दशैंको टीका
त्यतिबेला सम्म जिउंदो रहे भने,
च्याण्टेको आमाको सिउंदो रहे भने,
काका! यसपालीको दशैंमा
टीका लागाउन आउंदै छु।
आषिश थाप्न आउंदै छु।
भो काका,
खसी किन्न हाट जानु पर्दैन।
ज्यानमारा साहुको लात खानु पर्दैन।
बाटा भरि बारुद हरु होलान्,
निस्तब्ध रात फेरि चिर्नु पर्दैन।
मान्छेको मोल खसी भन्दा सस्तो भएको बेला,
बोली भन्द सस्तो गोली भएको बेला।
काका,
चुकुल लगाऔं
र सुकुलमा बसौं।
अर्को साल भेट होला न होला,
यसैपाली आगौंको भाग समेत
टिका लगाइ दिनुस्,
मान्छेको म्रित्यु मर्न सकुं
यही आषिश दिनुस्।