Posted by: ktmpost July 19, 2018
प्रहरी मृत्युको हल्ला फैलाएर सरकारले डा. केसीलाई झुक्यायो
Login in to Rate this Post:     0       ?        

३ साउन, जुम्ला । सरकारले आमरण अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन झुटको सहारा लिएको छ ।

डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरमा बिहीबार साँझ काठमाडौंतर्फ ल्याइएको छ । उनले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

डा. केसीलार्इ लिन सरकारले विहानै हेलिकोप्टर पठाएको थियो । तर, डा. केसीले माग पुरा नभएसम्म काठमाडौं  नआउने अडमा लिएका थिए । तर, बलपूर्वक काठमाडौं लैजान भन्दै प्रहरीले डा. केसीका समर्थकमाथि लाठी चार्ज गर्नुका साथै अश्रुग्यास हान्यो ।

स्थिति तनावग्रस्त भएपछि डा. केसी काठमाडौं आउन तयार भए तर, नेपाली सेनाको हेलिकोप्टरमा नजाने अडान लिए ।

त्यही बीच प्रहरीले माइकिङ गर्दै भन्यो, एकजना प्रहरी जवानको मृत्यु भइसकेको छ । हाम्रो प्रहरी जवान पनि मरेको हुनाले, क्याजल्टी भएको हुनाले……. 

लगतै यो सन्देश डा. केसी र उनको टिमसम्म पुग्यो । आफ्नो सत्याग्रहसँग जोडिएर भएको झडपका क्रममा प्रहरीकै मृत्यु भएको खबरले डा. केसी विक्षिप्त भएको सहयोगीहरू बताउँछन् । उनी रुँदै ‘अब म काठमाडौं जान्छु’ भन्दै आफैं बेडबाट झरेका थिए ।

प्रहरी जवानको मृत्यु हल्लामात्रै

जब डा. केसी सेनाको हेलिकोप्टरमै काठमाडौं आउन तयार भए र एम्बुलेन्समा राखियो, प्रशासन स्रोतबाटै खबर अायो कि मृत्यु भएका भनिएका प्रहरी जवान जिवित नै छन् ।

‘बल प्रयोग गरेर डा. केसीलाई बाहिर निकाल्दा थप तनाव हुने भएपछि यस्तो गर्नुपरेको हो’ स्थानीय प्रशासन स्रोतले अनलाइनखबरसँग भन्यो ।

प्रहरी जवान कमल उपाध्यायको उपचार चलिरहेको थियो ।  तर, प्रहरीको मृत्यु भएको थुप्रै खबर सञ्चार माध्यमहरुमा आइसकेको थियो ।

पछि स्थानीय प्रशासन आफैंले प्रहरी जवानको मृत्यु भएको खबर खण्डन गरेको छ ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) सुरेशविक्रम शाहले जुम्लामा गोली चल्दा प्रहरी जवानको मृत्यु भएको कुरामा कुनै सत्यता नभएको बताएका छन् । शाहले भने, ‘उनको मृत्यु भएको हल्ला कसरी फैलियो थाहा भएन । तर, उनको मृत्यु भएको होइन ।’

यद्यपि, घाइते प्रहरी उपाध्यायको अवस्था गम्भीर भएको उनले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि उनलार्इ नेपालगञ्ज लगिएको छ ।

घाइते जवानको छातीमा सीसाको टुक्रा र चिर्पटमा रहेको खिलले चोट लागेको छ । ‘अस्पताल ४ तलाको छ । डा. केसी भएतिर जाने क्रममा विद्यार्थीहरुले सिसा र बेञ्च भाँचेर किलासहित प्रहरीतर्फ प्रहार गरेका थिए’, डीआईजी शाहले भने, ‘चिकित्सकहरुले शरीरभित्र पसेको सीसाहरु निकालेका छन् ।’

तर, विद्यार्थीले प्रहार गरेको किला मुटुसम्म गयो कि भन्ने हाम्रो डर हो, उनले अघि भने ।

https://www.onlinekhabar.com/2018/07/693535

Read Full Discussion Thread for this article