जेष्ठ २२, २०७३- मनीषा घर्तीमगरको रहस्यमय मृत्युमा संलग्नताको शंकामा प्रहरी हिरासतमा रहेका रुद्रनारायण चौधरी पोलिग्राफ परीक्षणमा उत्तीर्ण भएपछि अनुसन्धानमा संलग्न रूपन्देही प्रहरी रनभुल्लमा परेको छ।
जेठ १३ मा बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी मगरको हत्यामा संलग्न रहेको शंकामा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो। उनले झूट नबोलेको पोलिग्राफले देखाएपछि रूपन्देही प्रहरी घटनालाई जस्ताको तस्तै मिसिलमा उतारेर अदालतमा बुझाउने निष्कर्षमा पुगेको छ।
घटनामा संलग्न रहे/नरहेकोबारे आरोपीको बयान सत्य हो या झूट पहिल्याउन प्रहरीले आधुनिक प्रविधिमार्फत गरेको पोलिग्राफ परीक्षणमा चौधरी दोषी नदेखिएपछि अनुसन्धानमा जुटेको प्रहरी घटनाको अवस्था अदालतमा बुझाउने तयारीमा जुटेको हो। पोस्टमार्टममा मृत्युको कारण झुन्डिनु उल्लेख थियो।
मनीषाको झुन्डिएको शरीर निकाल्नु, हाइवेको कल्भर्टमुनि सल लुकाउनु, प्रहरीलाई जानकारी नदिनु लगायतका चौधरीका गतिविधि र उनीविरुद्ध परेको जाहेरीका आधारमा पक्राउ गरी अनुसन्धान भइरहेको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेरबहादुर बस्नेतले बताए।
‘प्रहरीले सार्वजनिक गरेको विवरण नै अन्तिम होइन,’ एसएसपी बस्नेतले भने, ‘साधनस्रोत र प्रविधिको उपयोग गरी घटनालाई जस्ताको तस्तै संकलन गरी अदालतमा पेस गरौं भन्ने उद्देश्य हो, त्यहीअनुसार अनुसन्धान अघि बढिरहेको छ।’
नेपाल प्रहरीले अपराध अनुसन्धानमा तीन वर्षदेखि प्रयोग गरिरहेको आधुनिक प्रविधि पोलिग्राफ परीक्षणको नतिजा विश्वसनीय हुन्न त?
अपराध अनुसन्धान विभाग, केन्द्रीय पोलिग्राफ शाखाका प्रमुख गणेश श्रेष्ठ ९२ प्रतिशत नतिजा सत्यनिकट हुने बताउँछन्। बाँकी ८ प्रतिशत परीक्षण दिनेभन्दा परीक्षण लिने अवस्थाको वातावरण र लिने व्यक्तिको प्रश्नोत्तर शैलीले प्रभाव पार्ने उनको भनाइ छ।
‘पोलिग्राफ व्यक्तिले बोलेको कुराको विश्वसनीयता परीक्षण गर्ने प्रविधि हो,’ तीन वर्षको बीचमा सय जनाको पोलिग्राफ परीक्षण गरिसकेका उनले भने, ‘आफैंले गरेको परीक्षण तथा त्यसको नतिजा र अन्तर्राष्ट्रिय अभ्यास तथा मान्यताले प्राविधिक र मानवीय त्रुटि बाहेकको अवस्थामा पोलिग्राफको नतिजा गलत हुन्न भन्नेमा ढुक्क छु।’
श्रेष्ठका अनुसार आरोपीको शरीरको चार प्रकृतिको आन्तरिक परिवर्तनका आधारमा पोलिग्राफ परीक्षणको नतिजा निस्कन्छ।
आरोपीको श्वासप्रश्वास, मुटुको चालको गति, प्रश्नको समयमा आरोपीको रगतको प्लेटिस्योग्राफमा हुने परिवर्तन र उसको छालाको तरंग इलेक्ट्रो डरमल र प्रश्नको उत्तर दिँदा उसले झूट बोलेको छ या छैन भन्ने खुट्याउने काउन्टर मेजर सेन्सरको आधारमा नतिजा निस्कन्छ। पोलिग्राफ परीक्षणबाट दोषी भनिएकाहरू निर्दोष प्रमाणित भएका र निर्दोष ठानिएका दोषी देखिएका दुई घटना उनले सुनाए :
पहिलो : केही समयअगाडि काठमाडौंको गौशालामा बच्चाको शव फेला पर्यो। अनुसन्धानमा हत्या नभई इन्फेक्सनको कारणले मरेको देखिएपछि प्रहरीले पोलिग्राफका लागि पठायो। पोलिग्राफ परीक्षणमा आफ्नै आमाले घाँटी थिचेर मारेको खुलेपछि यही आधारमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो।
दोस्रो : सुर्खेतमा ८ वर्षको बच्चा अपहरणका आरोपीले बयानमा अन्यलाई समेत पोलेपछि पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढ्यो। ती आरोपीको पोलिग्राफमा निर्दोष देखियो। मुद्दा अदालतमा पुग्दा पहिलो अभियुक्तले पोलेकाहरू निर्दोष ठहरिए।
‘उत्तरदाताले प्रश्न छल्न खोजेको अवस्थामा काउन्टर मेजर सेन्सरले जानकारी दिँदा उसले झूट बोलेको छ या छैन त्यो सहजै खुट्याउन सकिन्छ,’ श्रेष्ठले भने, ‘झूट बोल्दा उसको शरीरका अन्य प्रणालीले देखाउने प्रतिक्रियाले उसको अवस्था ठम्याउने गरिन्छ।’
५० प्रतिशत फेल, ५० प्रतिशत पास
मासिक ३० जनाको परीक्षण गर्दै आएको प्रहरीले १ हजार १५ जनाको पोलिग्राफ परीक्षण गरिसकेको छ। परीक्षणमा ४ सय ९० जना सफल भएका छन् भने ३ सय ८५ जना फेला भएका छन्।
प्रारम्भिक बयानमा संलग्नता अस्वीकार गरेका ६५ जनाले पोलिग्राफ परीक्षणका क्रममा अभियोग स्वीकार गरेका थिए। यस्तै ७५ जनाको परीक्षणको नतिजा फेल या पास भन्न नसकेको अपराध अनुसन्धान विभागको तथ्यांकमा उल्लेख छ।
प्रहरीले सबैभन्दा धेरै हत्याका अभियुक्तको पोलिग्राफ परीक्षण गरेको छ। तीन वर्ष अवधिमा ५ सय ८ जना हत्या आरोपीको परीक्षण गर्दा १ सय ९८ फेल, २ सय ६५ पास र ४५ जनाबारे राय दिन सकेको थिएन। चोरीको १ सय ८२ जना आरोपीको परीक्षणमा ८५ फेल, ८३ पास र १४ जनाबारे राय निस्किन सकेको देखिएन।
बलात्कार घटनाका ३१ अभियुक्तको परीक्षणमा १३ जना फेल र १७ जना पास भएका थिए। ठगीका २९ वटा परीक्षणमा १७ जना फेल र ११ जना पास भएका थिए। एक जनाको नतिजा प्रस्ट आएन। अपहरणको २३ वटा परीक्षणमा ११ जना फेल र ९ जना पास भए भने ३ जनाको नतिजा प्रस्ट आएन।
डर, मानसिक दबाब, शारीरिक प्रभाव र उत्तर दिने क्रममा देखिने शरीरको आन्तरिक परिवर्तनका सूचक नै पोलिग्राफ परीक्षणको नतिजा निकाल्ने आधार रहेको परीक्षणमा संलग्न अधिकारीको भनाइ छ।
परीक्षण समयको सबै अवस्था श्रव्य र दृश्यमा समेत उतारिने हुँदा परीक्षणकर्ताले परिणाममा प्रभाव पार्न नसक्ने र नतिजामाथि परीक्षण दिनेले समेत आरोप लगाउन सक्ने अवस्था नरहने श्रेष्ठले बताए।
प्रहरीले पोलिग्राफ परीक्षण गरे पनि यो अपराधमा संलग्न छ या छैन भन्ने निक्र्योल गर्ने मुख्य प्रमाण भने होइन। अदालतले पोलिग्राफ परीक्षणको रिपोर्ट र पोलिग्राफ परीक्षणमा संलग्न प्रहरी अधिकारीको बकपत्र लिएर यसलाई घटनामा संलग्न अभियुक्तको अभियोग पुष्टि गर्न सक्ने अन्य प्रमाणसँगै सहायक प्रमाणका रूपमा भने स्वीकार गरेको छ।
अमेरिकाको एकेडेमी अफ पोलिग्राफ साइन्सका अधिकारीको ११ साताको प्रशिक्षणपछि प्रहरीले ५ क्षेत्रीय प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो, विशेष ब्युरो, महानगरीय आयुक्त कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो र विभागमा पोलिग्राफ परीक्षण गर्छ। प्रहरीमा परीक्षणका लागि १५ जना दक्ष जनशक्ति छन् भने २१ वटा उपकरण।
अख्तियारले पनि गर्छ पोलिग्राफ
पोलिग्राफ पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रयोग गर्ने गरेको छ। स्रोतका अनुसार अख्तियारले घूससहित पक्राउ परेका ७३ जनाको प्रहरीद्वारा पोलिग्राफ परीक्षण गराएको थियो। त्यसमा ४७ जना फेल र २३ जना पास भएका थिए।
घूससहित पक्राउ परेका डीएसपी दयानिधि ज्ञवालीलाई अख्तियारले परीक्षण गराउन चाहे पनि उनले अस्वीकार गरेका थिए। परीक्षणमा आरोपीको मन्जुरी अनिवार्य चाहिन्छ।
हालसम्म परीक्षणको प्रयास गर्दा कृष्णप्रसाद अधिकारीको हत्याका २ आरोपी, गोलीसहित पक्राउ परेका माओवादी सभासद ल्हारक्याल लामा र घूससहित पक्राउ परेका डीएसपी ज्ञवालीले पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका छन।
राजस्व अनुसन्धान विभागले समेत पछिल्लो समय यो परीक्षण गराउन थालेको छ। प्रहरीले संगठनका सदस्यमाथि समेत पोलिग्राफ परीक्षण गराउँदै आएको छ। तथ्यांकअनुसार ४१ जना संगठनका सदस्यको परीक्षण गराएकोमा २० फेल र २१ पास भए।
कान्तिपुर
प्रकाशित: जेष्ठ २२, २०७३