Posted by: Nepe April 2, 2005
Login in to Rate this Post:
0
?
मेरो देश
भूपी शेरचन
जहाँ
हिउँ परेको रातमा
जून, धरतीलाई भेट्न
हिमकणहरुको साथमा
मुस्कुराउँदै ओह्रालो झर्छ,
र धरतीलाई र्सवाङ्ग हाँसेको पाएर
झन् बढी मुस्कुराएर
आकाशमा र्फकने गर्छ,
जहाँ
आरुबखाडाका हाँगा-हाँगामा
फुल्दछन् कुखुराका चल्लाहरु,
जहाँ
मृगमरीचिका पछि लाग्नेहरुको यादमा
रुन्छन् धूपी र सल्लाहरु,
जहाँ
बाह्रै महीना मानिसका गालामा
फुल्दछन् आरुका फूल
जहाँ
मुटुको स्पन्दनझैं उफ्री उफ्री
खेल्छन् मृगशावकका हूल,
जहाँ
पहराबाट छहराले
खोलामा हाम्फाल्दछ,
जहाँ-रातमा पनि हिमचुलीले
आँगनमा घाम पाल्दछ,
जहाँ
प्रत्येक पहाडको काखमा नदी
छातीमा छहरा
र निधारमा लेक हुन्छ,
जहाँ
स-साना नदीहरुमा पनि
तूफानी समुद्रको वेग हुन्छ,
जहाँ
बटुवालाई प्रत्येक झयाङबाट
झयाउँकीरीले गिज्याउने गर्छ
प्रत्येक अँधेरी पँधेरोमा
जूनकिरीले ज्योति फिँजाउने गर्छ,
जहाँ
. . . . . .
. . . . . .
जहाँ
एकबाजि आएर
घर र्फकन वसन्त भुल्दछ,
जहाँ
बटुवालाई भन्ज्याङमा रोकेर
हिमाल पङ्खा हम्कन्छ;
जहाँ
एक-अर्काको मुख हेरेर
नीलगिरि र धवलागिरि चम्कन्छ;
जहाँ
प्रत्येक रातमा आकाशले
मङ्गल-दीप सजाउँछ;
जहाँ
प्रत्येक भोरमा धरतीले
एक गोरो छोरो जन्माउँछ;
जहाँ
हरिया-हरिया पहाडका फरिया
अलिक तल सारेर
निर्मल, स्वच्छ र न्यानो घाममा
हिमालले सधै ढाड सेकेको हुन्छ
म जति टाढा भए त्यो मेरो देश
सधै मेरो मनले
सपनामा पाइला टेकेको हुन्छ ।