Posted by: ktmpost December 11, 2019
गौरिकाले ६५ लाख पाउने, प्रधानमन्त्रीले पुरस्कार घोषणा
Login in to Rate this Post:     0       ?        
https://www.youtube.com/watch?v=Ilxx0O_ytyM

गौरिकाले ६५ लाख पाउने, प्रधानमन्त्रीले पुरस्कार घोषणा गर्दा तालीले थर्कियो बालुवाटार (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ सागमा पदक विजेता खेलाडी, प्रशिक्षकहरुलाई नगद पुरस्कारको घोषणा गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रोत्साहनस्वरुप प्रधानमन्त्रीले स्वर्ण, रजत र कास्य पदक विजेता र प्रशिक्षकलाई नगद पुरस्कार राशिको घोषणा गरेका हुन् । यसअघि मंगलबार नै साग समापन समारोहमा सदस्यसचिव रमेश सिलवालले प्रधानमन्त्रीले विशेष प्याकेज घोषणा गर्ने बताएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार एक स्वर्ण विजेतालाई ९ लाख रुपैयाँ नगद दिइने प्रधानमन्त्रीले घोषणा गरेका छन् भने एकभन्दा बढी स्वर्ण विजेतालाई एघार लाख रुपैयाँका दरले नगद पुरस्कार दिइनेछ ।

जसमा दुईवटा स्वर्ण विजेताले २२ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रधानमन्त्री ओलीले घोषणा गरेको पुरस्कार राशिअनुसार पौडीमा चार स्वर्ण जित्ने गौरिका सिँहले स्वर्णतर्फबाट ४४ लाख प्राप्त गर्नेछिन् । त्यसैगरी उनले दुईवटा रजत पदक पनि जितेकी छन् । दुईवटा रजतमा थप १२ लाख रुपैयाँ प्राप्त गर्नेछिन् । उनले स्वर्ण र रजत गरि कम्तिमा ५६ लाख रुपैयाँ नगद पाउनेछिन् । त्यसैगरी कास्य विजेताले जनही तीन लाख प्राप्त गर्नेछन् । गौरिकाले समूहमा तीन कास्य पदक जितेकाले त्यसमा कति रकम प्राप्त गर्नेछिन् भन्ने एकिन नभएको भए पनि त्यसमा समेत ९ लाख गरेर गौरिकाले ६५ लाख रुपैयाँ पाउने प्रधानमन्त्री ओलीका सल्लाहकार थापाले कुराकानीमा बताए ।

त्यसैगरी तेक्वान्दोकी आयशा शाक्यले दुईवटा स्वर्णपदक जितेकी छन् । उनले २२ लाख रुपैयाँ प्राप्त गर्नेछिन् भने करातेका मण्डेकाजी श्रेष्ठले पनि दुईवटा स्वर्ण जितेकाले २२ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी पदक विजेताका प्रशिक्षकलाई पनि जनही पाँचलाख रुपैयाँ दिइने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए । त्यसैगरी फुटबलको स्वर्ण विजेता प्रत्येक खेलाडीहरुलाई जनही पाँचलाख रुपैयाँ दिइने थापाले बताए । नेपालले १३ औँ सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ । १३ औँ सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जितेको छ ।

सागमा समावेश २६ खेलमध्ये नेपालले २५ खेलमा पदक जितेको छ । नेपाल सुटिङमा भने पदकविहीन रहेको थियो । यस्तै करातेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्ण कीर्तिमान बनाए । यसैबीच राष्ट्रिय खेलकुख परिषदका सदस्य सचिव रमेश सिलवालले पनि एक स्वर्ण जित्नेले ९ लाख र दुईभन्दा बढी जित्नेले ११ लाखका दरले रकम प्राप्त गर्ने बताए ।

प्रधानमन्त्रीले सागका पदक बिजेता खेलाडीलाई पुरस्कार घोषणा गर्दा तालीले थर्कियो बालुवाटार, भिडियो हेर्नुहोस:

https://smartkhabar.com/29923/

Read Full Discussion Thread for this article