Posted by: Surendra Shakya May 19, 2020
लकडाउनमा टिकटक मोहको सन्देश
Login in to Rate this Post:     0       ?        
The original article with images is in this link, please visit to encourage:
https://strong-nepal.blogspot.com/2020/05/blog-post_19.html


अहिलेको महामारीमा घर घरमा नै सबै जनतालाई चिडियाखानामा पशु थुनेको जस्तो गरेर राखिएको छ। छात्रछात्राहरुलाई त बडो आराम हुनु पर्छ। पहिले पाठशाला छुट्टी कहिले होला भन्ने लाग्थ्यो होला, अब भने पुग्ने गरेर घर बस्नु परेकोले कहिले पाठशाला खोल्ने होला भनेर घर छोड्न आतुर समेत भएको हुन सक्छ। यस्तो दिन आउला भनेर कसैले सोचेको समेत थिएन, र झन्डै दुई महीना यसरी काम धाम छोडेर गुम्सिएर जिउन कसरी सकिएला भनेर चिताएको पनि थिएन। सबभन्दा ठुलो समस्या जब नियमित जीवनमा ब्रेक लाग्यो, समयको भरमार फुर्सतको ठेली नै उपहार कोरोना माईले मनुवाहरुलाई दियो, तब कसरी समय बिताउने भन्ने समान समस्या सबैमा पस्कियो।

समय सबैकोलागी बराबर भए पनि, समयको महत्व सबैले बुझेका हुँदैनन्। प्राय जसो मनुवाहरुमा “टाईम पास” गर्ने मेसो मात्र प्रमुख ध्येय रहेको पाईन्छ। अलिकति पनि चिन्तन गर्ने हो भने त समय नै हाम्रो सबै भन्दा सही सम्पति हो। गए पछि गयो। त्यसैले हामीले बिभिन्न कार्यक्रमहरुमा सबै विद्यार्थीहरुमा समयको महत्व राख्ने गरेका थियौं। “टाईम वेस्ट?” भनेर प्रशन गर्दा धेरै जनाको पर्त्युत्तर आउँथ्यो, “लाईफ वेस्ट।“ त्यसैले कसैले पनि समय खेर फाल्नु त अपराध नै हो है भन्ने हामीले सूचना प्रवाह गर्ने गरेका थियौं।

समयको कसरी सदुपयोग गर्ने भन्ने बारे नेपालमा धेरै चेतना प्रवाह, कार्यशाला, प्रेरणादायी कक्षाहरु हुने गरेको पाईंदैन, विदेशमा जस्तो। समयको सदुपयोगको मतलब २४सै घन्टा काम गर्नु पर्छ भन्ने पनि हैन। प्रायः जसोलाई ८ घन्टा त सुत्नै पर्छ नत्र दिनभरको काम अलपत्र हुन सक्छ। नसुतेको समयमा उत्पादनमूलक सकारात्मक काम के गर्न सकिन्छ भनेर सोच्नु उत्तम हुन्छ। महत्वपूर्ण काम वा जिम्मेवारीको काम गर्दा बिचबिचमा आराम गर्ने समय पनि छुट्याउनु जरुरी हुन्छ ताकी फेरी पूर्ण ध्यान पुराएर काममा लाग्न सकोस्। मानिसको मस्तिष्कले पूर्ण ध्यान लगाउन सक्ने अवधि ३० मिनेट भनेर वैज्ञानिकहरुले जानकार गराएका छन् त्यसैले त्यस्तै कार्य तालिका बनाएर काम गरेर ५-१० मिनेट आराम वा हल्का रमाईलो काम वा कुनै पुरस्कार दिने बानी गर्नु राम्रो हुन्छ।

तर कुरा आयो लकडाउनको २४ घन्टै खालि भएको समयको। यस अवधिमा मलाई धेरै राम्रो नयाँ कुरा सिक्ने अबसर मिल्यो। दिनदिन रोजमर्राको नियम बसेकोमा त्यो टुटे पछि नयाँ अबसरहरु पत्ता लगाउनु धेरै ठुलो मौका माने। अनलाईनमा पाईने अबसरहरु कतिको बृहत भैसकेको रहेछ त्यो आज पनि नयाँ नयाँ कुराहरु देख्दैछु र अध्ययन गर्दैछु किन भने नेपालमा रहेका आफ्ना वरपरका युवा र मित्रहरुलाई आय आर्जन हुने काम भेटाउन सके त सबैको धेरै कल्याण हुने पक्का छ। म स्वयंलाई भने ब्लग नियमित रुपमा लेखेर विचारहरुको एउटा थलो बनाई राखेमा मैले सिकेका कुराहरुको लाभ शायद अरु पनि हुन सक्छ जसलाई मेरै जस्तो नेपालको बारे चिन्तन गर्ने बानी हुन्छ र नेपालको हितकोलागी जीवन अर्पण गर्न समेत तम्तयार हुन्छ। यसैको लागी दैनिक लेख यसै गरेर प्रस्तुत गर्दैछु।

त्यसपछि अनलाईन बिक्रि गर्न सक्ने पसल पनि खोल्ने अबसर सिकें र आफुमा सँधै रहेको कलात्मकता र सृजनाको रसहरुको प्रयोग भरपुर गरेर निकै धेरै डिजाईनहरुको नापनक्सा तयार गरेर नेटमा राखें र हर दिन यो प्रकृया जारी छ। यसबाट पनि यहाँका धेरै युवाहरुलाई केही काम दिन सकिन्छ। विभिन्न किसिमको मानिस र घरलाई चाहिने सामग्रीहरुको नमूना राखेर जसले पनि खरिद गर्ने सकिने वाताबरण रहेछ। बिना आर्थिक लगानीको यस्ता अबसरहरु पनि धेरै नै प्रचलित भैसकेका छन् भन्ने जान्न पाएँ।

अब खास कुरो मैले समस्याको रुपमा देखेको हो टिकटक भिडियो। यसमा समयको बर्बादी भने अन्तहिन नै हुने देखेको छु। यो टिकटकको कल्पनाकार चिनिया नागरिक रहेछन्। तिनले नै पहिले चिनमा छोटो भिडियो बनाएर देखाउने शुरु गरेको थियो। प्रख्यातिको भोको समाज त मुख्य रुपमा अमेरिका नै भए पनि मानबहरु अधिकांसमा यो चाहना लुकेको हुन्छ। सिलेब्रिटी हुने लालसा युवाहरुमा झन् तिब्र नै हुने गर्छ्। खेलाडी, सिने कलाकार, हाँस्य कलाकारहरु सबैलाई कुनै न कुनै पर्दाहरुमा देखिने हुनाले मानिसको चाहना आफू पनि पर्दामा देखिन पाए कति गजब हुथ्यो होला भनेर भित्रि मनशाय रहेको हुन्छ।




टिकटकले संसार भरको सबै मानिसको यो कमजोरीको फाईदा उठाएको छ। यहाँ सम्मकि अब त टिकटक स्टार पनि खडा भैसकेको छ। टिनएजर्सहरुको प्रमुख मन्च नै टिकटिक भएको हुनाले ठूला ठूला व्यबसायीहरुले पनि यसलाई यो “जेड् पुस्ता” (जेनेरेशन जेड् वा अमेरिकामा जेनेरेशन जी) संग सम्पर्क राख्ने राम्रो सामाजिक संजाल मानेका छन्। सिनेमाको पर्दामा देख्ने चाहना थोरै गिनेचुनेकाहरुको मात्र अबसरमा पहुँच हुने भए पनि मोबाईलहरुत घरघरमा पुगिसकेको नै छ र १५ सिकेन्डको भिडियो खिचेर टिकटकमा हालेर “लाईक”को नम्बर हेरेर “भाईरल” बन्ने रोग नेपालको ग्रामिण भेगका किशोर र युवा भन्दा पनि किशोरी र युवतीहरुमा संक्रमण भएछ। अनेक किसिमका हिन्दी र नेपाली फिल्मी गीत र सम्बादहरुमा अभिनय गर्ने, डुयट गर्ने नेपालमा निकै प्रचलित भएको देखिन्छ।




“लाईक”को भोको देखिन्छ सबै जना टिकटक पोस्ट गर्नेहरु। टिकटकमै “लाईक” नआएको गुनासो पोख्छन्। ठुला ठूला सेलिब्रिटी कहलाएका बलिवुडका सिताराहरुले पनि टिकटकको प्रयोग गरे पछी त बाँकी सर्बसाधारणहरुको के दोष? यो प्रख्याति कमाउने र भाईरल हुने अस्वस्थ चाहनाले परिवारका ससाना बच्चाहरुलाई समेत यसको पासोमा फसाएको छ। सानो बेलाको मस्तिष्क विकासमा यिनीहरुलाई निकै नै नराम्रो असर परिरहेको छ। बालकहरुको अबोध र तोतेबोलीलाई प्रयोग गरेर दर्शकहरुको मन जित्ने साधन बन्दैछ र दिन दिनै टिकटक भिडियो बनाउने दिन चर्या बनेको देखिन सकिन्छ। ति बालिकाहरुको भविष्यमा अहिले देखिनै खुँडा चलिसकेको छ—नार्सिसस चरित्रको बिकासको।




टिकटकमा देखिन १५ सेकेन्डको भिडियो भनेर के गर्ने र? तयारी गर्न त निकै समय र श्रोत लाग्छ। घर घरमै अब सिनेमाकर्मी उत्पादन हुन थालेको छ। नाच्नलाई भिडियोमा देखिनलाई नयाँ नयाँ कपडा चाहिने भयो, मेकअप श्रिगार पटार त भयो नै “लाईक” कमाउने आशामा भड्किलोपन पनि फैलिरहेको प्रष्ट पाईन्छ। विदेशको टिकटक भिडियोहरुमा केही बौद्धिकता देखिए पनि नेपालकोमा नक्कल र चलचित्रको सामग्री नै धेरै ओगटिने गरेको छ। युवतीहरुको सौन्दर्य सामग्री र फेशनवाला कपडाहरुमा खर्च बढ्नु आश्चर्यको कुरा हुँदैन। त्यो भन्दा पनि धेरै गम्भिर विषय हो मानिसले गर्ने समयको दुरुपयोग, चाहे भिडियो बनाउने काममा होस वा हेरेर समय फाल्ने कृयाकलापमा होस्। यो बिचारणिय कुरा हो।

यसरी मानिसको तुच्छ चाहनालाई पैसामा परिवर्तन गर्ने कला अमेरिकीहरुको भए पनि यसपाली भने चिनीयाले बाजी मारेको छ। ट्वीटर र ईन्स्टाग्राम भन्दा पनि धेरै प्रचलित भएको छ चिनियाको आबिस्कार। अमेरिकीहरुलाई भने अर्को समस्या खडा भएको छ। अमेरिकाले यसको असर आफ्नो राष्ट्रिय सुरक्षामा पर्ने भन्दै अनेक तरिकाले नियाली रहेको छ।

जे होस टिकटकले धेरै प्रकारको समस्याहरुलाई हावा दिंदै सामाजिक उथलपुथलको डढेलो फैलाईरहेको छ।


Read Full Discussion Thread for this article