Posted by: Dada Giri April 12, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
सञ्जु काव्य अध्याय १४ मालढुगांमा पुगेसी ट्याउसी पनि रोक्यो र अरु २ जना ठिटाहरु भने त्यँही झरे। तर हामी चाँहि माथि बाग्लुगं बजार पनि हेरम् भन्ने मन भएकोले झरिएन। बाग्लुगंबजार पुगेसी हामीहरु झरियो ट्याउसी बाट र पैदल हिँड्न थालियो। बजार हेर्दै हेर्दै अगाडि बढियो। बजार सकिएसी हाम्रो अगाडि खच्चरहरुको ताँती थियो, पछाडि एकजना पथ पर्दरशक दाइ विदेशी पर्यटकसित अगांलो मार्दै मार्दै अघि बढ्दै थिए। हाम्ले तिनीहरुतिर यसो हेरेम् अनि फेरि आँफैलाई लाज लाग्यो र अनि आफ्नै धुनमा व्यस्त हुन थाले जस्तो गरेम्। बजार भन्दा अलि तल्तिर पऽर पुगेसी कालीको किनारमा एउटा सानो चौतारी आयो। हामीले यसो थकाइ मार्ने चेस्टा गरेम् र त्यहीँ वर पिपलको छहारीमा ढुगांको धुलो सुलो यसो फुकेर उडाउँदै थचक्क बसेम्। यसो पारितिर हेर्या त गण्डकी पारि मोटर बाटो खन्ने क्रम जारी रहेछ। तर गति भने एकदमै कम नि अब के भन्नी हाम्रो देशको विकाशको गति न हो, सप्पैलाई था भएकै कुरा हो, कस्लाई के भनम् मनको बह कसैलाई नकह। *** *** *** एकै छिनमा २ जना बुइनीहरु पछाडितिरबाट आइपुगे। अनि एउटीले भनी, "एकछिन बसम् क्यारे, कस्तो थकाइ लाऽ नि, अहिले नै यतिका बाटो बाँकि नै छ।" मैले नि यही हो मौका भनेर चौका हानिहालेँ। "बस्नुस् बस्नुस् बुइनीहरु, एकछिन शित्तल तापेर जाम्ला सँगै सँगै।" एउटा बुइनीले सकारात्मक हुँदै खिस्स हाँसी र झोला बिसाई। अर्कीले नि स्याल भाका मिलाई। "दाजूहरु काँ सम्म पुग्ने नि?" मैले भन्दा पहिले आत्मारामले उछिनेर जवाफ दियो, "म्याग्दी।" "म्याग्दी रे, म्याग्दी त यो पनि म्याग्दी नै हो। ऊ परको खोल्साबाट म्याग्दी शुरु भइसक्यो।" अर्की बुइनीले जिसक्याइदिई हामेरुलाई। "भनेसी वहाँहरुको गन्तव्य यहीँ हो। हामी त टाढा जानु पर्ने जाम् निर्मला। " "हैन के, बुइनी बेनी बजार जान लाऽ भन्न खोज्या के। बेनी बजार जान ला के, यसो तपाईँहरुको गामतिर डुल्न निस्क्या नि।" मैले उनीहरु हिँडिहाल्ने स्थितीलाई नियन्त्रण गर्न खोजेँ।
Read Full Discussion Thread for this article