Posted by: paladin April 1, 2020
कोरोनामा पनि भ्रष्टाचार
Login in to Rate this Post:     1       ?         Liked by
विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र्‍यापिड टेस्टिङ किट किनेपछि सरकारको चौतर्फी आलोचनास्वास्थ्य प्रवक्ता भन्छन्— प्रयोग गर्दैनौं

विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सरकारले किनेपछि त्यसमाथि चौतर्फी प्रश्न उठेको छ। सरकारले चीनबाट सात करोड रूपैयाँभन्दा बढी लागतमा ७५ हजार त्यस्ता किट किनेको छ।

चीनमा बनेका त्यस्तो किटले १० देखि १५ मिनटमै कोरोना भाइरस (कोभिड-१९) पत्ता लगाउन सक्छ। तर त्यसको परिणाम भरपर्दो हुँदैन। यसले संक्रमित व्यक्तिको नतिजा पनि नेगेटिभ देखाइदिँदा संक्रमितहरू समुदायमा जाने र त्यसले अर्को खतरा निम्त्याउने भन्दै विज्ञहरूले यसको प्रयोगमा निरुत्साहित गरिरहेका छन्।

जनस्वास्थ्य विज्ञ समिरमणि दीक्षितले सेतोपाटीसँग भने, 'सरकारले यो टेस्टिङ किट विज्ञहरूको परामर्शबिनै हतारमा ल्याएको देखिन्छ। विश्वभर अहिले यो टेस्टिङ किटले सही नतिजा दिन नसकेको गुनासो छ। यस्तो सामग्री ल्याउनुपूर्व गहिरो अनुसन्धान हुनुपर्छ।'

उनले आफू स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको प्राविधिक टोलीमा रहे पनि यसबारे कुनै छलफल नभएको बताए।

चौतर्फी आलोचना बढ्दै गएपछि सरकारले ती किट नचलाउने प्रतिक्रिया दिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आफूलाई टेस्टिङ किट ल्याएको थाहा नभएको भन्दै सेतोपाटीसँग भने, 'हामीले र्‍यापिड टेस्टिङ किट अहिलेसम्म प्रयोग गरेका छैनौं र प्रयोग गर्ने कुनै योजना पनि छैन।'

प्रयोगशालाले पनि यस्तो टेस्टिङ किट प्रयोग गर्न नसुझाएको उनले स्पष्ट पारे।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भने भोलिका दिनमा धेरै परीक्षण गर्न स्थिति आउनसक्ने भएकाले सरकारले टेस्टिङ किट खरिद गरेको बताए।

'भोलि धेरै परीक्षण गर्नुपर्ने स्थिति आयो भने यसको प्रयोग गर्छौं,' उनले भने।

प्रयोग गर्दा समस्या आएमा फिर्ता गर्ने शर्त राखेर किट किनिएको पनि उनले दावी गरे, 'समस्या आए फिर्ता गर्छौं।' 

महानिर्देशक श्रेष्ठले पनि विश्व स्वास्थ्य संगठनले र्‍यापिड टेस्टिङ किटलाई मान्यता नदिएको स्वीकार्दै तत्काल प्रयोग नहुने जिकिर गरे।

उनले सरकारले ७५ हजार र्‍यापिड टेस्टिङ किट सबै किनिसकेको भन्ने सत्य नभएको बताए, 'सबै सामग्री तीन चरणमा ल्याउँछौं। टेस्टिङ किट पनि लटलट गरेर आउँछ।' 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि सरकारलाई र्‍यापिड टेस्टिङ किट खरिद गर्न नसुझाएको जनाएको छ। प्रयोगशालाकी निर्देशक डा. रूना झाले भनिन्, 'हामीले प्रयोगशालाको मेसिनलाई चाहिने रिएजेन्टको सूची मात्र पठाएको हो। टेस्टिङ किट किन्न भनेर सुझाव दिएका छैनौं।'

उनले भोलि धेरै परीक्षण गर्नुपर्ने अवस्थामा यस्तो किट प्रयोग गर्न मिल्ने भए पनि अहिले यसको परीक्षणको नतिजालाई लिएर धेरै प्रश्न उठिरहेको बताइन्।

सरकारले कोरोना संक्रमणको परीक्षण गर्न टेकुस्थित राष्ट्रिय प्रयोगशालाका लागि रिएजेन्ट किट र काठमाडौ बाहिरका लागि पाँचवटा पिसिआर मेसिन मगाएको छ। काठमाडौं र बाहिर गरेर अहिले देश भित्र ३० हजारजना भन्दा बढीको स्वाब परीक्षण गर्न सकिन्छ।

राष्ट्रिय प्रयोगशाला र पिसिआरले गरेर ३० हजार नमूना परीक्षण गर्न सक्ने क्षमता स्थापना हुने भएपछि त्रुटिपूर्ण किट ७५ हजार थान कसको स्वार्थमा खरिद गरियो भनेर प्रश्न उठेको छ। सरकारका अधिकारीहरूले यसको प्रष्ट जवाफ दिन सकेका छैनन्।

स्पेन लगायतका मुलुकमा चीनबाट खरिद गरिएका कतिपय टेस्टिङ किटले राम्ररी काम नगरेको भनेर आलोचना भएको छ।

विश्व स्वास्थ्य संगठनले र्‍यापिड टेस्टिङ किटलाई मान्यता दिएको छैन। यस्तो किटले गरेको परीक्षणको नतिजा धेरै गलत देखिएको भन्दै विज्ञहरूले समेत यसको प्रयोग गर्न नहुने सुझाएका छन्।

https://www.setopati.com/politics/202869

Read Full Discussion Thread for this article