लोग्नेमान्छेको सबैभन्दा ठूलो कमजोरी आइमाई मान्छे हो। आइमाई मान्छेको सबैभन्दा ठूलो शत्रु पनि आइमाई नै हो। बुझ्ने र बुझाउने कुरा एकातिर छन्, तर बुझेका छौँ भन्नेहरूले अर्कातिर लैजान खोज्दैछन्। आइमाई भन्नु हुादैन भनेर तारे होटलमा थुतुनु बजाउन थालिएको छ। आइमाई नभन्दा समस्या समाधान हुने भए अरू केही गर्नै पर्दैन।
आइमाई शब्द घरपरिवारभित्रबाहेक अन्यत्र खासै प्रयोग हुँदैन। यो ‘आइमाई बहस' उपहासपूर्ण नहोला, तर अहिले निरर्थक नै हो। यो निरर्थकतामाथि अर्को आश्चर्यभूत परनिरर्थकता सारथि बनेर चढेको छ– ‘सेक्स्युअल फ्रिडम'।
सेक्स्युअल फ्रिडमको कुनै सीमा छैन। यौन आफैमा पूर्ण स्वतन्त्र शब्द हैन। यसका परिधि र स्वभाव फरक छन्। निश्चितताभित्रको खुला स्वतन्त्रता हो सेक्स! यसको शाब्दिक अर्थले पनि यसको सीमान्तलाई तोेकेको छ। बहस हुनुपर्छ, बहसमा नै विचार प्रतिबिम्बित हुन्छ। तर, बहस समस्यामाथि हुनुपर्छ। तबमात्र बहस हुन्छ, नत्र बकवास हुन्छ।
समस्या केलाई मान्ने? केहीको इच्छालाई मान्ने कि हजारौँको बाध्यतालाई? केहीका इच्छालाई मान्ने हो भने ‘आइमाई बहस' र ‘सेक्स्युअल फ्रिडम' विषयमा बजाइएका बाजाको धूनलाई पनि नयाँ नेपालको बिम्बगान बनाउनुपर्छ। हैन भने लाखौँ नारी, महिला अथवा आइमाईका समस्या अरू नै छन्। बलात्कार कहालीलाग्दो अपराध हो। यस्तो हिंसामा पुरुष दोषी छ। तर किन?
बलात्कार अशिक्षित र मूर्खले मात्र गरेको छैन। मान्छे शिक्षित भएरमात्र हुँदैन। शिक्षाले मान्छेलाई ज्ञान दिन्छ, तर ज्ञानी बनाउँदैन। पाएको ज्ञानलाई जीवनमा उतार्नसक्ने मान्छे नै वास्तवमा ज्ञानी हो। महिला बलात्कृत हुनुमा पुरुषको शारीरिक तागत प्रमुख कारक हो। शारीरिकरूपले प्रायशः पुरुष महिलाभन्दा बढी तागतशील छ। यदि शारीरिकरूपले पुरुषभन्दा महिला तागतशील हुन्थे भने महिलाले पुरुषलाई बलात्कार गर्थे।
पुरुषबाट हुने यो आपराधिक कर्मलाई सेक्स्युअल फ्रिडमका कुरा र आइमाई शब्दलाई प्रतिबन्धित गरेर हैन, नारीवयलाई आत्मरक्षक र शक्तिशाली बनाएर कम गर्न सकिन्छ भन्ने कुरा भारतको हरियाणामा हालै घटेको एउटा घटनाले संकेत गरेको छ। घटनाबाट हाम्रा दिदीबहिनीले सामान्य ज्ञान त प्राप्त गर्नुपर्ने हो जस्तो लागेको थियो, तर असामान्य सोच भएकाहरूको सोच सामान्यतिर कहिल्यै जाँदैन। समस्या समाधान नहुने यो पनि एउटा ‘समस्या' हो। बसमा यात्रा गर्दा आफूलाई दुर्व्यवहार गर्ने ३ जना पुरुषलाई आरती र पूजाले साहसका साथ सामना गरे। अन्य यात्रु मूकदर्शक भए पनि उनीहरूले कम्मरको पेटी फुकालेर बजाए ती गुन्डाको बाजा।
ती जोडी दिदीबहीनीको वीरताको प्रशंसा जताततै गरिएको छ। उनीहरू पुरस्कृत र सम्मानित पनि भएका छन्। नारीप्रति कत्रो सम्मान छ हाम्रो समाजमा। स्वयंको सुरक्षा गर्दा पनि ‘सेलिब्रेटी' बन्छन्! तर, उनीहरूले आफ्नो सुरक्षामात्र हैन सम्पूर्ण नारी स्वाभिमानकै रक्षा गरे। नारीमा पनि साहस र शक्ति हुन्छ भन्ने देखाए। आत्मबल भए आत्मसम्मानले बाँच्न सकिन्छ भन्ने उदाहरण दिए। यो घटनाले नारीवर्गको आत्मरक्षाका लागि दुई वटा साधारण उपाय प्रयोगमा ल्याउनसकिने कुरा औँल्याएको छ। पहिलो, आत्मरक्षाका लागि पहिरन–पोशाक कति भरपर्दो हुँदोरहेछ भन्ने कुरा देखियो। दुवै बहिनीले फुल प्यान्ट र सामान्य फ्ल्याट जुत्ता लगाएका थिए। कम्मरमा पेटी थियो। त्यही पेटीको प्रयोग गरे ती साहसी महिलाले। सहज पहिरनकै कारण किक हान्न पनि अप्ठेरो भएन, सकेजति हाने। पुरुषजातका ती ३ अपराधीलाई पराजित गरे। ती दिदीबहिनीले ६ इन्चको टाइट मिनी स्कर्ट र ४ इन्चको पेन्सिल हिल लगाएका भए के हुन्थ्यो होला? ती बदमासको ज्यादती सहनु वा चिच्याउनुभन्दा अरु केही हुँदैनथ्यो। त्यसपछि सम्पूर्ण पुरुषजातीलाई नै दोष दिएर चित्त बुझाउनुबाहेक अर्थोक केही हुँदैनथ्यो।
पुरुष होस् वा नारी, पहिरन आत्मरक्षाका लागि भरपर्दो र सामाजिक दृष्टिले सुहाउँदो हुनुपर्छ। नग्नतलाई सौन्दर्य ठान्नु अपराधी आँखालाई आफूतिर तान्नुमात्र पनि हुनसक्छ। सोचाईको कुरा हो, नग्नतालाई आफ्नो मर्जी वा अधिकार जे सम्झे पनि हुन्छ। तर, सोचाईभन्दा भोगाई र यथार्थलाई व्यवहारमुखी बनाउनसके अपराधलाई निरुत्साहित गर्नसकिन्छ। दोस्रो, ‘सेल्फ डिफेन्स' का लागि खेलकुद। आत्मसुरक्षाका लागि कराते, बक्सिङजस्ता खेलको प्रशिक्षण आवश्यक देखिन्छ। स्कुल–कलेजका छात्राका लागि यस्ता खेलको प्रशिक्षण अनिवार्य गरियो भने तिनमा आत्मबलको विकास स्वाभाविकरूपले हुन्छ। आत्मबलले नै हो आत्मरक्षा गर्ने।
कस्ता पोशाक, कुन समयमा लगाउने भन्ने कुरामा सचेत हुन पनि संकेत गरेको छ यो घटनाले। खेलप्रेमी नारी साधरणतया प्रतिरक्षात्मक साधारण पोशाकमा हुन्छन्। मानसिकरूपले नारी पुरुषभन्दा प्रवल मानिएका छन्। तर, जति प्रवल भए पनि शारीरिकरूपले नारी पुरुषको तुलनामा दुर्बल नै हुन्छन्। यही दुर्बलताको सिकार भएका छन् धेरै नारी।
लक्ष्मणरेखा मिथमात्र हैन। पितृसत्तात्मक सोचको घेरोमात्र पनि हैन। नारीको यौनिक र सामाजिक स्वतन्त्रतालाई बाँध्ने डोरी पनि हैन। नारीलाई हिंसाबाट बचाउने सुरक्षा घेराको चेतना हो, सन्देश हो। निश्चित घेरा र परिधिभित्र मान्छे सुरक्षित हुनसक्छ भन्ने उदाहरण पनि हो। बुझाइ आआफ्नो हुनसक्छ, तर एउटा निश्चिततालाई तोडेर अनिश्चिततातिर धकेलिनु भनेको समस्यामा जकडिनु पनि हो।
महिलामाथिको हिंसा रोक्ने सबैभन्दा ठूलो शस्त्र स्वावलम्बन हो। कसरी बनाउने? खै त्यसका लागि प्रयास? आत्मरक्षासँगै विद्यायलका छात्रालाई कम्प्युटर शिक्षा अनिवार्य गरियो भने स्वाभाविकरूपमा नारी मनमा आत्मविश्वास बढ्दै जान्छ। त्यही आत्मविश्वास स्वावलम्बनको शस्त्र र शास्त्र हुनसक्छ।
हिंसा कसैमाथि हुनु हुँदैन। तर, महिलामाथि हुने हिंसामा महिला स्वयं कति दोषी छन्? विचारणीय छ। बलात्कारबाहेकका हिंसा पुरुषबाट मात्र भएका छैनन्। नारीले नारीमाथि गर्ने अत्याचार रोक्नसके ५० प्रतिशत हिंसा स्वतः कम हुन्छ। घरेलु हिंसामा पुरुषभन्दा नारीको हात बढी रहेको तथ्यांकले देखाएका छन्।
धेरै घरमा सासू–बुहारीको सम्बन्ध चिसो छ। सासूले बुहारीमाथि अत्याचार गर्छे। दाइजोको लोभमा बुहारी जलाउन सासू अघिसर्छे। एउटी सासू छोरी र बुहारीमा ठूलो विभेद गर्छे। एउटी आमा छोरा र छोरीमा त्यस्तै विभेद गर्छे।
बुहारीले छोरो पाए नाक फुलाउने र छोरी पाए खुम्च्याउने पनि सासू नै हुन्छे। बुहारी निःसन्तान भए सौता हाल्न अघिसर्ने पनि सासू नै हुन्छे। आफ्नी आमा र सासूआमाका बीच एउटी बुहारीको सोचमा कति ठूलो अन्तर छ? बुढी भएकी सासूलाई बुहारीले नै बेसहारा बनाउँछे। भाउजु–बुहारी सधैँ नन्द–आमाजुको इर्ष्या गर्छन्। नन्द–आमाजु सधैँ भाउजु–बुहारीको खेदो खन्छन्। कसैको हँुदाखाँदाको घर बिगार्न अर्की नारी नै सौता बनेर जान्छे।
एउटी नारीलाई बोक्सीको आरोप लाउने पनि प्रायः नारी नै हुन्छन्। पुरुषलाई उचालेर दिसा ख्वाउने र भुत्ल्याउने हात पनि धेरैजसो नारीकै हुन्छन्। बालविवाह गराउन बाबुलाई भन्दा आमालाई नै हतार हुन्छ। एउटी नारीका आँखाका तालमा एउटा पुरुष नाच्छ। त्यही पुरुषका आँखामा त्यो नारी नानी भएर बस्छे। नारी र पुरुषको कुरा आयो भने प्रायः पुरुषले नारीको पक्ष लिन्छन्। कारण अनेक छन्, तर मूल कारण हरेक पुरुष नारीप्रति आग्रहित हुनखोज्छन्। कति नारीले त्यो चाहेका पनि हुन्छन्। त्यो चाहनाले कतिको घर भताभुंग पारेको छ। समाज र व्यवहारमा कति ठूलो विवेकहीनता ल्याएको छ? त्यो न नारीले सोच्छे, न पुरुषले सोच्छ! तर, त्यहाँ अर्की एउटी नारी नै पीडाका आँसु पिएर बाँचेकी हुन्छे।
समाजमा कुनै नारी अघि बढे सबैभन्दा धेरै इर्ष्या गर्ने अर्की नारी नै हुन्छे। कार्यालयमा नारीको प्रतिष्पर्धी र पर्खाल बनेर नारी नै उभिन्छे। कार्यालयका पुरुष भनाउँदा स्वाँठ हाकिमलाई प्रभावमा पारेर एउटी नारीमाथि विवेकहीनता देखाउने काम पनि अर्की नारीले नै गरेकी हुन्छे। यस्तो विवेकहीनताको सिकार नारीभन्दा बढी पुरुष नै हुन्छन्। तर, त्यो पुरुषको पक्षमा बोलिदिने कोही हुँदैन। यिनै सबै नारीका हैन आइमाईका स्वभाव, चरित्र र रूप हुन्। आइमाई–आइमाई झगडा गर्दा अर्की आइमाईले नै भन्छे– हेर, यी आइमाई कति झगडा गरेका?
नारी हुनका लागि पहिले आफैले आइमाई हुन छोड्नु पर्छ। आइमाई आफैले आइमाईलाई मारेर नारी जन्माउनुपर्छ। समाजले नारी र आइमाईलाई भिन्नरूपले हेरेको छ। नारीका रूप अनेक छन्। सृष्टि विधाको अनुपम सृजनाको रूप हो नारी। त्याग र तपस्याकी प्रतिरूप हो नारी। सत्य र निष्ठाको स्वरूप हो नारी। उत्सर्गको उपमा हो नारी। प्रेमको आधार र स्रोत हो नारी। सभ्यताको सर्जक हो नारी। सुशीलताको संवाहक हो नारी। दातृ, भ्रातृ र मातृरूपको सुन्दर संयोजन हो नारी। यस्ता नारी पूजनीय हुन्छन्।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुझेरै भनेका होलान्–‘एसियनहरूले विकास हामीबाट सिक्नुपर्छ, सभ्यता र संस्कार हामीले उनीहरूबाट सिक्नुपर्छ।’