राष्ट्रिय क्रिकेट टोलीद्वारा कुनै पनि खेल नखेल्ने घोषणा
क्यानको नेतृत्व परिवर्तन गर्न माग
२७ चैत, काठमाडौं । ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट खेलेका १६ सदस्यीय नेपाली राष्ट्रिय टोलीले एकदिवसीय राष्ट्रिय क्रिकेटसहित सबै प्रतियोगिता नखेल्ने घोषणा गरेको छ । नेपाली टोलीले शुक्रबार पत्रकार सम्मेलन गरी नेपाल क्रिकेट संघ क्यानमा नयाँ नेतृत्वको माग गरेका छन् ।
पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटलार्इ अघि बढाउन क्यानमा नयाँ टिम माग गरे । हामीलार्इ यो व्यवस्थापन चाहिँदैन । ‘यदि नेपाली क्रिकेटलार्इ अघि बढाउने हो भने क्यानमा नयाँ र सक्षम नेतृत्व ल्याउने यो नै सही समय हो-उनले भनेका छन् ।
खेलाडीहरूले भन्दैमा क्यानको नेतृत्व परिवर्तन हुने नहुने थाहा नभएके भन्दै उनले भने-हाम्रो माग सरकारसँग हो । हामीलार्इ नयाँ क्यान चाहियो ।’
विश्वकप खेलेर आएपछि खेलाडीहरूलार्इ कुनै वास्ता नगरिएको भन्दै खेलाडीहरूले माग सम्बोधन नभए राष्ट्रियसँगै वैशाखमा हुने एसीसी प्रिमियर लिग समेत नखेल्ने अवस्था आउन सक्ने बताए ।
राष्ट्रिय खेलाडिहरूले विगत ८ महिनादेखि तलब पाएका छैनन् भने पछिल्लो पटक सहभागी भएका तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेले वापतको भत्ता समेत पाएका छैनन् । नेपाली क्रिकेट टोलीलले बंगलादेशमा भएको ट्वान्टी ट्वान्टी विश्वकप प्रतियोगिता खेलेर स्वदेश फर्के लगत्तै क्यानसमक्ष आफ्ना माग पेश गरेको थियो ।
खेलाडीहरूले मलेसियमा हुने एसीसी प्रिमियर लिग क्रिकेट अघि भइरहेको राष्ट्रिय प्रतियोगिता राजधानी बाहिर सञ्चालन गरेकोप्रति पनि असन्तुष्ट रहँदै आएका छन् ।
विभिन्न क्लबमा रहेका रहेका खेलाडीहरूले आफूहरूमाथि विभागीय कारबाही गरे त्यसका लागि आफूहरू भोग्न तयार रहेको वताएका छन् ।
SOURCE: http://www.onlinekhabar.com/