Posted by: Ok April 19, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
अघिल्लो बाट क्रमशः भक्तिपथका यी पथिकहरूले आपना दाजुहरूको दुःख देखेर केही सिकेनन् । आज आरके मैनाली र टङ्क ढकाल जे साधनामा तल्लीन छन्, अस्ति कमल चौलागाईं र देवी ओझा त्यही साधनामा लिप्त थिए । ती स्वामीलाई रिझाउन दौराका फेर हल्लाउँदै दललाई गाली गर्थे, प्रेसलाई भत्र्सना गर्थे र नागरिक समाजलाई सराप्थे । यसो गर्दा आपनो राजसी दानापानीको आयु बढ्ला भन्ने तिनको आशा थियो । दुर्भाग्यवश तिनको आशाले धूलो चाट्यो । भक्तिमार्गमा जब तिनको उपयोगिता निखि्रयो, तिनलाई महमा टाँसिएका माखालाई झैँ पखेटा उखेलेर इतिहासको रछ्यानमा मिल्काइयो । आज दृश्यमा ती कतै छैनन् । हिजो तिनले आपनो व्यक्तित्व बनाइदिने विचार र दललाई समेत बेचिखाए । आज ती इतिहासको कुनै अँध्यारो गल्लीमा श्वानसरह हल्लिरहेका होलान् । हिँडेको बाटो, पानी खाएको इनार, थकाइ मारेको चौतारी र डुङ्गा तारिदिने माझीलाई बिर्सनेहरूको नियति यस्तै हुन्छ । सिक्नलाई शेरबहादुर देउवा र माधवकुमार नेपाल पनि असल पाठ हुन् । यी प्रतिगमनविरोधी आन्दोलनमा रत्नपार्कमा विचरण गर्दैथिए । यिनलाई मुक्तिमार्गभन्दा भक्तिमार्ग सजिलो लाग्यो । अनि यी दुई भाइ लोकले पत्तै नपाईकन प्रतिगमनको सेवामा भक्तिमार्गमा ख्याँस्स भर्ती भए । अनि यिनले चारवटा नकाम गरे । आवेगको उत्ताल तरङ्ग उठ्न-उठ्न लागेको आन्दोलनमा यिनले ठन्डा पानी खन्याए । दलहरूमाझको नातामा यिनले तिक्तता पैदा गरे । यिनले आपनै दलका कार्यकर्ता र आमजनताका चित्तमा गहिरा चोट लगाए । र, यिनले आ-आपना दललाई जीउभरि लुतो निस्किएको बूढो गोरुझैँ विरूप बनाए । आखिर भक्तिको अन्तिम फल यिनलाई के मिल्यो ? स्वामीका कृपाले यी दुई परम् स्वामीभक्त आ-आपनै घरका कोठामा कैदी बनाइए । अभिजात वर्गीय राजनीतिमा कृतज्ञताको भावना लेस मात्र पनि हुँदैन । जब भक्तको उपयोग-मूल्य सकिन्छ, त्यसलाई चुसिएको उखुको कोयोझैँ मिल्काइन्छ । छिमल-छिमलमा देखियो । लोकेन्द्रबहादुर चन्द मिल्किए । सूर्यबहादुर थापा मिल्किए । शेबदे र माकुने मिल्किए । मोहम्मद मोहसिन र भरतमोहन अधिकारी मिल्किए । होमनाथ दाहाल र ईश्वर पोखरेल मिल्किए । जो-जो मिल्किए, यी कोही पनि जनताका प्रतिनिधि थिएनन् । यिनलाई जनताले सत्तामा उकालेको पनि होइन, सत्ताबाट यिनलाई जनताले खसालेको पनि होइन । जसले उकाल्यो, घोर अपमानसाथ उसैले खसाल्यो । भक्तहरूको पतनको यो शृङ्खलाबद्ध कथा आरके मैनाली र टङ्क ढकालहरूका लागि एउटा पठनीय पाठ हो । अर्को झनै मूल्यवान् पाठ पनि छ । त्यस पाठका रचनाकार ईश्वर पोखरेल हुन् । उनै पोखरेल जसले इन्धनको मूल्य बढाउने आपनो कृत्यलाई उत्कृष्ट कीर्तिका रूपमा चित्रण गरेका थिए । भक्तिमार्गका अटल पथिक पोखरेलले जब राजविराज कारागारमा पदार्पण गरे, यी दुखियाको दह्रो रामधुलाइ भयो । पछिल्लो खबर भन्छ, बन्दी र कैदीहरूले यिनलाई घरप्प घेरे । अनि 'लकडीको भाउ बढाउने तैँ चोर होइनस् !' भनेर यिनका ललाटमै पर्ने गरी सशक्त मुक्का प्रदान गरे । भनिन्छ, भक्तका कन्चटमा मुक्काको चापले उठेको टुटुल्को अझै बसिसकेको छैन । आरके मैनाली, टङ्क ढकालादि मकरतन्त्रका कटिबद्ध भक्तहरूका लागि उक्त टुटुल्को स्मरणीय छ ।
Read Full Discussion Thread for this article