Posted by: Ok April 4, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
सम्झन्छु, म पूर्वबाट काठमाडौँ आउँदा कीर्तिबाबु पञ्चायती एकतन्त्रका उच्चस्तरका चौकीदार हुनुहुन्थ्यो । नाडीमा सुनौलो घडी थियो, चढ्नलाई मर्सिडिज गाडी थियो, खानलाई राजसी रासन थियो र बस्नलाई सुविधायुक्त सरकारी हबेली थियो । लामो चौकीदारी कालमा सोझो र बाङ्गो बाटोबाट अकूत दौलतको सञ्चय त भयो नै होला । सबै महापञ्चको हुँदा आखिर कीर्तिबाबुको मात्रै किन नहुनु ? जसले जीवनमा अभाव र दुःखको अनुभव नै कहिल्यै गरेको छैन, अहिले ऊ राष्ट्रवादको नाउँमा हामीलाई जङ्गलमा पसेर गिट्ठा-भ्याकुर खाने अर्ति दिइरहेछ । सुन्दा हाँसो उठ्छ । यो अघाएको मुखले भोकाएका मुखहरूलाईर् म 'राष्ट्रवाद' भन्छु, तिमीहरू 'जिन्दावाद' भन भनेजस्तै हो । यो तेस्रो काँटको पाखण्ड हो । राष्ट्रवादको फेरी लाउने शासकहरू अमितहरूजस्ता साना नागरिकका सत्य वचन सुन्दैनन् । कारण अमितहरूमा यिनलाई पैसा, बन्दुक र आशीर्वाद दिने औकात छैन । तर, शासकहरू रिमोट कन्ट्रोलको ध्वनि भने सुन्छन् । उदाहरण मानवअधिकार आयोगका सदस्य सुशील प्याकुरेल हुन् । पहिले यिनलाई त्रिभुवन विमानघाटमा छेकिएको थियो । जब अमेरिकी सिनेटरहरूले छडी हल्लाए, शासकहरूले नाकका चालले प्याकुरेललाई अमेरिका जान बाटो छाडिदिए । यो स्वदेशी नागरिकलाई हेप्ने र विदेशीको खटनसामु लम्पसार पर्ने दास मनोवृत्तिको द्योतक हो । शासकहरूले आज प्रतिष्ठित प्राध्यापकत्रय लोकराज बराल, कृष्ण खनाल र कृष्ण हाछेथुलाई भारत जान नदिई त्रिभुवन विमानघाटमा छेकेका छन् । भोलि विदेशमा कतै शक्तिशाली छडी हल्लियो भने यिनले गलित नख दन्त भएर छेक्न छाड्ने छन् । राष्ट्रवादका गफ गर्नु, राष्ट्रका नागरिकहरूको हुर्मत लिनु र रिमोट कन्ट्रोलसामु लल्याकलुलुक गल्नु त तोरीलाहुरे शासकहरूको सनातन स्वभावै हो । हाम्रो देशमा राष्ट्रियताको नाराको हदैसम्म दुरुपयोग भएको छ । यस नारालाई शासकहरूको सत्तालिप्सा, धनलिप्सा वा अहङ्कारको रक्षाकवचका रूपमा प्रयोग गरिएका उदाहरणहरू कति छन् कति ! शासकहरू आफूलाई कबिला युगका सरदार र नागरिकहरूलाई बेठबेगरका खेताला ठान्छन् । राष्ट्रियताको सुन्दर आवरणभित्र छोपिने कुरूप स्वार्थहरू पूरा गर्न नागरिकहरूले यिनको आह्वानमा नाङ्गै बसिदिनुपर्छ, भोकै मरिदिनुपर्छ । अनि, इतिहासमा यिनका नामहरू महान् राष्ट्रवादीका रूपमा लेखिदिनु पनि पर्छ । तर, समयको रङ अब फेरिएको छ । कुनै कबिला सरदारले भन्दैमा राष्ट्रवादका नाउँमा नाङ्गै बस्न, भोकै मर्न र इतिहासमा सम्मानका अक्षरले उसको नाम लेखिदिन नागरिकलाई अब मन्जुर छैन । नागरिक चनाखा आँखाले अतीतलाई नियाल्छ । इतिहासमा दबाइएका सत्यहरूको उत्खनन गर्छ । ती सत्यहरूको तराजुमा कथित राष्ट्रवादीको हैसियतलाई तौलिएर हेर्छ । अनि, के गर्ने र के नगर्ने हो, आपनो भूमिकाको निधो उसले आफैँ गर्छ । सरकारका तृतीय पुरुष कीर्तिबाबु र द्वितीय पुरुष टी गिरीको राष्ट्रवादको बान्की नागरिकलाई अब राम्रै थाहा छ । कालापानीका कुरा गरौँ । नेपालको कालापानी परचक्रीका पाउमा सुटुक्क सुम्पिइँदा कीर्तिबाबु र टी गिरी हुनुहुन्थ्यो पत्यारिला ताबेदार । स्वामी र सेवकहरू मिले, कालापानी दिल्लीका चरणमा चढाइदिए । कालापानीको कालो कथाको रचना राष्ट्रघातको इतिहासमा एक सर्वोच्च कीर्तिमान हो, जसमा कीर्तिबाबुको पनि उच्च योगदान छ । धन्न प्रजातन्त्रको खुला परिवेशमा राष्ट्रिय अपराधको यो कुरूप कथा उजागर भयो र नागरिकहरूले हाम्रा 'राष्ट्रवादीहरू' का अनुहार चिन्न पाए । उनै 'राष्ट्रवादीहरू' अहिले राष्ट्रवादको कमलपित्ते नाटक गर्नमा तल्लीन छन् । र, विश्वभरिका हाम्रा सहयोगी र शुभचिन्तकहरूलाई चिढ्याउँदै हामीलाई गिट्ठा-भ्याकुरको राष्ट्रवादको प्रवचन दिइरहेछन् । सचेत नागरिकहरूको ऐक्यबद्ध चेष्टाद्वारा यो बालबत् प्रवचनमा ब्रेक नलगाइने हो भने यिनले अमित ढकालले भनेझैँ हामीलाई मानव बस्तीबाट जङ्गलतिर डोर्?याउने छन् । जो चिन्तनमा अतिवादी र संस्कारमा अतीतमुखी छ, समाजलाई उसले डोर्?याउने आदिम जङ्गलतिरै हो । सुन्दैमा दिगमिग लाग्छ, अमेरिकामा केही भूतपूर्व नेपालीहरूले कीर्तिबाबुको 'राष्ट्रवाद' को झन्डा फहराएछन् । र, तिनले शाही कदमको दीर्घायुको कामना गर्दै हर्षोल्लासका साथ भक्तिभजन पनि गाएछन् । अचम्म छ, यतिका दिन अमेरिकामा बसेर पनि नागरिक हक र अस्मिताबारे तिनले केही सिकेनछन् । यता कथित राष्ट्रवादको ध्वजामुनि सिङ्गो नेपाल एक विशाल कारागारजस्तो भएको छ । उता अमेरिकामा भूतपूर्व नेपालीहरू यो राष्ट्रिय कारागारको प्रशंसा गर्नमा मग्न छन् । सुन्दा लाज लाग्छ । अमेरिकाबासी निर्दलवादी भूपू नेपालीहरू जेसुकै भनून्, नेपालबासी नेपालीहरू कीर्तिबाबुको उत्तेजना र श्री टी गिरीको सनकलाई इन्कार गर्छन् । यी दुई 'उपा' हरूलाई बालबत् उत्तेजना र विनाशकारी सनकद्वारा दुःखी नेपालीहरूलाई दुःखको अझ ठूलो आहालमा डुबाउने हक छैन ।
Read Full Discussion Thread for this article