Posted by: newuser April 11, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
फेरी अर्को एउटा कविता, मेरो होइन उनै भूपीको
निरर्थकता
- भूपी शेरचन
पलङमाथि उत्तानो पल्टेको हुन्छु
टाउको उडेर माथि दलिनमा झुन्डिन पुग्छ
र , मेरै मुखले मलाई हेरेर
खित्का छोडी हाँसिरहेको हुन्छ,
यात्रालाई तत्पर म हिड्न खोज्छु
तर , खुट्टाहरु मात्र अगाडि लम्किदिन्छन्
मलाई धराशायी पारेर ;
रिसले हावामा मुड्की ताक्छु
तर , कुमदेखि फुस्केर पाखुरा
ठुटो रुखझैं शून्यमा झुन्डिन्छ ,
लाग्छ यी सब भ्रम हुन् , सत्य होइन
चिच्याउँछु तर , मेरो स्वर निस्कन्न
फगत कानमा सल्लाघारीले सुसेल्छ ;
तर्सिन्छु : कतै म मरिसकेको त होइन ?
र , वरिपरि यन्त्रमानव झैं हिँडिरहेकाहरुलाई
बाटो छेक्दै म सोध्छु - के म
जिउँदो छु ?
तर कसैले जवाफ दिंदैन
म उनिहरुलाई चिमोट्छु
तर , उनिहरु यथावत् हिँडिरहन्छन्
फेरी म चिच्याउँछु - के तिमीहरु जिउँदा हौ ?
तर , कसैले मतिर हेर्देन
कहालिएर म आफूलाई चिमोट्छु
दुइटा औंलाको बीचमा खरानी पर्छ
अनि म थाह पाउँछु
म मुर्देमुर्दाको माझमा एउटा अर्को
मुर्दा रहेछु ।