसक्थ्यो । तर कानुनका नौ सिङ कण्ठ भएको नेपाल बार एसोसिएसनले शम्भु थापाको नायकत्वमा कानुनकै लौरो टेकेर मुख खोल्यो । जब बारले बिरालाका घाँटीमा घण्टी झुण्ड्यायो, पत्रकार महासंघले अघि सरेर मारी त्यो घण्टी बजायो । आपतकालमा अन्यायी निषेधाज्ञाको अवज्ञा गर्न जोखिम उठाउँदै विवेक र शौर्यको बत्ती बालेर जो अघि सर्छ, ऊ समाजको नायक हो । शम्भु एक नायक हुन् । यो काकाश्रीले मित्रका नाममा कथेको चिप्लो कथा होइन, शम्भु स्वयंले आप\mना कर्मद्वारा रचना गरेको सुन्दर कीर्तिमान हो । त्यस्ता शम्भुश्रीलाई कथित 'सकारात्मक सन्देश' को भिक्षामार्ग एकदमै मन परेनछ । त्यसैले रमरम रोष भरिएको स्वरमा उनले भने, 'सकारात्मक सन्देश' को कुरो भिखारीपथको कुरो हो । गिरिजाबाबुको फुकुवा अरू केही होइन, त्यो जनताको जित हो । यता दमनविरुद्ध स्वदेशी जनआवाज मुखरित भयो । उता विदेशी आवाजले त्यसमा चाप थपिदियो । र नव-पञ्चतन्त्र कोइरालालाई छाड्न विवश भयो ।' यहाँनेर थापाजीले शब्द-शब्दमा झोँक्का दिँदै लोहारको घनको चोटजस्तो ठोस स्वरमा भने, 'यो जनताको जित हो । आँट गरेर बोल्नुपर्छ, नडराइकन लेख्नुपर्छ, हुल बाँधेर सडकमा ओर्लिनुपर्छ, जनताको जित हुन्छ-हुन्छ । पत्रकारहरूको एकताबद्ध जुलुसलाई मकरतन्त्रले छुन सकेन । यो जनताको जित हो । सञ्चारको डबली बिस्तारै-बिस्तारै फराकिलो हुँदैछ । यो जनताको जित हो । सत्ताका चाल र जालहरूको छिटोछिटो पोल खुल्दैछ । यो जनताको जित हो । सत्य के हो र झुट के हो, को जनताको आप\mनो हो र को परचक्री हो, जनता शनैशनै बुझ्दैछन् । यो पनि जनताकै जित हो । बल एकता हो, माध्यम शान्तिपूर्ण संघर्ष हो । संघर्षको वृक्षमा लाग्ने फल भनेको जनताको जित हो ।' शम्भु थापाको कुरो कुन्साङ काकालाई औधी घत पर्?यो । र आफूलाई जनताको कटुवाल भन्न रुचाउने काकाजी शम्भु सिद्धान्तको ध्वजा बोकेर प्रचार-अभियानमा घुम्न थाले । घुम्दै जाँदा काका सहिदगेटमा पुगे । साथमा साथी एउटा जिज्ञासु किशोर थियो । किशोर केटाले काकासँग सहिद भनेको के हो भनेर सोध्यो । काकाले भने, 'बाँच्नेहरूको भलो होस् भनेर जसले जानीजानी आप\mनो ज्यान दिन्छ ऊ सहिद हो ।' कुरो सुनेर केटो गम्भीर भयो । अनि त्यहाँ कुरैकुरामा संवादको एउटा पोयो बाटियो । 'काका, तलका चार सहिदलाई मारेको कसले हो ?' 'म श्री ३ हुँ भन्ने जुद्ध शमशेरले ।' 'किन मारेको, काका ?' 'यिनले अँध्यारामा उज्यालो खोजे भनेर ।' 'चार सहिदका शिरमाथि त्यो को किन बसेको हो, काका ?' काकाश्रीलाई संवाद जारी राख्न गाह्रो पर्?यो । त्यसैले उनले कुरो अर्कातिर रड्काए । उनले भने, 'बाबु उख्खुमै गर्मी भो । बरफजल खान जाऔँ ।' सहिदगेटको सम्झना काकाका चित्तका भित्तामा टाँसिइनै रह्यो । र गंगालाल, शुक्रराज, दशरथचन्द र धर्मभक्तका सुनामहरूले स्वतन्त्रताका प्रेरक प्रकाशपुञ्ज भएर काकाको चेतनामा आशा र प्रकाश फिँजाइरहे । अनि यी सहिदहरूको पवित्र सम्झनामा शिर झुकाइरहँदा काकाजीलाई पुनः शम्भु सिद्धान्तको याद आयो । सात सालको जहानियातन्त्रविरोधी हुलचालका प्रेरक र चालक अरू कोही होइन, जनता हुन् । र सात सालको जित अरू कसैको शौर्य, त्याग र पराक्रमको फल होइन, फगत जनगणको शौर्य, त्याग र पराक्रमको फल हो । त्यो जनताको जित हो । उसो त इतिहासमा जे जति सत्कर्म भएका छन् ती सबै जनताका, जनताका र केवल जनताका मात्र कीर्ति हुन् । शम्भु सिद्धान्तका दृष्टिमा ती सबै जनताका जित हुन् । छत्तीस सालको हुकुमीतन्त्रविरोधी हुरीको कथा जनताको जितको कथा हो । छ्यालीस सालको आँधीले ल्याएको परिवर्तनको कथा जनताको जितको कथा हो । त्यो कुनै ख्वामित्को कृपा, करुणा वा उदारताको कथा होइन । शम्भु सिद्धान्त यसै भन्छ । जे भन्छ, यो गजप भन्छ ! यतिखेर हाम्रो कुपोषित प्रजातन्त्रमा खग्रास ग्रहण लागेको छ । ग्रहणसँग जुधेर शुष्क प्रजातन्त्रलाई सबल लोकतन्त्रमा फेर्ने उपाय के हो ? शम्भु सिद्धान्त भन्छ, त्यो संघर्ष हो । माग्नेहरू मालिक मुखेन्जी झुक्छन् । माग्नेहरू स्वामीका चरणमा मुन्टा टेक्छन् । माग्नेहरू जुम्रा मार्दै र हाई काड्दै 'सकारात्मक संकेत' को बाटो हेर्छन् । तसर्थ माग्नेहरू मकरतन्त्रको दास बन्न लायक छन् । तर, शिर ठाडो पारेर हक दाबी गर्नेहरू जुध्छन् । न्यायका लागि जो जुध्छन्, भोलि वा पर्सि तिनले जित्छन् । यो जगत् जनताको हो । शम्भु सिद्धान्त भन्छ, आप\mनो जगत् जित्नु जनताको अकाट्य नियति हो ।
Read Full Discussion Thread for this article