कलाकार महोदय ! राहतका नाममा विदेशमा रमिते नबन्नुहोस् !
एक मुठ्ठी श्वासका लागि कसैको अगाडि भिख नमाग्ने जनता हुन् नेपाली । आफ्नै बलले आफूलाई सिर्जित गर्न सक्ने र उभ्याउने साहस छ नेपालीमा । यसैले, नेपालीहरु गरिब होलान्, तर आफ्नो इज्जत बेच्दैनन् । स्वाभिमानी छन्, सडकमा मागेर हिँड्दैनन् ।
अहिले महाभूकम्पका कारण नेपालीको शरीर दुखेको छ, तर हिम्मत हारेको छैन । धरहरा भाँच्चिएको छ, तर साहस ढलेको छैन । महाभूकम्प आएपछि विश्वबाट नै सहयोगका राशी आइरहेका छन् । तर, महाभूकम्पको रकम संकलन गर्ने र राहत वितरण गर्ने नाममा चर्चाको लोभ पनि देखिएको छ ।
अमेरिकामा बस्ने केही नेपाली कलाकारले राहतका नाममा सडकमा हात फैलाए । भलै, उनीहरुले सहयोगका लागि हात फैलाउँदा रकम पनि जुट्यो होला । तर, त्यसले नेपालीको इज्जत र सम्मान कहाँ पुग्यो, त्यो सोच्ने कि नसोच्ने ?
नेपालीसँग खानका लागि १ डलर पनि छैन, नेपालीहरु गरिब छन् भन्ने सन्देश विश्वसामु किन छर्दैछौं हामी ? बाकस बोकेर सडकमा आउनु पहिले के कुनै कलाकारले १ रुपैयाा गोजीबाट झिके ? अरुसँग हात फैलाउनु अघि हामीले आफैले आफ्नो गोजीबाट कटाएर कति रकम सहयोग गर्यौं त ?
आजसम्म हेर्ने हो भने विश्वमा बस्ने कुनै पनि नेपाली कलाकारले आफ्नै गोजीबाट १ डलर निकालेका छैनन् । अरुले गरेको सहयोगलाई यति गरे र उती गरे भनेर प्रचारवाजी मात्र गरिरहेका छन् ।
हो, नेपालीलाई यतिबेला सहयोग चाहिएको छ । तर, सहयोग माग्ने नाममा आफ्नो स्वाभिमान नबेचौं । नेपालीसँग पैसा छैन भन्ने भ्रम विश्वलाई नछरौं । नेपालीहरु यस्ता विपत्तमा खान नपाएर भोक भोकै मर्दा रहेछन् भन्ने सन्देश के हाम्रो स्वाभिमानका लागि स्वीकार्य छ र ?
बरु कुनै कार्यक्रम गर्नुहोस्, रेष्टुरेन्ट वा हलमा मानिसहरुलाई कुनै न कुनै तवरले आकर्षित गरेर रकम संकलन गर्नुहोस् । तर, विश्वका विभिन्न सडकमा बाकस बोकेर रमिते नबन्नुहोस् । पहिले आफूले के दिएँ भन्ने सोच्नुहोस् । देशलाई मगन्ते नबनाउनोस् ।
http://www.onlinekhabar.com/2015/05/273796/