Posted by: Ok April 5, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
आस्थाका बन्दी र मृत्युको खेती http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=36366 खगेन्द्र संग्राैला - असोज १८ पछिको शासनलाई नीलाम्बर आचार्यले असोजतन्त्रको नाम दिनुभएको थियो । त्यो नाम खुबै चल्यो । श्री आचार्यको सिको गर्दै माघ १९ पछिको शासनलाई मकरतन्त्र भन्नु मनासिब हुनेछ । प्रवृत्तिका दृष्टिले यो पछिल्लो तन्त्र उही अघिल्लो तन्त्रकै विकसित रूप हो । अघिल्लो तन्त्रको देहमा सिङ-जुरो पलायो र यो पछिल्लो तन्त्रले जन्म लियो । अभिप्राय र चरित्र उही हो । उक्त अभिप्राय र चरित्रको चुरो कठोर भएको मात्र हो । स्वतन्त्र चिन्तन र स्वतन्त्र प्रेसप्रति मकरतन्त्रको अतिशय अरुची छ । जब यो तन्त्रको जन्म भयो, प्रेसमा सरकारी लौहअस्त्रको लस्कर हाँजिर भयो । लौहअस्त्रको ध्येय प्रेसमा तेर्सिएर प्रेस स्वतन्त्रताको सातो लिनु थियो । लियो र त्यो केही पाइला पछिल्तिर पन्छियो । अनि प्रेसको मुहानै सुकाउने उपायको थालनी भयो । प्रेसको मुहान भनेको विचारशील र वागी स्वभाव भएको स्वप्नशील मस्तिष्क हो । त्यो विचारक र लेखकका शिरमा हुन्छ । रामचन्द्र पौडेल र नरहरि आचार्यका शिरमा त्यो छ । लीलामणि पोख्रेल र कृष्ण पहाडीका शिरमा त्यो छ । त्यसैले यतिखेर यी शिरहरू मकरतन्त्रको कोपभाजन भएका छन् । दिनदिनै अशुभ समाचार भन्छ, पौडेल र आचार्य एवं पोख्रेल र पहाडीहरूलाई यातना र अपमानको सिकार तुल्याइएको छ । ती बिरामी छन् । तर तिनलाई मकरतन्त्रद्वारा न बेलैमा उचित उपचारको प्रबन्ध मिलाइएको छ, न तिनलाई आफैँ उपचार गर्न पाउने छुट । मानौँ हालको नजरबन्दीखाना बहुलवादी नागरिकको भौतिक जीवनै मासिदिने बधशाला हो । लाग्छ, यो राजनीतिक प्रतिद्वन्दीलाई नारकीय खोरमा थुनेर बाह्र वर्षे इबीको साटो फेर्ने नियोजित उद्योग हो । आजको सभ्य संसारमा यो अमानवीय प्रवृत्तिको नग्न अभिव्यक्ति हो । अखबारले आएर रुँदै कुन्साङ काकालाई भन्यो, ढाड दुखेर रामचन्द्र पौडेल आलसतालस भएका छन् । र लीलामणि पोख्रेल मृगौलाको बेथाले थलिएका छन् । सुरुङजस्तो एउटा साँगुरो कोठा छ, जहाँ नरहरि आचार्यसमेत नौजनलाई गुन्द्रुक खाँदेझैँ गरी खाँदेर थुनिएको छ । एउटा खाटमा अर्को खाट, अर्को खाटमा अझ अर्को खाट गरी खाटहरू लहरै जोडिएका छन् । खाट र खाटको बीचमा हावा खेल्ने एउटा झिनो चरसम्म पनि छैन । नौजनालाई चर्पी जम्मा एउटा छ । विषाक्त खानेपानी छ पहेँलै तर लागेको । उता कृष्ण पहाडीलाई न अखबार सुँघ्न दिइएको छ, न आफन्त र पि्रयजनहरूलाई भेट्न अनुमति छ । आचार्य र पहाडी कतिवटा रोगबाट पीडित भइसके प्रेसलाई नै पनि त्यसको अत्तोपत्तो छैन । सुन्दा बुझिन्छ, नागरिकलाई नजरबन्दमा राखिने खोरको हालत बाली खाने पशुलाई थुन्ने कान्जीहाउसको भन्दा पनि तुच्छ छ । बरु कान्जीहाउसको थुनुवा पशुलाई निजको हैसियतबमोजिम उचित घाँस-पानी दिइँदो हो । तर मुलुकका प्रबुद्ध र प्रतिष्ठित आस्थाका यी बन्दीलाई भने न सफा पानी, न शुद्ध हावा, न चैनले सास फेर्ने ठाउँ, न समय बियाँल्नलाई पढ्ने सामग्री, न दबाइमूलोको चाँजोपाँजो, न न्यास्रो मेट्नलाई भेटघाटको प्रबन्ध, केही छैन । छ त केवल यातना, अपमान, अत्यास र मृत्युको मन्दविष । यो विचारक र लेखकहरूलाई शारीरिक रूपमै रुग्ण तुल्याएर स्वतन्त्र प्रेसको प्राणवायुको मुहान नै मास्ने व्यूहरचना हो । सोध्नुपर्नेहरूलाई कुन्साङ काका सोध्छन्, के मकरतन्त्रको चरित्रको वास्तविक चिनारी कान्जीहाउसभन्दा पनि चुत्थो यही यातानाशाला हो ? मुलुकमा मानवअधिकारको दुर्गति यस्तो थियो । ठीक त्यही बेला हाँडीगाउँमा पनि नहुने जात्रा राष्ट्रिय मानवअधिकार आयोगमा देखियो । आयोगका अध्यक्ष नयनबहादुर खत्रीले विदेशी राजदूतहरूलाई डाकेर भने, महामहिम महोदय, नेपालमा मानव अधिकारको अवस्था सुधि्रएको छ । खत्रीवाणी सुनेर काकाश्रीलाई उदेक लाग्यो । सके खत्रीजीका मुखारविन्दबाट खत्री स्वयं होइन, माथि कतैको टेप बोलिरहेको थियो । खत्री बन्धुको नाम भने नयनबहादुर छ, तर लाग्छ, निजसँग नागरिकहरूका मानवीय पीडा देख्ने संवेदनशील नयन अर्थात् आँखै छैनन् । के लीलामणि पोख्रेलका क्षयीकरण भइरहेका मृगौला सुधि्रएको मानवअधिकारका प्रमाण हुन् ? के रामचन्द्र पौडेलको मर्ने गरी दुःखिरहेको ढाड सुधि्रएको मानव अधिकारको दसी हो ? के नरहरि आचार्यलाई थुनिएको खोरको उग्र दुर्दशा सुधि्रएको मानवअधिकारको निशानी हो ? के कृष्ण पहाडीमाथि थोपरिएको अवर्णनीय हुर्मत सुधि्रएको मानवअधिकारको सूचक हो ? काका सविनय सोधनी गर्छन्, नयनजीका नयनले कसको मानवअधिकारको दशा सुधि्रएको देखेका हुन् ?
Read Full Discussion Thread for this article