१६ डनको सम्पत्ति रोक्का

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 नवराज मैनाली/नयाँ पत्रिका काठमाडौं, २ पुस अवैध धन्दाबाट अकुत सम्पत्ति कमाएका १६ भन्दा बढी डनको सम्पत्ति रोक्का भएको छ । सम्पत्ति शुद्धीकरण विभागले डनसहित उनका सहयोगी र आफन्तको समेत बैंकखाता, जग्गा तथा सवारीसाधन रोक्का गरेको छ ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीले सुरुमा नाम चलेका केही डनमाथि मात्र अनुसन्धान गरेको थियो । दोस्रो चरणमा गुन्डागर्दीमा संलग्न अन्य व्यक्ति पनि अनुसन्धानमा तानिएका छन् ।  पहिलो चरणमा गणेश लामा, दीपक मनाङे -राजीव गुरुङ), चक्रे मिलन, पर्शुराम बस्नेत, अभिषेक गिरी र ज्ञानेन्द्र श्रेष्ठ 'बाबा'को सम्पत्ति रोक्का गरिएको थियो । पहिलो चरणमा छानबिन सुरु गरिएकाहरूको अनुसन्धान अन्तिम चरणमा पुगेको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी)का एसएसपी उत्तम कार्कीले जानकारी दिए । 'एक-डेढ महिनामा हामी अनुसन्धान पूरा गर्छाैं होला,' उनले भने । दोस्रो चरणमा अजय श्रेष्ठ, कविन शाक्य, बलराम सापकोटा 'बले'को पनि सम्पत्ति रोक्का गरिएको छ । उनीहरू तीनैजनाको सम्पत्ति अनुसन्धान गर्न शुद्धीकरण विभागले अनुसन्धान अधिकृतसमेत तोकिसकेको छ । अर्का दुई डन कुमार घैंटे र साजन महर्जनको पनि सम्पत्ति रोक्का भइसकेको छ । तर, उनीहरूमाथि अनुसन्धान सुरु हुन सकेको छैन । गणेश लामा, दीपक मनाङे, पर्शुराम बस्नेत र चक्रे मिलनको बयान भने अन्तिम चरणमा पुगिसकेको स्रोत बताउँछ । उनीहरूसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी)ले बयान लिइरहेको छ । 'दोस्रो चरणको बयान चलिरहेको छ,' सिआइबी स्रोतले भन्यो, 'बयान सकिनासाथ रायसहित हामी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मिसिल बुझाउँछौँ ।'  अनुसन्धान पूरा हुने भएकाले बयान सकिएपछि विभागले उनीहरूमाथि मुद्दा चलाउनेछ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विश्वप्रकाश सुवेदीले पनि अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगिसकेको जानकारी दिए ।  पहिलो चरणमा अनुसन्धान थालिएकामध्ये बाबा भनिने ज्ञानेन्द्र श्रेष्ठको भने बयान भएको छैन । क्यासिनोका लगानीकर्ता उनी श्रीलंकामा बस्दै आएका छन् । श्रीलंकामै उनको क्यासिनो रहेको स्रोतको भनाइ छ । तर, उनको नेपालको सम्पत्ति सबै रोक्का भइसकेको छ । प्रहरीले अनुसन्धान सुरु गरेयता पक्राउ पर्ने डरले उनी नेपाल आएका छैनन् । प्रहरीले उनको परिवारको सम्पत्तिमाथि पनि अनुसन्धान गरिरहेको छ ।  दोस्रो चरणमा अनुसन्धान थालिएकाहरूमा क्यासिनोका लगानीकर्ता धेरै छन् । बलराम सापकोट क्यासिनो किङका रूपमा चिनिन्छन् । उनले पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहले सञ्चालन गरेको रोयल क्यासिनोमा लगानी गरेका छन् ।  त्यस्तै, कविन शाक्य पनि क्यासिनोमा पैसा लगाउने व्यक्ति हुन् । अजय श्रेष्ठले पनि क्यासिनोबाटै १० करोडभन्दा बढी कमाएको प्रहरी अनुसन्धानमा खुलेको छ । उनी कांग्रेस नेता ओमकार श्रेष्ठका भाञ्जा हुन् ।    सम्पत्ति लुकाउँदै अन्य डन सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीले अनुसन्धानमा विवेक पुर्‍याउन नसक्दा अनुसन्धानको घेरामा नतानिएका अन्य गुन्डागर्दीका नाइकेले भने धमाधम सम्पत्ति लुकाउन थालेका छन् । विभागले गुन्डागर्दीका केही नाइकेको मात्र सम्पत्ति अनुसन्धान गर्दा अन्यले पहिले नै लुकाउने अवसर पाएका हुन् ।  विभागले काजी शेर्पा, दिनेश अधिकारी 'चरी', राजु गोर्खाली, बाघबहादुर लामा बाघे, मीनकृष्ण महर्जन, रोज राणालगायतको सम्पत्तिमा अनुसन्धान थालेको छैन । घैंटे र साजन महर्जनको सम्पत्ति रोक्का भए पनि अनुसन्धान भने अघि बढ्न सकेको छैन । सम्पत्तिसमेत रोक्का नभएकाले उनीहरूले वकिलहरूको सल्लाहमा सम्पत्ति लुकाउन थालेको स्रोत बताउँछ । काभ्रेली समूहका पनि दावा लामा, विष्णु लामा, तीर्थ लामा, रमेश सुनुवारलगायतको सम्पत्ति छानबिन भएको छैन । विभागका प्रवक्ता तथा निर्देशक विश्वप्रकाश सुवेदीले कर्मचारी अभावमा सबैको एकैपटक अनुसन्धान हुन नसकेको बताए ।  राजनीतिक दबाबका कारण पनि सम्पत्ति शुद्धीकरण प्रभावकारी हुन नसकेको स्रोतको भनाइ छ । राजनीतिक दबाबकै कारण सम्पत्ति शुद्धीकरणमा अनुसन्धान विभागमा महानिर्देशकलगायतका अधिकारी पटक-पटक फेरिँदै आएका छन् । विभाग गठन भएको १७ महिना अवधिमा चारजना महानिर्देशक फेरिइसकेका छन् । हालै मात्र विभागमा सूर्यप्रसाद आचार्य महानिर्देशक भएका छन् ।  गणेश लामाको सम्पत्ति अनुसन्धानको काम विभाग गठन हुनुभन्दा पहिलेदेखि नै सुरु भएको थियो । तर, पनि हालसम्म पूरा हुन सकेको छैन । दबाबकै कारण अनुसन्धान ढिला भएको स्रोतले बतायो ।  सिआइबीले करिब ६ महिनाअघि अनुसन्धानमा तानिएका सबै डनलाई पक्राउ गरी बयान लिने तयारी गरेको थियो । तर, विभागका अधिकारीले डराएर पक्राउ नगरी बयान लिने निर्णय गरेको स्रोतको भनाइ छ ।  प्रहरीले पैसाकै लागि गुन्डागर्दी हुने र सम्पत्ति नै अनुसन्धान गरी कारबाही गरेपछि गुन्डागर्दी नियन्त्रण हुने भन्दै गुन्डागर्दीका नाइकेहरूको सम्पत्तिको छानबिन थालेको हो । हाल अनुसन्धानमा रहेका गुन्डागर्दीका नाइकेमाथि मुद्दा चल्नेमा प्रहरी अधिकारीले नै शंका गर्न थालेका छन् । गुन्डागर्दीका सबैजसो नाइके पार्टीमा आबद्ध भइसकेकाले राजनीतिक दबाबमा प्रहरी र विभाग पछि हट्ने आशंका अनुसन्धानमा भएको ढिलाइले पनि देखाएको छ ।   सहयोगी र आफन्त पनि फन्दामा सम्पत्ति शुद्धीकरण ऐनमा अनुसन्धान गरिएका व्यक्तिको आफन्त र सहयोगीहरूको समेत सम्पत्ति छानबिन हुने प्रावधान छ । सोहीअनुसार गुन्डागर्दीमा संलग्न नाइकेका परिवारका सदस्य मात्र नभई साथीहरूको समेत प्रहरीले सम्पत्ति रोक्का राखी उनीहरूको बयान लिइरहेको छ । प्रहरी स्रोतका अनुसार दीपक मनाङेका दुई श्रीमतीको बयान हालै सकिएको छ । मनाङेका प्रमुख सहयोगी उमेश लामासमेत छानबिनमा तानिएका छन् ।  पर्शुराम बस्नेतका सहयोगी मुकेश बुढाथोकी पनि अनुसन्धानमा तानिएका छन् । त्यस्तै, चक्रेका भाइ तेजेन्द्र गुरुङ र श्रीमतीसँग पनि प्रहरीले बयान लिइसकेको छ । बारम्बार ताकेता गरेपछि चक्रे एकपटक मात्र बयान दिन गएका छन् । त्यस्तै, गणेश लामाका भाइ राकेश लामासहित श्रीमती र परिवारका सदस्यसँग समेत प्रहरीले सम्पत्तिबारे बयान लिइसकेको छ । सम्पत्तिको स्रोत खुलाउन नसक्दा भारतीय अपराधी नीरञ्जन होजाईसँग बिहे गरेकी सरिता गिरीको सम्पत्ति अनुसन्धान गर्दा प्रहरीले उनका परिवारका सम्पूर्ण सदस्यलाई पक्राउ गरी मुद्दा चलाएको थियो । त्यस्तै, डनका परिवार र सहयोगीलाई समेत विभागले स्रोत खुलाउन नसके मुद्दा दायर गर्नेछ ।   बले, कविन शाक्य, अजय श्रेष्ठ पछिल्लो समयमा अनुसन्धान थालिएका बले, कविन शाक्य, अजय श्रेष्ठको पनि करिब १०/१० करोडको सम्पत्ति रोक्का भइसकेको छ । शुद्धीकरण विभागका अनुसार शाक्यको धेरै सम्पत्ति जापानबाट आएको देखिन्छ । उनकी श्रीमती जापानमा भएकाले उनको नाममा सम्पत्ति जापानबाट आएको देखिएको हो । तर, आफैँले हुन्डीमार्फत जापानमा पैसा पठाएर उताबाट बैंकिङ च्यानलबाट पुनः आफैँलाई पठाउन लगाई उनले आफ्नो सम्पत्तिलाई वैधता दिन खोजेका छन् । 

_____ · Dec 18, 2012 6:16 PM · 3,803 views

6 Replies

 अरुको त थाहा छैन। तर गणेश लामालाई चाँहीँ केही नि हुन्न। फोरुमको ठूलो नेता हुनुभैसक्यो लामाजी।  

lopchandai · Dec 18, 2012 7:17 PM

afu naramro kaam garnu hunna bhanera ramro bato ma lagera yeta tira aaiyo, baink ma sukko chaina.. yi 10 barsha agadi ka khate haru ko 10 karod re LOL.. millionaire bhaisakechan

texasranger · Dec 18, 2012 7:52 PM

हैन यो सुद्धि करण को थालनी सबै भन्दा पहिले - हाम्रा स्रद्देय नेता हरु बात सुरु गरेको पो ठिक हुन्त्यो त ? हैन ? हिजोको सुकुम्बासी आज अरब पति भा छन् - का बाट आयो तेत्रो सम्पति एक दसकमा ?

magorkhe1 · Dec 19, 2012 9:25 AM

Kaha bata aaunu ni sampati malai thahacha gareb janta ko Mari Mari hastamaithun gareko poisa khaera chusera kamako ho iniharule

intelligentguy · Dec 19, 2012 9:38 AM

 http://sajha.com/sajha/html/in... सीआईबीले जोगाएका दुई अर्व अवैध सम्पत्तिका मालिक     1Comments   काठमाडौं। एकान्तकुना बस्ने महेशबहादुर सिंहले पछिल्लो सात वर्षमा आश्चर्यजनक रुपमा अवैध सम्पत्ति आर्जन गरेको भन्दै पीडितहरूले हालेको उजुरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गुपचुप राखेको छ। सिंहसँग दुई अर्व भन्दा बढी अवैध सम्पत्ति रहेको र सिंहसँग भएको अवैध सम्पत्ति छानबिन गरी सम्पत्ति शुद्धिकरण ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाउन भन्दै सिंहका पीडितहरूले गत भाद्र २८ गते उजुरी दर्ता गराएका थिए। सिंहविरुद्ध परेको उजुरी बारे जानकारी लिन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विश्वराज सुवेदीलाई सम्पर्क राख्दा अनुसन्धानमा रहेका कुनै पनि फाईलबारे बताउन बाध्य नहुने जनाएर आफ्नो जिम्मेवारीबाट  पन्छिने प्रयास गरेपछि सिंहलाई जोगाउने षड्यन्त्रको गन्ध बाहिर आएको हो। सिंहविरुद्ध नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोमा पनि उजुरी परेको थाहा हुन आएको छ। सीआईबीका डीआईजी केशबहादुर शाही विरामी परेका कारण विदामा रहेकाले सिंहको अवैध सम्पत्ति शुद्धीकरण गर्न पहल हुन सकेको छैन्। निर्वतमान डीआईजी उपेन्द्रकान्त अर्यालले सिंहलाई पक्राउ गर्ने अन्तिम तयारी गरिरहेका बेला अर्यालको सरुवा भएपछि सिंहमाथि थप अनुसन्धान हुन सकेको छैन्।'  स्रोतका अनुसार सिंहको सवै भन्दा बढी रकम श्री लालिगुराँस सहकारी, लक्ष्मी बैंक, ईन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको खातामा रहेको छ। सिंहले अवैध तरिकाले आर्जित गरेको रुपैयाँ बैंकको लकरमा पनि राख्ने गरेका छन्। सिंहले २ सय ७० प्रतिशतका दरले ब्याजमा लगानी गरेका ब्यक्तिहरूले पैसा नदिए गाडी र चल अचल सम्पत्ति पीडितहरू जफत गरी कब्जामा लिने गरेका छन्। पीडितका अनुसार सिंहले न्यूनतम एक सयदेखि दुई सय ७० प्रतिशतको महंगो ब्याजदरमा घरजग्गा धितो राखेर पैसा लगानी गर्ने र तोकिएको मितिमा दिन नसकेको खण्डमा तत्काल घर जग्गा कब्जा गर्ने तथा कब्जा गर्न नसकेको खण्डमा आफ्ना पाल्तु गुण्डाहरूलाई लगाएर या प्रहरी प्रशासनको सहयोग लिएर भएपनि कब्जा गदै आएका छन्। कति छ सिंहसँग अवैध सम्पत्ति?  चितवनको भरतपुरस्थित नेपाल एयरवेजमा तत्कालिन स्टेशन म्यानेजर रहेका सिंह ७ बर्ष पहिले चाइनिज मोटरसाइकल चढदै कार्यलय जाने गर्दथे। तर यतिखेर सिंहसँग करोडौं पर्ने महंगा दर्जनौ गाडि र बङला रहेका छन्। त्यसैगरी सिंहले नगद तिरेर खरिद गरेको रेन्जरोभर गाडिको मुल्य दुई करोड पर्छ। त्यसका अतिरिक्त सिंहकी श्रीमती जयाश्रीकोे नाममा रहेको आईटेन कारको बजार मुल्य २८ लाख रुपैयाँ पर्छ। सिंहकी श्रीमती जयाश्रीको नाममा पुल्चोकस्थित रहेको श्री लालिगुराँस सहकारी संस्थामा ५० लाख रुपैयाँ बराबरको शेयर रहेको छ। सोही संस्थाको खातामा सिंहको ३० करोड भन्दा बढी रुपैयाँ भएको जानकारहरू बताउँछन्। सिंह उक्त सहकारी संस्थाको प्रमुख प्रवर्द्धक समेत हुन्। श्री लालिगुँरास सहकारीका अतिरिक्त सिंहको राजधानीम्ाा रहेका आधा दर्जन भन्दा बढी बैंकहरूमा लाखौंको शेयर र करौडौं रुपैयाँ खातामा रहेको छ। सिंहले कारोबार गर्ने अर्को वित्तिय संस्था लुम्बिनी फाईनान्स हो भने अर्को प्रमुख बैंक लक्ष्मी बैंक हो। लुम्विनी फाईनान्स र लक्ष्मी बैंकमा ५० लाख भन्दा बढी नगद रहेको बैंक स्रोतले बतायो। ४ करोड भन्दा बढी रुपैयाँ पर्ने एकान्तकुनामा रहेको घर सिंहकी श्रीमती जयाश्रीको नाममा रहेको छ। त्यसैगरी अवैध ब्याज असुलीका क्रममा रईश थापाबाट हत्याईएको कमलपोखरी ज्ञानेश्वरमा रहेको घरको बजार मुल्य १२ करोड भन्दा बढी पर्छ। सो घर पनि श्रीमती जयाश्रीको नाममा रहेको छ भने सिंहले नै थापाबाट हत्याएको अर्र्को चुनदेवीमा रहेको घरको मुल्य १४ करोड भन्दा बढी पर्छ। सो घर भने सिंहको नाममा रहेको बताइएको छ। त्यसैगरी ईम्पेरियल अर्पाटमेन्टमा डेढ करोड पर्ने अर्पाटमेन्ट छ भने सानेपामा सुधीर बस्नेतलाई ब्याज बापत धम्क्याएर लिएको एक करोड पर्ने अर्को घर छ। रविन्द्र मल्लले समयमा ब्याज तिर्न नसक्दा पटक पटक धम्क्याएर उनको १५ करोड पर्ने घर पनि सिंहले आफ्नो नाममा पारिसकेका छन्। प्राप्त यी विवरण बाहेक सिंहले आफ्ना ससुराली खलक सदस्यहरूको नाममा समेत एक दर्जन भन्दा बढी घर राखेको बताइएको छ।  सिंहका बारेमा समाचार प्रकाशित भएपछि सिंहले धमाधम आफुसँग रहेको दुई अर्व भन्दा बढी अवैध नगद तथा जिन्सी सम्पत्ति लुकाउन थालेको उनी निकट स्रोतले बताएको छ।   को–को छन् सिंहबाट पीडित?  गुण्डागर्दी गदै अवैध ब्याज असुली गर्ने सिंहबाट पीडित हुनेहरूको दर्जनौं सूची प्राप्त भएको छ। सिंहबाट पीडित हुनेहरूको सूचीमा घरजग्गाको काम गरेर टाट पल्टेका ब्यवसायी सुधीर बस्नेत, गुण एयर तथा गुण सहकारीका मालिक राजेन्द्र शाक्य, फिल्म निर्देशक मधुसुदन सिलवाल, चाल्स मेन्डिज, सिभिल बैंकका प्रशासक प्रमुख किशोर महर्जन, मनोज भेटवाल, प्रकाश बस्नेत, गोकुल पन्त, रविन्द्र मल्ल, पश्मिना ब्यापारी राजाराम बानियाँ, गोकुल थापा, महेश कार्की, रईश थापा, असोक राणा, पम्पी राणा, उद्धव केसी, प्रेम बराल, मुकुन्द मालाकारलगायत  रहेका छन्।   सिंहलाई क–कसले तिरे अवैध ब्याज:  संसारको कुनै पनि मुलुकमा नभएको अवैध ब्याज असुली गर्ने सिंहले कस–कसलाई सताएर कति अवैध ब्याज असुले भन्ने कुरा पनि पाठकलाई पत्याउन गाह्रो होला। तर यथार्थ यस्तो छ। सिंहले आफ्नै नाता पर्ने अशोक राणालाई ब्याजमा केही हप्ताको लागि एक करोड दिएका थिए।  राणाले समयमा सिंहलाई फिर्ता गर्न नसकेपछि पाँच महिनामा भित्र अर्को एक करोड तिरेको राणाको परिवार निकट स्रोतबाट थाहा भएको छ। यहाँसम्मकी राणा विरामी परेर आईसीयुमा राख्नु अगाडी मर्ने पो हो कि भन्दै नेपाली कागजमा ल्याप्चे थिचाउन समेत सिंह पछि परेनन्। घर–जग्गा र हाउजिङमा लगानी गरेर टाट पल्टिएका सुधीर बस्नेतलाई यो अवस्थासम्म पुर्याउने सिंहको अवैध ब्याजदरले पनि महत्वपूर्ण भुमिका खेल्यो। तीन करोड लिएका बस्नेतले ब्याज मात्र ६ करोड तिरिसकेका छन्। सिंहले बस्नेतसँग पुनः रकम दावी गर्न नछाडेपछि छुटकारा पाउन अरुलाई नै जिम्मा लगाईदिएका छन्। बस्नेतले समयमा ब्याज दिन नसक्दा बस्नेतका घर, अर्पाटमेन्ट र गाडि समेत सिंहले कब्जा गरेको बस्नेत निकट स्रोतको दावी छ। होटल ल्याण्डमार्कका मालिक रविन्द्र मल्लले तीन करोड रकम सिंहबाट लिएकोमा ६ करोड भन्दा बढी त ब्याज नै तिरे। तैपनि मल्ललाई सिंहले सताउन नछाडेपछि १५ करोड पर्ने घर नै नामसारी गरेपछि मल्ल सिंहबाट मुक्त भएका छन्। त्यसैगरी सिंहको अवैध ब्याजबाट पीडित हुने अर्का ब्यवसायी हुन्: राजेन्द्र शाक्य। शाक्य गुण सहकारी, गुण एयर र गुण कोलनीका संचालक हुन्। शाक्यले सिंहबाट ३ करोड रुपैयाँ ब्याजमा लिएकोमा साँवा र ब्याज गरी ८ करोड रुपैयाँ तिरेका छन्। शाक्यले सिंहलाई ब्याज तिर्न नसक्दा शाक्यको पनि गाडि कब्जा भएको थियो। सिंहको अवैध ब्याज र गुण्डागर्दीका अर्का शिकार हुन्, उद्धव केसी। केसीले ब्याजमा सिंहबाट दुई करोड रुपैयाँ लिएका थिए। केसीले ब्याज मात्र ८ करोड सिंहलाई तिरिसकेको पारिवारीक स्रोतको दावी छ। पटक–पटक ब्याजका लागि सिंह केसीको घरमा पुगेर तीन बर्षिया बालिका छोरीको कन्चटमा पेस्तोल राखेपछि बाध्य भएर नेपाल छाडेको बताईएको छ। सिंहले अवैध ब्याज समयमा नपाएकै कारण एक रात अपहरण गरेर समेत राखेको खुल्न आएको छ। केसीका जवानीकर्ता प्रकाश बस्नेतले समेत ब्याज र साँवाको लागि बेला बेलामा सिंहको मानसिक यातना खेप्नु परिरहेको छ। बस्नेतले पनि सिंहबाट ३ करोड रुपैयाँ लिएकोमा ब्याजबापत ३ करोड नै तिरिसकेका छन् भने पुनः बस्नेतसँग सिंहले थप ३ करोड मागिरहेका छन्।  सिंहको गुण्डागर्दीको शिकारमा पर्ने अर्का ब्यवसायी प्रेम बराल हुन्। केही महिना पहिले सिंहले बराललाई हनुमानढोका लगेर पनि थुनाएका थिए। बरालले सिंहबाट ३ करोड रुपैयाँ ब्याजमा लिएका थिए। समयमा साँवा फिर्ता गर्न नसक्दा बरालले ब्याज मात्र ६ करोड तिरिसकेका छन् भने सिंहले बरालसँग पुनः ४ करोड लिन बाँकी छ भन्दै सताउन छाडेका छैनन्। आकाशेपुल निर्माण गर्ने ठेकदार मनोज भेटवाल पनि सिंहबाट पीडित हुन्। २ करोड रुपैयाँ सापटी लिएका भेटवालले नियमित ब्याज तिरिरहेका छन्। तर भेटवाललाई ब्याज तिर्न ढिलाई हुनासाथ सिंहले धम्क्याएर जिन्सी सामान समेत उठाउने गरेका छन्। दवारमार्गका पश्मिना ब्यापारी राजाराम बानियाँलाई त सिंहले नजरवन्दमा राखेका छन्। कुनै बेला हस्ती ब्यापारीका रुपमा चिनिने बानियाँ ब्याज तिर्दा तिर्दा टाट पल्टिसकेका छन्। सिंहबाट ६ करोड लिएका बानियाँले समयमा रकम फिर्ता गर्न नसकेपछि ब्याज मात्र १० करोड तिरिसकेका छन्।   सिंहको मनलाग्दी ब्याजका कारण पीडित बनेका राजारामसँग सिंहले पुनः बीस करोड दावी गरिरहेको खुल्न आएको छ। त्यसो त बानियाँले प्रेम बराल, राजकुमार बराल र सशत्र प्रहरीका पूर्व डीआईजी मादव थापालाई पनि करोडौ तिर्नु रहेको छ। बानियाँको दरबारमार्गमा रहेको करौडौं पर्ने घर पास गरेर लिन सिंह,बराल र थापा लागि परेको समाचार स्रोत बताउँछ। काठमाडौं मल किन्ने मिठो सपना बुनेका गोकुल थापा, मुकुन्द मालाकार र महेश कार्कीको समुह पनि सिंहबाट पीडित हुन्। यो समुहलाई पनि सिंहले पटक पटक कन्चटमा पेस्तोल तेर्स्याई अवैध ब्याज असुलेका थुप्रै घटना छन्। काठमाडौं मल किन्नका लागि यो समुहले सिंहबाट केही समयका लागि एक करोड रुपैयाँ लिएको थियो। तर समयमा पैसा फिर्ता गर्न नसकेपछि यो समुहले एक महिनामा एक करोडको ब्याज एक करोड नै तिर्नु परेको थियो। त्यसो त महेश कार्कीको होण्डासिटी गाडि सिंहले नै कब्जा गरेर आफ्नो घर एकान्तकुनामा राखेका छन्। काठमाडौं मलका मालिक पम्पी राणाले भने सिंहसँगको कारोबार मिलिसकेको बताएका छन्। राणाले सिंहबाट ३ करोड रुपैयाँ ब्याजमा लिएर चलाएका थिए। होटल सांग्रिलाका मालिक श्यामबहादुर पाण्डेका ज्वाई रईश थापाको त सिंहले धम्क्याएर अवैध ब्याजबापत दुई वटा घर नै खाई दिएका छन्। चाल्स मेन्डीजले पनि सिंहबाट लाखौं रुपैयाँ सापटी लिएका थिए। चाल्स मेन्डीजलाई त सिंहले बाउन्स चेकमा थुनाए पनि। सिंहले चाल्सका जवानीकर्ता सिभिल बैंकका प्रशासक प्रमुख किशोर महर्जनलाई समेत छाडेनन्। महर्जनले बेकारमा सिंहको गुण्डागर्दी सहन नसकेर ७० लाख रुपैयाँ तिर्नु परेको थियो। चाल्सले पनि एक करोड रुपैयाँ सापटी लिएकोमा दुई करोड त ब्याज नै तिरेका थिए। त्यसैगरी सिंहको शिकारमा नेपाली फिल्म उद्योगका निर्माता तथा निर्देशक मधुसुदन सिलवाल पनि परेका छन्। सिंहका कारण सिलवाल यतिखेर सडकमा नै पुगेका छन्। पीडितहरूका अनुसार सिंहले अवैध ब्याज बैकमा जम्मा गर्न नलगाई नगदै लिदै आएका छन्। बैंकमा पैसा जम्मा गर्दा धन्दा खुल्ने डरले सिंहले नगदमै कारोबार गर्ने गरेको पीडित थापा थरका एक ब्यवसायी बताउँछन्।   यी हुन् सिंहका सहयोगी   विशेष सहयोगीका रुपमा चिनिएका बानेश्वरका कृष्णबहादुर थापा सिंहका धर्मपुत्र हुन्। सिंहले थापालाई पैसा ल्याउने र लैजाने काममा प्रयोग गर्ने गरेका छन्। विशेषगरी नेपाली सेनाका उच्च तहका मान्छेहरूसँग सम्वन्ध भएका थापालाई त्यसैको फाईदा उठाउन सिंहले धर्मपुत्र बनाएका हुन्। खानदानी परिवारमा हुर्किएका थापा स्वर्गीय रामबहादुर थापा (पूर्व चिफ कन्जरभेटर)का नाती हुन्।   पुर्खौली सम्पत्ति प्रशस्त भएका थापालाई रुपैयाँको लागि भन्दा पनि सिंहले परेको बेला शक्ति देखाउने काममा प्रयोग गर्ने गरेका छन्। सिंहको अवैध ब्याज असुल्न पनि थापा प्रयोग हुने गरेको पीडितहरूको आरोप छ। त्यसैगरी सिंहका अर्का सहयोगी धनाड्य युवा ब्यापारी संजीवसिंह हमाल हुन्। हमाललाई समेत सिंहले वैध अवैध काममा बेला बेलामा प्रयोग गर्ने गरेका छन्। त्यसो त हमालले पनि सिंहमार्फत महंगो ब्याजदरमा पैसा लगानी गर्ने गरेको स्रोतको दावी छ। थापा र हमालको आफ्नै अस्तित्व रहेपनि किन सिंह जस्ता अवैध काम गर्ने ब्यक्तिका पछाडि गोटी बनिरहेका छन्? त्यो भने बुझिनसक्नु भएको छ।   

_____ · Dec 19, 2012 12:26 PM

 

_____ · Dec 19, 2012 12:36 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all