[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भाइरल सेलरोटि पसलेको कथा
[VIEWED 1090 TIMES]
SAVE! for ease of future access.
Posted on 04-01-24 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(यो सेतोपाटीमा प्रकाशित प्रिमियम स्टोरी हो। सदस्यहरूले मात्र पढ्न पाउने यो स्टोरी हामीले सेतोपाटीको ११औं वार्षिकोत्सवका अवसरमा केही दिनका लागि निःशुल्क पढ्न उपलब्ध गराएका छौं।)

साधारण-असाधारण

भरत तामाङ काठमाडौंको जनबहालमा सेलरोटी पकाएर बेच्थे।

एकदिन एक जना साथीले उनको भिडिओ खिचे र सोधे, 'तेरो भिडिओ टिकटकमा हाल्दिम्!'

'अहँ,' भरतले छोटो जवाफ दिए।

'हालम् न हालम्, केही हुन्न,' साथीले जिद्दी गरे।

भरत तै पनि मानेनन्।

उनले नाइँ नाइँ भनिरहे, साथीले करकर गरिरहे।

साथीको जोडबलका अगाडि भरतको केही जोड चलेन।

उनले सेलरोटी पकाउँदै गरेको भिडिओ पहिलोचोटि टिकटकमा अपलोड भयो।

आफ्नै भिडिओ देखेर भरत लाजले रातोपिरो भए। जग-हँसाइ भयो भनेर साथीसँग जंगिए। अबदेखि यस्तो काम कहिल्यै नगरेस् भनेर चेतावनी पनि दिए।

त्यसै दिन जब उनी घर पुगे, मोबाइलमा नोटिफिकेसनको ओइरो थामिनसक्नु थियो। साथीले बलजफ्ती हालेको भिडिओ हज्जारौंले हेरिसकेका थिए। हज्जारौंले उनको भिडिओ मनपराएर लाइक गरिसकेका थिए। कमेन्ट गर्ने त कति कति!

त्यसपछि त उल्कै भयो।

जनबहालमा उनको पसल खोज्दै सेलरोटी खान आउनेहरू ह्वात्तै बढे। पहिले मुस्किलले दिनको डेढ सयवटा सेल बेच्ने भरतले दैनिक छ सयभन्दा बढी बेच्न थाले। उनलाई बिहानदेखि बेलुकीसम्मै भ्याइनभ्याइ भयो।

यो दुई वर्षअघिको कुरा हो। यो घटनाबाट हौसिएका भरतले आफ्नो भिडिओ खिचेर आफैं टिकटकमा हाल्न थाले। जति धेरै भिडिओ हाल्थे, पसलमा ग्राहकको चाप उति बढ्थ्यो।

एकदिन साथीहरूले सेलरोटी पकाउँदै गरेको लाइभ भिडिओ देखाउन सुझाए।

जसै उनको भिडिओ लाइभ भयो, पहिलेभन्दा कयौं गुणा बढी मान्छे उनीसँग जोडिन पुगे। उनको लाइभमा दर्शक संख्या २७ हजारसम्म पुगेको रेकर्ड छ।

यसरी टिकटक भिडिओ हेरेर उनको हातको सेलरोटी खान आउनेहरू सबै एउटै कुरा भन्थे, 'तपाईंको भिडिओ त भाइरल छ नि!'

त्यस दिनबाट भरत तामाङको नाम फेरियो।

उनलाई सबैले 'भाइरल भाइ' भन्न थाले।

र, उनको पसलको नाउँ रह्यो — भाइरल सेलरोटी पसल।

सामाजिक सञ्जालमा भाइरल हुनु एउटा कुरा; भाइरल भएपछि आफ्नो साख जोगाएर राख्नु वा त्यसलाई बढाउँदै लैजानु अर्को।

भरत तामाङ वा 'भाइरल भाइ' यी दुवैमा असाधारण छन्।

हेर्दा साधारण देखिने र सेलरोटीको 'साधारण' व्यवसाय गर्ने उनको व्यक्तित्व नै असाधारण छ। जीवनप्रति उनको उत्साह, कामप्रति उनको जाँगर, सेलरोटी खान आउने ग्राहकप्रति उनको समर्पण सबै असाधारण छन्। यिनै असाधारण गुणका कारण उनको व्यवसाय चम्किएको छ; उनको जिन्दगीले गति समातेको छ।

टिकटकबाट ख्याति कमाएका २४ वर्षीय भरतले भिडिओ सँगसँगै आफ्नो हातको जादू नदेखाएका भए आज दुई वर्षपछि पनि उनको पसलमा सेलरोटी खाने ग्राहकहरूको उधूम भीड लाग्ने थिएन। उनको ख्याति पानीको फोकाझैं भुलुक्क उठ्थ्यो र मिलिक्कै बिलाइजान्थ्यो।

तर उनले त्यसो हुन दिएनन्।

भिडिओ हेरेर खोजी खोजी आउने ग्राहकहरूलाई भरतले सेलरोटीको यस्तो स्वाद चखाए, एकचोटि आएकाहरू दोहोर्‍याइ-तेहर्‍याइ आउन थाले। एक्लै आएकाहरू दुक्लै-तिक्लै आउन थाले। पसलमै आएर खाएकाहरूले प्याक गरेर घर पनि लग्न थाले।

काठमाडौंका कुनाकाप्चादेखि र नेपाली मात्र नभएर विदेशी पर्यटकहरूसमेत धुइरिन थालेपछि जनबहाल चोक भरतको निम्ति साँघुरो भयो। त्यही बेला काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरूले सडक व्यवसायीलाई धमाधम लखेट्न थालेपछि भरतलाई जनबहालमा बसेर सेल बेच्न गाह्रो पर्‍यो।

करिब छ महिनाअघि उनी सडकबाट पसलमा सरे।

इन्द्रचोकबाट असनतिर जाँदा जनबहाल नाघेर अलिकति अगाडि बढेपछि सडकको दायाँपट्टि बालकुमारी मन्दिर र बायाँपट्टि ऐतिहासिक 'पल्टन घर' छ। बाहिर भाँडा पसलहरूको लश्कर देखिने पल्टन घरको ढोकाबाट जसै भित्र छिर्नुहुन्छ, तपाईं एउटा गल्लीमा पुग्नुहुन्छ। त्यही गल्लीभित्र दायाँतिर पर्छ, भरत तामाङको भाइरल सेलरोटी पसल।

यति विवरण पढेपछि तपाईंको दिमागमा पक्कै नक्सा बन्यो होला!

नबनेको भए पनि केही छैन — पल्टन घर छेउछाउ पुगेर 'यहाँ भाइरल सेलरोटी पसल कहाँ छ' भनेर जो-कसैलाई सोध्नुहोस्, तपाईं ठ्याक्कै गन्तव्यमा पुग्नुहुन्छ!

यो सेलरोटी पसलसँग हाम्रो पहिलो साक्षात्कार टिकटकले नै गराएको थियो। जति बेला नेपालमा टिकटकमाथि प्रतिबन्ध लागिसकेको थिएन, एउटा तन्नेरी केटो हरेक दिनजसो टिकटक लाइभमा सेलरोटी पकाउँदै गरेका देखिन्थे। तपाईं पनि टिकटक चलाउनुहुन्थ्यो भने उनको लाइभ भिडिओ वा उनले टिकटकमा अपलोड गरेका अन्य भिडिओहरू देख्नुभएकै होला!

'जिम्बा ब्रो' नामको आइडीबाट लाइभ आउने भरत तामाङका तिनै भिडिओ हेरेर हामी एकदिन बिहान सोध्दै-खोज्दै उनको पसल पुगेका थियौं।

Selroti9-1702296298.jpg
टिकटक लाइभको तयारी गर्दै भरत तामाङ। तस्बिर: निशा भण्डारी/सेतोपाटी

बिहान साढे ७ बजेको थियो। भरत छातीमा कालो एप्रोन र टाउकोमा निलो प्लास्टिकको टोपी लगाएर सेलरोटी पकाउँदै थिए। टिकटकमा लाइभ सुरू भइसकेको थियो। पसल वरिपरि पाँच-छ जना व्यक्ति चिया पिउँदै कराहीबाट भर्खर झिकेको तात्तातो सेल पर्खिरहेका थिए।

भरत कहिले आफ्ना प्रत्यक्ष ग्राहकहरूसँग कुरा गर्थे, कहिले मोबाइल क्यामरातिर फर्केर अप्रत्यक्ष ग्राहकहरूसँग लाइभमा गफिन्थे।

आमा गोमा उनलाई सेल पकाउन सघाउँदै थिइन्। छेउमा उनका दिदी र बहिनी आलु तरकारी बजार पुर्‍याउन दुनामा सजाउँदै थिए।

हामी बस्दाबस्दै दस मिनेटमा पन्ध्र-बीस जना मान्छे आए। उनीहरूले त्यहीँ बसी बसी चिया र तातो सेल खाए। अलि बेरपछि भरत ठूलो ट्रेमा सेल राखेर जनबहालतिर निस्के।

जनबहालको व्यस्त चोकमा सेल बेच्नेहरू अरू पनि थिए। तर जसै भरतले सडक किनार आफ्नो दोकान सजाए, मान्छेहरू अरू सेलवालालाई छाडेर उनकैमा झुम्मिए। भरतको सेल अरूको भन्दा महँगो छ। उनी प्रतिगोटा २५ रूपैयाँ लिन्छन्, जबकि अरूको सेल १५ मै पाइन्छ। तर ग्राहकहरूले भरतको सेललाई १० रूपैयाँ बढी तिर्न कुनै आनाकानी गरेनन्।

उनको सेल हेर्दैमा राम्रो पनि थियो। अरूको सेल सानो र चिल्लो देखिन्थ्यो। भरतको भने बाहिर काँडा उठेका, भित्र खोक्रो, चिल्लोरहित र खाँदा चुरूमचुरूम गर्ने सेल थियो।

आठ बजेतिर काठमाडौं महानगरका नगर प्रहरीहरू सिठ्ठी फुक्दै आए। भरत बेच्न बाँकी सेल बोकेर आफ्नो पसल फर्के। र, दिउँसोका लागि सेल पकाउन तल्लीन भए।

यसबीच टिकटक लाइभ जारी थियो। लाइभमा कमेन्ट ओइरिएका ओइरियै थिए। भरतलाई भने जवाफ दिने फुर्सद थिएन।

हामीलाई लाग्यो — यिनको फुर्सद कुर्न थाल्यो भने दिन बित्छ!

त्यसैले उनको व्यस्तताबीच नै हामीले कुराकानीको सिलसिला अघि बढायौं र सोध्यौं, 'साह्रै भ्याइनभ्याइ पो हुँदो रहेछ है!'

तातो तेलमाथि एकोहोरो हात घुमाएको घुमायै गरिरहेका भरतले पुलुक्क हामीतिर हेरे र बिस्तारै मुख पनि चलाउन थाले, 'यी देखिहाल्नुभो, तपाईंहरू यहाँ आएकै डेढ-दुई घन्टा हुन लागिसक्यो। एकछिन फुर्सदमा देख्नुभो त मलाई! यस्तै हुन्छु दिनभर।'

'यस्तोविधि भाइरल भएपछि कस्तो लाग्दैछ त?'

उनी एकछिन चुप्प लागे।

दुइटा सेल पकाए, अनि निकै सोचविचार गरेर भने, 'मैले खासै केही अनौठो काम त गरेको होइन। हाम्रा घरमा आमा-दिदीहरूले वर्षौंदेखि गर्दै आउनुभएकै काम हो। तर यो टिकटक भिडिओ भन्ने जात अचम्मकै हुँदो रहेछ। मेरो साधारण कामलाई पनि उधूमै हिट बनाइदियो।'

यसो भन्दै गर्दा उनी पुलकित देखिएका थिए।

'पत्याउनुहुन्छ!' उनी भन्दै थिए, 'अचेल त काठमाडौं बाहिरबाट समेत मान्छेहरू मेरो पसल खोज्दै आउँछन्। टिकटक लाइभ हेरेदेखि तपाईंको सेल चाख्न मन लागेको थियो भन्छन् र एकैचोटिमा चार-पाँचवटा खाएर जान्छन्।'

एकचोटि त कतिसम्म भयो भने, केही चिनियाँ पर्यटक खोज्दै खोज्दै उनको पसल आइपुगेछन्। तीमध्ये एक जनाले निकै बेर सेल पकाएको हेरे। कसरी पकाउने भनेर सिके। त्यसपछि भरतले सेल पकाउन प्रयोग गर्ने कराही र लठ्ठी किन्छु भनेर जिद्दी गर्न थाले।

ती पर्यटकले भनेछन्, 'मेरी श्रीमती तिम्रो टिकटक लाइभ सधैं हेर्छे। ऊ तिम्रो एकदमै ठूलो फ्यान हो। उसले नै तिमीले प्रयोग गर्ने कराही र लठ्ठी जसरी भए पनि किनेर ल्याउनू भनेकी छे।'

यो सुनेर भरतलाई के भन्नु, के भन्नु भएछ!

उनले ती पर्यटकलाई सेल पकाउने कराही र लठ्ठी बजारमा सजिलै किन्न पाइन्छ भनेर सम्झाएछन्। बरू पसल चिन्न गाह्रो परे आफू पनि सँगै गइदिनेसम्म भनेछन्।

तर ती पर्यटकले मान्दै मानेनन्।

'मैले प्रयोग गर्ने कराही र लठ्ठी नै चाहियो भनेर हैरान पारे,' भरतले थोरै लाज र थोरै खुसी मिसिएको लवजमा भने, 'आखिरमा हार खाएर मैले आफ्नै सामान बेचेर पठाइदिएँ।'

'सेलरोटी पकाउने यत्रो खुबी चाहिँ कहाँबाट आयो त?'

हाम्रो यो प्रश्नको जवाफमा भरतले भने, 'थोरै परिस्थितिले सिकायो, थोरै आवश्यकताले।'

'कस्तो परिस्थिति? कस्तो आवश्यकता?'

'यसको पछाडि लामो कथा छ,' यति भनेर भरत आफ्नो अतीततिर फर्किए।

Selroti21-1702296623.jpg
जनबहालमा सेल बेच्दै भरत तामाङ। तस्बिर: निशा भण्डारी/सेतोपाटी

काठमाडौंको चमती बस्ने भरतको कथा सुरू हुन्छ उदयपुरको मौवासीबाट, जुन उनको जन्मथलो हो।

आमा, बुबा, दिदी, बहिनी र दुई जना भाइसहित भरतको सात जनाको परिवार थियो। आर्थिक स्थिति राम्रो थिएन। त्यही भएर भरत सानै छँदा उनका बुबा गडुल तामाङ कमाइ गर्न परदेशिएका थिए।

कमजोर आर्थिक स्थितिकै कारण भरतले राम्ररी पढ्न पाएनन्। उनी गाउँकै सरकारी स्कुलमा भर्ना भएका थिए, तर घरायसी कामले नियमित स्कुल जान पाउँथेनन्। उनको दैनिकी नै हातमा हँसिया र नाम्लो समाएर सुरू हुन्थ्यो। एक भारी घाँस भित्र्याएपछि बल्ल उनी स्कुल जान पाउँथे। बेलुकी स्कुलबाट फर्केपछि पनि कि अर्को भारी घाँस काट्न जानुपर्थ्यो, कि बाख्रा चराउन। फुक्काफाल पढाइमै एकोहोरिने समय उनले कहिल्यै पाएनन्।

पढ्न समय नपाए पनि उनी पढाइमा तेज थिए। त्यसैले आठ कक्षासम्म गाउँमा पढ्दा उनी सधैं पहिलो भए। त्यसपछि चाहिँ उनको पढाइमा पहाड तेर्सियो।

गाउँको स्कुलमा आठ कक्षाभन्दा बढी पढाइ हुन्थेन। नौ र दस पढ्न डेढ घन्टाको उकालो छिचोलेर उदयपुरगढी पुग्नुपर्थ्यो। एकातिर घरायसी कामको चटारो, अर्कातिर स्कुल नै टाढा भएपछि पढाइ उनका लागि अतिरिक्त काम बन्न पुग्यो। कामबाट छुट्कारा पाएको दिन मात्र उनी स्कुल जान पाउँथे। यसले उनी पढाइमा पछि पर्दै गए।

आठ कक्षासम्म पहिलो हुँदै आएका भरतले एसइईमा 'सी' ग्रेडमै चित्त बुझाउनुपर्‍यो।

नतिजा जस्तोसुकै आओस्, भरतको मनमा काठमाडौं गएर पढ्ने हुटहुटी थियो। घरको आर्थिक अवस्था बुझेकाले मनको हुटहुटी आमासँग पोख्न भने सकेका थिएनन्।

के गर्ने, कसो गर्ने उधेडबुनमा एकदिन अचानक भरतले एउटा बाटो देखे।

त्यो बेला उनकी दिदी सविता काठमाडौंमै बस्थिन् र कालिमाटी तरकारी बजारमा क्यान्टिन चलाउँथिन्।

भरतले आफ्नो मन दह्रो पारे र आमालाई भने, 'म केही दिन काठमाडौं जान्छु, दिदीकहाँ।'

'किन?' आमाले सोधिन्।

'यसै केही दिन घुमेर आउँछु,' उनले जवाफ दिए।

दिदीसँगै बसेर काठमाडौं घुम्छु भनेपछि आमाले नाइँनास्ती गरिनन्। बरू उनी पनि भरतसँगै काठमाडौं घुम्न आइन्। यो २०७३ सालको कुरा हो।

संसारभरिका सहरमा एउटा यस्तो तत्व हुन्छ, जसले बाहिरका मान्छेलाई आफूतिर आकर्षित गर्छ, चुम्बकले फलाम तानेजस्तै। काठमाडौंसँग पनि देशभरिका मान्छेलाई आफूतिर तान्ने चुम्बकीय शक्ति छ। त्यही शक्तिले भरतलाई पनि तान्यो।

केही दिन काठमाडौं घुमघाम गरेपछि उनलाई गाउँ फर्किन मन लागेन।

उनले धक मानी मानी आमासँग भने, 'आमा, म यतै बस्छु। गाउँ जान्नँ।'

छोराको कुरा सुनेर आमा छक्क परिन् र सोधिन्, 'के गर्छस् तँ यहाँ?'

भरतसँग जवाफ त थियो। उनी 'म पढ्छु आमा' भन्न चाहन्थे। तर काठमाडौं बसेर पढ्ने आर्थिक हैसियत छैन भन्ने उनलाई राम्ररी थाहा थियो। त्यसैले मनको इच्छा मनकै बाकसमा गुटुमुटु पारेर उनले जवाफ दिए, 'काम गर्छु, मिल्यो भने यतै पढ्छु।'

आमाले निकै सोचविचार गरिन्।

घरको अवस्था नियालिन्।

छोराले काठमाडौंमै बसेर काम गर्न थाले उसको र परिवारको भविष्य राम्रो होला भनेर उनले सहमति जनाइन्।

दिदीभाइ सँगै बस्ने भएकाले पनि उनी ढुक्क भएर एक्लै गाउँ फर्कन राजी भएकी थिइन्।

त्यो बेला दिदी सविता कालिमाटीमा बस्थिन्। भरत दिदीसँगै बसेर कालिमाटीको निलबाराही कलेजमा पढ्न थाले। उनी नियमित कक्षा लिन्थे। पढाइमा खुब मिहिनेत पनि गर्थे। तर दुर्भाग्य! जति कोसिस गर्दा पनि पढाइमा राम्रो गर्न सकेनन्। अंग्रेजीको आधारभूत ज्ञान कम भएकाले ११ कक्षा कटाउन निकै गाह्रो परेको भरतले सुनाए।

'कलेज भर्ना त भएँ, तर अंग्रेजी विषय पास गर्न निकै गाह्रो भयो,' उनले भने।

उनले जेनतेन ११ कक्षा पास गरे, त्यसपछि चाहिँ उनलाई अगाडि पढ्न मन लागेन। बाह्र कक्षा पढ्दा पढ्दै उनले पढाइमा ब्रेक लगाए र पूर्णकालीन रोजगारीमा लाग्ने निधो गरे।

परिवारको आर्थिक कठिनाइले पनि उनलाई जतिसक्दो छिटो रोजगारीमा लाग्न घच्घच्याइरहेको थियो।

भरतले सबभन्दा पहिला दिदीकै क्यान्टिनबाट काम सुरू गरे।

सविता कालिमाटी तरकारी बजारको क्यान्टिनमा चिया-खाजासँगै सेलरोटी पनि पकाएर बेच्थिन्। भरत उनलाई सेल पकाउन सघाउन थाले।

'अनि तपाईंलाई सेल पकाउन पहिल्यै आउँथ्यो कि दिदीसँगै सिक्नुभयो?'

जवाफमा भरतले भने, 'गाउँमा हुर्केको मान्छे पो हुँ, अलि अलि त पहिल्यै आउँथ्यो नि! दसैं-तिहारमा आमाले पकाएको हेर्दाहेर्दै सेल पकाउन सिकेको थिएँ। बिस्तारै म त कति पारंगत भएछु भने, गाउँमा पूजाआजा हुँदा पनि सेल पकाउन मैलाई बोलाउन थाले। म पनि जसले बोलाए पनि खुसी हुँदै जान्थेँ।'

'आफूलाई सेल अत्ति मनपर्ने, अनि पकाउन गइयो भने जत्ति पनि खान पाइने। खान पाइने भएपछि किन नजानू त, होइन!' भरतले खित्का छाड्दै भने, 'जसले मह काढ्छ, उसले हात चाट्छ भन्ने थाहा छ नि तपाईंलाई!'

यसरी गाउँमै सेल पकाउन सिपालु भरतलाई कालिमाटी क्यान्टिनमा दिदीलाई सघाउन कुनै गाह्रो भएन। सविता जति मज्जाले रोटी घुमाउँथिन्, भरतको हात पनि त्यति नै मज्जाले घुम्थ्यो। दिदीले बनाएको हो कि भाइले, रोटीको बनोट हेरेर वा स्वाद चाखेर ग्राहकहरू छुट्टयाउनै सक्थेनन्।

यसले भरत हौसिए।

पछि पछि त क्यान्टिनमा सेल पकाउने काम भरतले नै गर्न थाले।

कालिमाटी क्यान्टिनमा काम गर्दागर्दै भरतको जिन्दगीमा नयाँ मोड आयो — उनले एउटा म्युजिक भिडिओमा नाच्ने अवसर पाए।

त्यो उनले सपनामा पनि नचिताएको काम थियो। किनभने, उनलाई नाचमा खासै रूचि थिएन। बाजाको तालमा हात र खुट्टा हल्लाउनुबाहेक उनले भाँती पुर्‍याएर नाच्न जानेका पनि थिएनन्। तर एक जना साथीले कर गरेर उनलाई म्युजिक भिडिओको सुटिङमा लगे र क्यामरा अगाडि नाच्ने समूहमा मिसाइदिए।

'गाउँमा कहिल्यै ननाचेको मान्छे म, साथीले जबर्जस्ती गरेपछि उसको भनाइ राख्नलाई भए पनि सुटिङमा गइदिएँ,' भरतले भने, 'सुरूमा त धेरै टेक खाइयो। सानो स्टेप गर्न पनि धेरै समय लाग्थ्यो। अरूले खुरूखुरू गर्थे, मलाई चाहिँ दोहोर्‍याइ-तेहर्‍याइ गर्नुपर्थ्यो।'

जसोतसो पहिलो म्युजिक भिडिओको सुटिङ पूरा भयो।

त्यसपछि चाहिँ भरतलाई पनि नृत्यमा टक बस्यो। सेलरोटी घुमाएरभन्दा कम्मर मर्काएर बढी कमाइन्छ कि भन्ने लागेर उनले नृत्यको औपचारिक तालिम लिए। उनको नाच सुधारिँदै गयो। एकपछि अर्को म्युजिक भिडिओमा काम गर्ने अवसर पनि पाए। अहिलेसम्म दुई सयभन्दा बढी म्युजिक भिडिओमा काम गरिसकेको उनी बताउँछन्।

'प्रियंका कार्कीदेखि नेपालका थुप्रै चर्चित कलाकारको म्युजिक भिडिओमा साइड डान्स गरेको छु,' उनले भने, 'तपाईं पनि हेर्नुहोस् है, युट्युबमा छ मैले नाचेका भिडिओहरू।'

'त्यति धेरै म्युजिक भिडिओमा काम गरेको मान्छे फेरि किन सेल पकाउन थाल्नुभयो त?' हामीले सोध्यौं।

यो प्रश्नमा उनी अलि खिन्न देखिए।

'एउटा म्युजिक भिडिओमा साइड डान्स गरेको दिनको ९ सय रूपैयाँ पाइन्थ्यो,' उनले भने, 'खासमा साइड डान्स गर्नेलाई दैनिक हजार रूपैयाँ दिनुपर्ने हो, तर सय रूपैयाँ कमिसन काटिन्थ्यो। हामीजस्ता साइड डान्सरहरूलाई भेला गराएबापत् हरेकको पारिश्रमिकबाट सय रूपैयाँ कमिसन काट्ने चलन रहेछ।'

भरतलाई यो चलन चित्त बुझेन।

'आफूले दिनभरि मिहिनेत गर्‍यो, अनि ज्यालाको केही हिस्सा बीचको मान्छेले यत्तिकै खाइदिने, यो त भएन नि!' उनले असन्तुष्टि जनाए, 'म्युजिक भिडिओबाट हुने कमाइ पनि मलाई चित्त बुझेन। सुटिङमा जाने-आउने भाडा र खाजापानीमै धेरै पैसा सकिने, त्यसरी त कसरी बाँच्न सकिन्छ!'

यही असन्तुष्टिले भरतले आफ्नो जिन्दगीको बाटो फेरि सेलतिरै घुमाए।

यति बेलासम्म उनकी दिदी सविता कालिमाटीको क्यान्टिन छाडेर असन, जनबहाल र इन्द्रचोकतिर सेल बेच्न थालेकी थिइन्।

संयोग कस्तो पर्‍यो भने, भरतले म्युजिङ भिडिओको काम छाडेर फेरि सेल पकाउने निधो गरेकै बेला सवितालाई एसइईको पूरक परीक्षा दिन गाउँ जानुपर्ने भयो। उनी जाँच दिएर नफर्कुञ्जेल सेल व्यापार बन्द हुने भयो भनेर सुर्ता मान्दै थिइन्।

दिदीको सुर्तामा समाधान बनेर आए भरत।

उनले दिदीको सट्टा आफैं सेल पकाउने र दिदीले जस्तै असन, जनबहाल र इन्द्रचोकमा घुम्दै सेल बेच्ने जिम्मेवारी बोके।

'मलाई सेल पकाउन त राम्ररी नै आउँथ्यो, तर त्यसरी सडकमै बसेर पकाएको चाहिँ थिइनँ,' भरतले पहिलो दिन सडक किनार बसेर सेल पकाउँदाको क्षण सम्झिए, 'सुरूमा त निकै लाज लाग्यो नि! कोही चिनेको मान्छेले देखे भने के गर्ने होला भनेर मुटु ढुकढुक गरिरहन्थ्यो।'

'अनि कसैले देखेन त?' हामीले सोध्यौं।

'खोई, उनीहरूले त देखे कि देखेनन् थाहा छैन, तर मैले चाहिँ एक-दुईचोटि चिनेका साथीहरू बाटोमा हिँड्दै गरेको देखेँ,' उनले भने, 'मलाई त उनीहरूलाई देख्नेबित्तिकै कहाँ भागूँ, कहाँ लुकूँझैं भयो। सेल पोल्दापोल्दै चुह्लोको ग्यास बन्द गरेर सिलिन्डरकै पछाडि मुन्टो लुकाउँथेँ।'

यसो भन्दै गर्दा भरत लाज मानेझैं गर्दै थिए र मुसुमुसु हाँस्दै पनि थिए।

उनले अगाडि भने, 'तर यो लाज भन्ने चिज पनि मान्छेको सोचाइ मात्र रहेछ। बिस्तारै मलाई के लाग्दै गयो भने, चाहे सडक किनारमा बसेर बेचूँ वा पसल थापेर; मैले कसैलाई लुटेर, ठगेर त खाएको होइन नि! न केही बिराम गरेको हुँ, न कसैको केही बिगारेको हुँ। मिहिनेत गरेर खान के को लाज! यत्ति कुरा दिमागमा आएपछि म निर्धक्क भइहालेँ। जोसुकैले देखोस्, जसले जेसुकै भनोस्, म ढुक्कै आफ्नो काम गर्न थालेँ।'

Selroti15-1702297251.jpg
बजार घुमी घुमी सेल बेच्दै भरत तामाङ। तस्बिर: निशा भण्डारी/सेतोपाटी

परिस्थितिले मान्छेमा दुइटा परिवर्तन ल्याउँछ — एउटा, जीवनलाई नयाँ ढंगले हेर्न सिक्छ र अर्को, ऊ ज्यान दिएर परिश्रम गर्न थाल्छ।

भरतको जिन्दगीमा पनि यी दुवै परिवर्तन देखिए।

उनी आफ्नो कामलाई सम्मान गर्न थाले। काम चाहे जस्तोसुकै होस्; यदि त्यसमा इमानदारी छ, यदि त्यसले अरूलाई हानि गर्दैन र यदि त्यो काम लगनका साथ गरिएको छ भने म यस्तो काम गर्दैछु भनेर कसैलाई ढाँट्नुपर्दैन, आफ्नो कामलाई लिएर कसैका अगाडि आँखा लुकाउनुपर्दैन भन्ने उनले मनैदेखि महसुस गरे।

अर्कातिर उनी आफ्नो कामप्रति यति गम्भीर भए, उनको मिहिनेत पहिलेभन्दा कयौं गुणा बढ्यो।

उनी हरेक बिहान चार बजे उठ्थे। झिसमिसेमै तेल, पिठो र चिनीको लगभग बीस किलो गह्रौं भारी बोकेर कालिमाटीदेखि हिँड्दै जनबहाल पुग्थे। त्यहाँ उनले एउटा गल्लीमा सानो कोठा भाडामा लिएर आफ्नो गोदाम बनाएका थिए। उनी त्यही गोदाममा ग्यास चुह्लो, सिलिन्डर, कराही र अरू खिद्रीमिद्री सामान राख्थे।

लगभग साढे ५ बजेसम्ममा उनी ती सबै सामान गोदामबाट झिकेर सडक किनार सजाइसकेका हुन्थे। र, ६ बज्दा-नबज्दै भकभक उम्लेको तातो तेलमा हात घुमाई घुमाई सेल पोल्न थालिसकेका हुन्थे।

भरतले कम समयमै व्यापारको एउटा गुह्य मन्त्र बुझिसकेका थिए — जुन भालेले पहिला बासेर सुतिरहेको बजारलाई जगाउँछ, सबभन्दा बढी ग्राहक उसैले तान्छ।

भरतलाई के थाहा थियो भने, काठमाडौंको मध्य-सहरका मान्छेहरू एकाबिहानै या त टुँडिखेलतिर हिँडडुल गर्न निस्किन्छन्; या इन्द्रचोकको आकाश भैरव, गणेशस्थान, संकटा, महांकाल वा जनबहालको सेतो मच्छिन्द्रनाथ दर्शन गर्न जान्छन्। यस्ता प्रात:कालीन बटुवाहरू फर्किँदा निकै भोकाएका हुन्छन्। र, जब ती भोकाएका बटुवा जनबहाल हुँदै गुज्रिन्छन्, उनीहरूलाई अरूले भन्दा पहिला तात्तातो सेल र तात्तातो चियाले स्वागत गर्न सकियो भने व्यापार त चम्कियो चम्कियो!

नभन्दै त्यस्तै भयो।

भरतको परिश्रमले परिणाम देखाउन थाल्यो।

उनको मिसावटरहित काँडेदार सेलको स्वादले बटुवाहरू मख्खै परे। फु फु गर्दै खानुपर्ने तातो सेलले यस्तरी मोहनी लगायो, एकचोटि आएकाहरू फेरि फेरि आउन थाले। धेरैले त प्याक गरेर घरधरि लग्न थाले।

बिस्तारै भरतलाई काम भ्याइनभ्याइ हुँदै गयो।

उनी बीचबीचमा दिदीसँग टेलिफोन कुराकानी हुँदा यताको सबै हालचाल सुनाउँथे। कामको चाप बढ्दै गएकाले छिटो फर्किनू पनि भन्थे। तर भइदियो के भने, त्यही बेला उनकी दिदी सविताले उदयपुरकै चौदण्डीगढी नगरपालिकाको टिमबाट फुटबल खेल्ने अवसर पाइन्।

सवितालाई सानैदेखि फुटबल खेल्ने सोख थियो। पारिवारिक अवस्थाका कारण उनले फुटबलमा ध्यान लगाउन पाएकी थिइनन्। परिवारको काँध थाप्न उनी सानै उमेरमा काठमाडौं आइन् र यतैको कामकाजमा अल्झिँदै गइन्। धेरै वर्षपछि भाइलाई कामको जिम्मा सुम्पेर गाउँ फर्केका बेला सविताको फुटबल मोहले फेरि एकचोटि उफान मच्चाउन थाल्यो। आफूले चाहेर पनि पूरा गर्न नसकेको रहर मेट्न उनले केही समय गाउँमै बस्ने निधो गरिन् र यो कुरा भाइलाई पनि बताइन्।

दिदीको रहरका अगाडि भाइले छेकबार लगाउन चाहेनन्।

बरू उनले आफ्नो काममा हात बाँड्न आमा गोमालाई काठमाडौं डाकिन्।

गोमा काठमाडौं त आइन्, तर भरतले उनलाई सेल बेच्ने ठाउँमा लगेनन्। कोठामै सानोतिनो काम मात्र गर्न दिए। बूढी आमालाई एकाबिहानै हिँडाएर जनबहालसम्म लैजान र त्यहाँ सडक किनार बसालेर सेल बेचाउन उनको मनले मान्दै मानेन।

उनी जति सकिन्छ, जसरी सकिन्छ आफू एक्लै काममा घोटिइरहे।

आमाको मनलाई पनि छोरा हरेक दिन झिसमिसेमै झोला बोकेर बजार गएको देख्दा खुब चिन्ता लाग्दो रहेछ।

हामी जति बेला भरतसँग कुराकानी गर्दै थियौं, उनकी आमा छेउमै थिइन्। हाम्रो कुराकानीको बीचमा उनले त्यति बेलाको प्रसंग झिकेर सुनाइन्, 'म सुतिरहेको हुन्थेँ। ऊ राति नै उठेर जान्थ्यो। कुनै साधन थिएन, हिँडेरै आउजाउ गर्थ्यो। मलाई भने यो बिरानो ठाउँमा छोराले रातबिरात यस्तरी काम गरेको देखेर केही होला कि भन्ने सधैं पिर लागिरहन्थ्यो।'

आमाको मन न हो, उनले धेरै दिन आफ्नो पिर मनमा गुम्साएर राख्न सकिनन्। काठमाडौं आएको लगभग तीन महिनापछि उनी कर गरेरै छोरासँग जनबहाल जान थालिन्।

जनबहाल आएको केही दिन उनले छोराको काम राम्ररी हेरिन् र बिस्तारै उनको काममा सहयोगी बनिन्।

'सुरूमा यसलाई सेल पकाएको देखेर म त छक्कै परेँ नि बाबै! कति राम्ररी फनक्क हात घुमाउँदो रहेछ,' गोमाले आफ्नो दाहिने हातले सेल पकाएको इसारा गर्दै भनिन्, 'बरू मलाई त्यति राम्ररी हात घुमाउन आउँदैन। थरथरी काम्छ। ऊ भने सिपालु भइसकेछ।'

आमाले यसो भन्दा भरत लाजले भुतुक्कै भए।

नहुन् पनि किन, जुन आमाबाट उनले सानोमा सेल पकाउन सिकेका थिए, आज उनै आमाबाट आफ्नो कामको तारिफ सुन्दै थिए। त्यो पनि हामी सबैका अगाडि। भरतको हालत त्यो विद्यार्थीको जस्तो थियो, जो कक्षाकोठामा सबैका अगाडि गुरूको मुखबाट आफ्नो तारिफ सुन्दैछ।

यसरी आमाको साथ पाएपछि भरतलाई व्यवसाय सम्हाल्न झन् सजिलो भयो। व्यापार पनि दिन दुगुना, रात चौगुना बढ्दै गयो।

उता सविताले गाउँमै बसेर थुप्रै प्रदेशस्तरीय र क्षेत्रीय फुटबल प्रतियोगिताहरू खेलिन्। यसबीच उनको विवाह पनि भयो। विवाहपछि उनको खेलकुद सहभागिता घट्दै गयो। एकदिन अचानक बिरामी परेपछि त उनले चाहेर पनि खेललाई निरन्तरता दिन सकिनन्।

केही समयपछि सविता काठमाडौं फर्किन्। जुन व्यवसाय उनले सुरू गरेकी थिइन्, भरतले त्यसलाई अर्कै उचाइमा पुर्‍याएको देखेर उनको खुसीको सीमा रहेन।

स्थितिले कस्तो कोल्टे फेर्‍यो भने, पहिले भरत आफ्नी दिदीलाई सेल व्यापारमा सघाउँथे, अब भाइको सेल व्यापारमा दिदी सहयोगी बनिन्।

'भाइको बोलीबचन नै मिठो; जोसँग कुरा गर्छ, ऊ उसैको हुन्छ,' भरतका बारेमा प्रतिक्रिया दिँदै सविताले भनिन्, 'उसको हातको जादू र मिठो बोलीबचनले नै हो, मान्छेहरू उसले पकाएको सेल खान खोजी खोजी आउने!'

बोलीबचन मात्र होइन, भरत मिहिनेत पनि उत्तिकै गर्न सक्छन्।

सेल व्यवसाय राम्रो चलिरहेकै बेला जब सडक व्यवसायमाथि महानगरको रोकतोक लाग्यो, उनले जनबहालमा सेल पकाएर बेच्न सकेनन्। त्यसपछि अहिलेको ठाउँमा पसल सुरू गर्नुभन्दा अगाडि उनी ज्यामी काममा लागे। त्यो बेला दिदीभाइ नै मिलेर ज्यामी काम गर्थे।

'गाउँमा घाँस-दाउरा गरेकै हो, भारी बोकेकै हो। त्यसैले ज्यामी काम गर्नु खासै गाह्रो लागेन। फेरि कुनै पनि काम सानो-ठूलो हुँदैन, मान्छेको हेराइ सानो-ठूलो हुन्छ भन्ने मैले बुझिसकेको थिएँ,' भरतले भने, 'सिमेन्टको बोरा र इँटा बोक्दा टाउको टनटन खान्थ्यो, तै पनि मैले हरेस खाइनँ। धेरैचोटि चोटपटक पनि लाग्यो, तर म थाकिनँ।'

करिब तीन महिना ज्यामी काम गरेपछि भरतले अहिलेको ठाउँमा आफूलाई सुहाउँदो पसल फेला पारे र उनी फेरि सेलरोटीतिरै फर्किए।

'यहाँ आएपछि त जिन्दगी आनका तान परिवर्तन भइहाल्यो,' भरतले भने, 'मैले भाइरल भाइ भन्ने नयाँ नाम पाएँ र मेरो पसल पनि भाइरल सेलरोटी पसलका रूपमा चिनिन थाल्यो।'

'त्यसपछि त के चाहियो, तपाईंहरूजस्तो मिडियाको नजर पनि अचेल मैतिर छ।'

यति भनेर भरत मज्जाले हाँसे।

Selroti34-1702297661.jpg
सेलरोटी खान आएका ग्राहकहरूबीच भरत तामाङ। तस्बिर: निशा भण्डारी/सेतोपाटी

अहिले भरतसँगै उनकी आमा, दिदी र बहिनीसमेत सेल व्यापारमै जोडिएका छन्। सेल पोल्ने काम भरत र उनकी आमाले गर्छन्। दिदी सविता सेल खान आउनेहरूलाई आफ्नो हातको आलु तरकारी चखाउँछन्। भरतको सेलजस्तै सविताको आलु तरकारी पनि यहाँ उत्तिकै लोकप्रिय छ। बहिनी भने असन, जनबहाल र इन्द्रचोकतिर पसल-पसल घुमेर सेल बेच्दै हिँड्छिन्। बेलाबेला भरत पनि बहिनीलाई पालो दिन सेल बेच्न बजार डुलिरहेका हुन्छन्।

'पसलहरूबाट धेरै अर्डर आएका बेला त हामी चार जनालाई सास फेर्ने फुर्सदधरि हुन्न,' भरतले भने।

यसरी सुरूमा सविता एक्लैले सुरू गरेर भरतले सम्हाल्न थालेको सेल व्यवसाय उनीहरूको सिंगो परिवारको जीविकाको आधार बनेको छ। पछिल्लो समय महिनाकै करिब डेढ लाख रूपैयाँ आम्दानी भइरहेको उनी बताउँछन्।

राम्रो आम्दानी हुन थालेपछि भरतले आफ्ना दुई जना भाइलाई पनि गाउँबाट काठमाडौं डाकिसके। उनीहरू काठमाडौंमै पढ्दै छन्। एक जना भाइ जापानी भाषा पढ्छन्, अर्को भाइ कक्षा १० मा छन्। फुर्सद बेला उनीहरू दुवै भरतलाई काममा सहयोग गरिरहेका हुन्छन्।

यति मात्र होइन, कमाइ गर्न बिदेसिएका बुबा गडुललाई पनि भरतले केही समयअघि नेपाल फर्काए। उनी अहिले गाउँकै घरमा बसिरहेका छन्। बुबालाई हरेक महिना घरखर्च भरतले नै पठाउँछन्।

'खुसी हुनुहुन्छ त आफ्नो कामबाट?'

हाम्रो यो प्रश्नमा भरत एकछिन घोत्लिए र निकै सोचविचार गरेर भने, 'मलाई पढ्न मन थियो। गाउँमा राम्ररी पढ्न पाइनँ, त्यसैले काठमाडौंमा राम्रोसँग पढ्छु भन्ने सोचले यहाँ आएँ। तर यहाँ आएर पनि मैले पढ्न सकिनँ। परिवारको जिम्मेवारीले कुनै न कुनै काममा झुन्डिनुपर्‍यो भनेर दिदीको क्यान्टिनमा काम गर्न थालेँ। दिदीकै हात समातेर जनबहालमा सेल पकाउन सुरू गरेँ र आज यहाँसम्म आइपुगेको छु।'

'मलाई अचेल पढ्न नपाएकोमा खासै विस्मात छैन। कति मान्छे पढेर पनि यसै लखरलखर हिँडेको देख्छु। त्यो हेर्दा आफूलाई सन्तोष नै लाग्छ। मान्छेले जति पढे पनि जीवनको उद्देश्य भनेको परिवारलाई खुसी दिनु हो, परिवारको आडभर बन्नु हो। मैले पढ्न त सकिनँ, तर परिवारलाई विगतको दु:खबाट थोरै भए पनि मुक्ति दिएँ भन्ने लाग्छ। थोरै भए पनि परिवारको आडभर बनेँ भन्ने लाग्छ। मान्छेलाई खुसी हुन योभन्दा ठूलो के चाहियो, होइन र?'

'तै पनि कहिलेकाहीँ कसैले पढाइ सोध्यो भने के भन्ने होला भनेर लाज चाहिँ लाग्छ।'

भरत आफ्नो कुराले आफैं मुसुक्क हाँसे।

हामी चुपचाप उनको कुरा सुनिरह्यौं।

उनले अगाडि भने, 'मेरो परिवारको आर्थिक स्थिति पहिलेभन्दा धेरै फरक भएको छ। पहिले एकजोर लुगा किन्न दसचोटि सोच्नुपर्थ्यो, अहिले जति फेर्छु भन्दा पनि हुन्छ। पहिले हामी कसैसँग एउटा गतिलो मोबाइल थिएन, अहिले राम्रै मोबाइल बोक्न पाइएको छ। सेलरोटीकै कमाइले भाइलाई आइफोन किन्देको छु। कतै हिँड्नुपर्‍यो भने दुई-चार हजारको कमी हुँदैन। धेरै फरक भयो नि, होइन! खुसी हुन योभन्दा अरू के चाहियो!'

भरतले यो पनि भने, 'काम आखिर काम नै हो। जुन कामले परिवार पालिन्छ र जुन कामले धेरै मान्छेलाई खुसी दिन्छ, त्यो काम गर्न लजाउनुपर्दैन। मेरो त कामै कति गज्जब छ हेर्नुहोस् त — म मान्छेलाई खुवाउने काम गर्छु। मान्छेको भोक मेट्छु। भोको पेट अघाएपछि मान्छेको अनुहारमा खुसी छाउँछ। उनीहरूको त्यो खुसीको कारण म हुन्छु। मान्छेलाई खुसी हुन योभन्दा ठूलो के चाहियो, होइन र?'

कुराकानीकै क्रममा भरतले आफूजस्ता युवाहरूलाई केही सल्लाह पनि दिए, भने, 'अचेल धेरै युवाहरू काम गर्नेभन्दा कुन काम ठूलो, कुन काम सानो भनेर तौलिरहेको म देख्छु। त्यसरी हुँदैन। मलाई पनि सुरूमा यो काम गर्न लाज लागेको थियो। जुन दिन मैले आफ्नो मनको सरमलाई जितेँ, त्यही बेलाबाट मलाई सफलताले पछ्याउन थाल्यो।'

'चोरेको होइन, मागेको होइन। यही काम विदेशमा गएर गर्न हुने, अनि यहाँ आफ्नै देशमा बसेर गर्न के को लाज?' उनले भने।

Selroti30-1702297960.jpg
भरत र उनकी दिदी सविता। तस्बिर: निशा भण्डारी/सेतोपाटी

हामीले भरतको पसलमा सेल खान आएका केही ग्राहकहरूसँग पनि कुरा गरेका थियौं। उनीहरूले भरतले पकाउने सेलरोटीको जस्तो स्वाद अन्त कतै नभेटेको बताए।

पाटनबाट आएकी एक महिलाले भनिन्, 'सेल त पाटनतिर पनि पाइन्छ, तर भाइले बनाएजस्तो मिठो हुँदैन। यहाँको त आलु पनि उत्तिकै मिठो। त्यसैले असनतिर आउने काम पर्‍यो भने म यहाँ नबिराई आउँछु।'

'भाइको हँसिलो अनुहारले पनि मलाई तान्छ,' उनले अगाडि भनिन्, 'जति बेला पनि मुस्कुराइरहेका हुन्छन्। उनलाई खुसी देखेर मलाई यसै खुसी लाग्छ।'

ती महिलाको कुरा सुनेर भरत लाजले भुतुक्कै भए।

भरतलाई अब एउटै चिन्ता छ — टिकटक फेरि खुल्छ कि खुल्दैन?

केही समयअघि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि हामीले टिकटकबाटै चिनिएका र टिकटकबाटै व्यवसायमा अघि बढेका भरत तामाङसँग फेरि कुरा गरेका थियौं।

हामीले उनलाई टिकटकमाथिको प्रतिबन्धपछि व्यवसायमा असर परेको छ कि छैन भनेर सोध्यौं।

उनले तुरून्तै जवाफ दिए, 'किन नपर्नु, उत्पातै परेको छ। मेरो त व्यापारै टिकटकमा टिकेको थियो। म टिकटकमा लाइभ बसेर आफ्नो प्रचार गर्थेँ। मेरो प्रचार देखेर नै मान्छेहरू टाढाटाढाबाट खान आउँथे। अहिले प्रचार गर्न नपाउँदा व्यापार घट्दै गएको छ। पहिले दिनकै छ सयभन्दा बढी सेल बेच्थेँ, अचेल चार सय कटाउन मुस्किल छ।'

खासगरी नयाँ ग्राहकहरू आउने क्रम रोकिएको उनले अनुभव गरेका छन्।

तर जसले पहिले नै भरतको 'भाइरल' सेलको स्वाद चाखे र उनको पारखी बने, उनीहरू त अहिले पनि आइरहेकै छन्।

भरतको हातको जादूमा लठ्ठिसकेका ती पुराना ग्राहकलाई अब नयाँ प्रचारप्रसारको खाँचो किन परोस्!

भरतको सेल नै चाखिसकेपछि भिडिओ हेर्नुपर्ने दरकार किन रहोस्!

तै पनि भरतले सरकारसँग गुनासो पोख्न छुटाएनन्।

'सरकारले टिकटक बन्द गरेर राम्रो काम गरेन,' उनले भने, 'हामीजस्ता साना व्यवसायीको त पेटमै लात हान्यो। नाकमा घाउ आयो भन्दैमा नाकै काट्नु त हुँदैन नि, घाउको उपचार पो गर्ने हो!'

'साँच्चि, अब टिकटक खुल्छ कि खुल्दैन हँ,' भरतले प्रश्न गरे।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Renewal Reregistration
Nepali Passport Renew
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
Shot Dead
Now Trump is a convicted criminal .
Does the 180 day auto extension apply for TPS?
Facts showing how US is worse than Russia
TPS advance parole Travel document i-131, Class of Admission ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters