Posted by: Ok April 5, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
अनि नयनजीका वृद्ध नयनमा जडान गरिएका ती कुटिल नयन कसका हुन् ? उता जेनेभामा राष्ट्रसङ्घको बैठक चलिरहेको थियो । बैठकमा अनेक मुखबाट नेपालको मानवअधिकारको अकथनीय दुर्दशाको चित्रण हुँदैथियो । र दुर्दशाको गतिमा ब्रेक लगाउने मनशायले नजिकैबाट नेपालको मानवअधिकारको चियो गर्न राष्ट्रसङ्घीय प्रतिवेदकको माग चर्किंदै थियो । ठीक त्यही बेला दुनियाँका आँखामा छारो हाल्न यता नयनबहादुरजी तम्सिए । अथवा भनौँ निजभित्रको लोभ, भय वा भ्रम के हो कुन्नि त्यो तम्सियो । जसको जागिरै सत्य बोल्नु हो उसैले ढाँट्यो । नाङ्गा आँखाले सहजै देखिने सत्यबारे राजदूतहरूलाई डाकेर ढाँट्नु राष्ट्रकै बेइज्यती हो । पहिले पञ्चायती इजलासमा बसेर बीपी कोइरालालाई मृत्युदण्डको सजाय सुनाउने नयनजीले अहिले मानवअधिकारको उच्च आसनमा बसेर राष्ट्रकै हुर्मत लिए । जिम्मेवार रक्षक स्वयं तुच्छ भक्षकको भेषमा प्रस्तुत हुनु सम्मानजनक कुरा किमार्थ होइन । नयनजीलाई कुन्साङ काकाको निवेदन छ- नयन सर, पदीय दायित्वको हेक्का राखेर कमसेकम अलिकता लाज मान्न त सिकौँ ! रामचन्द्र पौडेल, नरहरि आचार्य, लीलामणि पोख्रेल र कृष्ण पहाडीका नामहरूमा खबर बन्नसक्ने दम छ । र नै तिनका नाम खबर भएर खोरहरूका साँगुरा छिद्रहरू छिचोल्दै बाहिर आए । देशभरि लोकतन्त्रको ध्वजा उठाउने हजारौँ अनाम नागरिकहरू मकरतन्त्रको खोरमा छन् । तिनका नाम खबर बन्दैनन् । त्यसैले तिनको मानवअधिकारको बेहालबारे जगत् एकदमै अनभिज्ञ छ । यता नयनबहादुरजीहरू राजधानीमा बसेर, खुट्टा हल्लाएर, तलब-भत्ता कुम्ल्याएर मुलुकको मानवअधिकार सुधि्रएका कपोलकल्पित किस्साहरू कोरलिरहेका छन् । अगुवा नै भगुवा भइदिँदा पीडित नागरिकहरूको हाल झनै बेहाल हुने भो' । कुन्साङ काकाको विचारमा स्वदेशीले दिएको दुःख हेरिदिन विदेशीलाई गुहार्नु गौरवको विषय कदापि होइन । तथापि नागरिकलाई दुःख दिने स्वदेशी नजिकको र दुःख दिन पाइँदैन भनी औँलो ठड्याउने विदेशी टाढाको हुँदैन । उद्भव, भाषा वा वेशभूषा जस्तोसुकै होस्, जसले दुःख दिन्छ त्यो परचक्री हो, र जसले दुःख हर्ने यत्न गर्छ त्यो आफन्त हो । त्यसैले जनी गरेर राष्ट्रसङ्घीय विशेष प्रतिवेदक नेपाल आइदिए हुन्थ्यो । नाकै अगाडि आँगनमा गोरो छाला देखेर मकरतन्त्रका सारथीहरू नागरिकलाई अन्धाधुन्ध सताउने नकाममा थोरै भए पनि हच्किँदा हुन् कि ! कानुन, मर्यादा र सदाचार थिचिएका छन् । र पीडामय यो घडीमा कुन्साङ काकाको रक्तरञ्जित गद्य नागरिकको रोष र चित्कारको असीम पीडा प्रकट गर्न असमर्थ छ । भन्न खोजेको कुरो भन्न नसक्दा काकालाई के गरूँ र कसो गरूँ भएको थियो, अभिव्यक्तिको सङ्कटमा सहारा दिन एक युवा कवि काकाको सम्झनामा झल्याँस्स उदाएः यो मान्यता यो विश्वास यो नियम-कानुन जसले मसमेतको हुर्मत लियो जसले मसमेतलाई विरोधी बनायो उही पुरानै टाँगिएको त्यो विज्ञापन एकदम नियतवश टाँगिएको धार्मिक उपदेश ! जसै, जीवनको सङ्गीत बारम्बार रोकिन्छ र त्यस मन्दिरको भित्रबाट विधुवा घन्ट बज्न थाल्छ यो ज्ञानको निस्पृहता यो कठिन पर्खाइ, म च्यात्छु । ? राजन मुकारुङ
Read Full Discussion Thread for this article